काठमाडाैं । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेश प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

मधेका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए ।
त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसंग जानकारी लिइएको प्रवक्त काफ्लेले जानकारी दिए । उनले फरार कैदीबन्दी खोजि अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए ।
उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगाएतका संवैधानिक आयोगहरुसंग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे ।

