कमन ल परम्परामा आधारित कानूनी व्यवस्थाबाट विकास भएको अदालतबाट प्रतिपादित कानूनी व्याख्या र सिद्धान्तहरू भविष्यका समान प्रकृतिका मुद्दाहरूमा मार्गदर्शकको रूपमा नजिर प्रयोग गरिन्छ वा नजिरलाई आधार लिइन्छ । यसै कारण संविधान र कानूनको व्याख्यामा एकरूपता, स्थिरता रहनेमात्र नभइ न्यायिक एकरूपता र पूर्वानुमान कायम रहन्छ ।
(Per Incuriam) पेर इन्क्यूरियमको सिद्धान्त पनि अदालती र न्यायिक अभ्यासमा प्रयोग हुने नजिरको सिद्धान्तसँगै जोडिएको विषय हो वा न्याय निरुपण गर्दा नजिरको प्रयोग कसरी गरिनु पर्छ भन्ने सन्दर्भमा यो सिद्धान्त प्रतिपादन, विकास र अभ्यास भएको पाइन्छ । पेर इन्क्यूरियम को सिद्धान्त अदालतले कुनै मुद्दामा फैसला गर्दा सम्बन्धित कानूनी व्यवस्था वा बाध्यकारी नजिरलाई विचार नगरी वा त्यसतर्फ ध्यान नदिइ निर्णय गर्नु भन्ने बुझिन्छ, जसका कारण उक्त फैसला त्रुटिपूर्ण हुन सक्छ भन्ने यो सिद्धान्तको मान्यता रहन्छ ।
कुनै फैसलाको कुनै अंश प्रत्यक्ष रूपमा गलत देखिँदैन भने पनि, यदि उक्त अंशको तर्क वा reasoning सम्बन्धित कानूनी व्यवस्था वा नजिरप्रति अज्ञानता वा असावधानीका कारण त्रुटिपूर्ण भएको पाइन्छ भने त्यस्तो अंश समेत बदर (set aside) गरिन सक्ने हुन्छ, उक्त सिद्धान्तको पालना आफैँमा न्याय सम्पादनमा बाधक पनि बन्न सक्छ भन्ने तर्फ पनि कतिपय दाबीहरू भेटिन्छन् ।
Per Incuriam (पेर इन्क्यूरियमलाई) त्यस्तो अवस्थामा लागू हुने सिद्धान्तका रूपमा परिभाषित गरेको छ, जहाँ कुनै फैसला सम्बन्धित वैधानिक प्रावधानहरू वा बाध्यकारी नजिरहरूसँग असङ्गत रहेको अवस्थामा ती प्रावधान वा नजिरप्रति सचेतना नराखी गरिएको मानिन्छ । यस्तो प्रकारको अज्ञानतामा आधारित फैसला Per Incuriam (पेर इन्क्यूरियम) ठहरिन सक्छ र त्यस्तो फैसला बदर हुन पनि सक्दछ ।
संक्षेपमा भन्नुपर्दा Per Incuriam (पेर इन्क्यूरियमको) सिद्धान्तले न्यायिक निर्णय गर्दा सबै सम्बन्धित कानूनी व्यवस्था तथा नजिरहरूलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ, ता कि असावधानीका कारण त्रुटिपूर्ण फैसला नआओस् ।
Per Incuriam (पेर इन्क्यूरियमको) सिद्धान्त व्यवहारमा कहिलेकाहीँ अदालतबाट भएको फैसला सम्बन्धित कानूनी व्यवस्था, संवैधानिक प्रावधान वा बाध्यकारी नजिरप्रति ध्यान नदिइ निर्णय गरिएको हुन्छ, उक्त फैसलामा न्याय परैको समेत नदेखिएमा न्याय मर्न नदिनका लागि न्यायशास्त्रले “पेर इन्क्यूरियम” सिद्धान्त विकास गरेको हो । अदालतलाई सम्बन्धित कानूनी व्यवस्था तथा बाध्यकारी नजिरप्रति उचित ध्यान नदिइ गरिएको फैसलालाई पुनः परीक्षण गर्ने तथा आवश्यक परे त्यस्ता फैसलाहरू उल्ट्याउने (overturn) संयन्त्रका रूपमा कार्य गर्दछ । यसमार्फत् कानूनको शासन (rule of law) तथा नजिरको सिद्धान्त (stare decisis) को संरक्षण र प्रत्याभूति सुनिश्चित गरिन्छ ।
“पेर इन्क्यूरियम” Per Incuriam भन्ने शब्द ल्याटिन भाषाबाट उत्पन्न भएको हो । Per को अर्थ द्वारा/कारणले र Incuria को अर्थ असावधानी, बेवास्ता, ध्यान नपुगेको अवस्था भन्ने हो । यसरी शाब्दिक अर्थ “असावधानीवश गरिएको” वा “उचित ध्यान नदिइ गरिएको” फैसला निर्णय भन्ने हुन्छ ।
Blacks Law Dictionary का अनुसार पेर इन्क्यूरियम A decision rendered in ignorance of a statute or binding precedent such a decision lacks precedential authority अर्थात्, कुनै कानूनी व्यवस्था वा बाध्यकारी नजिरलाई बेवास्ता गरेर गरिएको निर्णय नजिरको रूपमा बाध्यकारी हुँदैन भन्ने हो ।
न्यायिक दृष्टिकोणबाट Per Incuriam
यो कुनै अदालतले फैसला गर्दा लागू हुने कानूनी व्यवस्था, संवैधानिक प्रावधान वा बाध्यकारी नजिरको उचित विचार नगरी वा जानकारी नराखी गरिएको निर्णय हो ।
महत्वपूर्ण कुरा के हो भनेः के अदालतले गरेको कुनै फैसला सदाकाल मान्नुपर्ने हो ? सामाजिक परिवर्तन, कानूनको संशोधन र सामाजिक इच्छाहरू सधैँ एकै रहन्छन भन्ने अनुमान गर्न उपयुक्त होला ? लगायतका प्रश्न यो सिद्धान्तको मान्यताउपर आउने गरेका छन् ।
अदालतबाट भएका फैसलामा एकरूपता, न्यायमा एकरूपताको विषयमात्र नभइ पूर्वनिर्णय पालन गर्ने सिद्धान्त पालना नभइ हुने फैसलालाई भविष्यमा समान विवादमा अनिवार्य रूपमा पालना गर्नुपर्ने नजिर नमान्ने मात्र नभइ न्याय कुन फैसलामा परेको हो भन्ने प्रश्न समेत समान रूपले खडा हुने हुन्छ ।
Per Incuriam सिद्धान्तको विधिशास्त्रीय आधार
पेर इन्क्यूरियमको सिद्धान्तलाई अर्को कानूनी सिद्धान्त Stare Decisis (पूर्वनिर्णय पालन गर्ने सिद्धान्त) को अपवाद वा विपरीतको सिद्धान्त हो पनि भनिन्छ । Stare Decisis ले न्यायिक स्थिरता सुनिश्चित गर्छ भन्ने हुन्छ ।
अपवादमा अदालतले गलत आधारमा वा कानूनी बेवास्तासहित निर्णय गर्यो भने, त्यसलाई निरन्तर पालन गर्नु न्यायिक अनुशासनभन्दा पनि न्यायिक अराजकता हुन सक्छ । तर पनि Stare Decisis को सिद्धान्तलाई समर्थन र Per Incuriam (पेर इन्क्यूरियम) सिद्धान्तलाई नकारात्मक अभ्यास मान्नुको कारण न्यायालयबाट त्रुटि हुँदैन, न्यायमा समानता हुनु समानताको सिद्धान्त अनुकूल पनि हुने; साथै नजिरको सिद्धान्तको पालना हो ।
Per Incuriam (पेर इन्क्यूरियम) सिद्धान्त हरेक अवस्थामा फैसला नै बदर हुने अवस्थाको हुन्न भन्ने अर्को तर्क पनि उत्तिकै औजिलो छ । गलत फैसला भई सोही नजिरलाई अनुसरा गरिएमा न्यायिक एकरूपताको नाममा अन्नयायको निरन्तरता हुनै खतरा हुन्छ र गलत फैसला कायम राख्नु विधिशास्त्रीय रूपमा अनुचित हुन्छ भने न्यायिक विश्वसनीयता जोगाउन गल्ती सुधार आवश्यक हुन्छ । यो प्रयोजनमा पेर इन्क्यूरियम सिद्धान्त नकारात्मक सिद्धान्त होइन आवाश्यक्ताको सिद्धान्त बन्छ । यदि आफ्नै अघिल्लो फैसला कुनै कानूनी व्यवस्था वा बाध्यकारी नजिरलाई बेवास्ता गरेर गरिएको छ भने, त्यसलाई पालना गर्न आवश्यक छैन भन्ने अर्को मान्यता छ ।
यसै सन्दर्भमा प्राङ्न्याय (stare decisis) को सिद्धान्त अदालतले अघिल्ला मुद्दाहरूमा प्रतिपादित बाध्यकारी नजिर (precedents) लाई समान तथ्य र कानूनी प्रश्न भएका पछिल्ला मुद्दाहरूमा अनुसरण गर्नुपर्ने न्यायिक सिद्धान्त हो । तर ठूलो इजलास वा समान तहको अदालतको फैसला पनि यदि कानूनी बेवास्तामा आधारित छ भने बाध्यकारी हुनहुँदैन भन्ने मत देखिन्छ ।
नेपालको सर्वोच्च अदालतबाट भएको व्याख्या र दृष्टिकोण
ने.का.प २०७३ अंक ६ निर्णय नं (६०) मा प्रतिपादित सिद्दान्त “कानूनको व्याख्याको एकरूपताको लागि देशको उच्चतम अदालतबाट भएको कानूनको व्याख्यालाई समान विवादमा लागू गरिन्छ । त्यसो नगरी एकपटक विधिवत भएको व्याख्यालाई पालना नगर्ने हो भने मुद्दाका पक्षहरू कानूनी सल्लाह दिने कानूनी व्यवसायीहरू र न्यायिक जगत, समाज नै अस्तव्यस्त हुन जान्छ र एक प्रकार न्यायिक अराजकता जस्तै हुन्छ ।
यस्तो नहोस् भनेर नै संविधानले देशको उच्चतम अदालतलाई कानून एवम् संविधानको व्याख्याको संवैधानिक जिम्मा दिइ त्यस्तो उच्चतम अदालतबाट भएको संविधान एवम् कानूनको व्याख्या पछिका मुद्दाहरूमा गाइडको रूपमा लिइन्छ । तर, कहिलेकाहिँ कुनै कुनै मुद्दामा विवादसँग सम्बद्ध कानूनी व्यवस्थालाई छली वा जानकारी नराखी गरिएको व्याख्या वा सम्बद्ध कानूनलाई लागु नै नगरी गरिएको फैसला पेर Per Incuriam फैसला भै त्यस्तो फैसलालाई नजीर भन्न नमिल्ने ।”
त्यस्तै मुद्दा नं ०७९–WO–०१६० मा “…Incuria को शाब्दिक अर्थ असावधानी (Carelessness) हुन्छ । Blacks Law Dictionary का अनुसार पेर इन्क्यूरियम भन्नाले उचित ध्यान पुग्न नसकेको कारण हुन गएको गल्ती (Inadvertence) भन्ने बुझिन्छ । फैसलाका सम्बन्धमा Per Incuriam भन्नाले कुनै कानूनी व्यवस्था वा न्यायको मान्य सिद्धान्त प्रति ध्यान पुग्न नसकेको कारण हुन गएको गल्ती भन्ने बुझिन्छ ।

न्यायका सन्दर्भमा एउटा स्थापित मान्यता के छ भने यदि कुनै फैसला Per Incuriam (पेर इन्क्यूरियम) छ भने त्यस्तो फैसलालाई नमान्न सकिन्छ । पेर इन्क्यूरियम फैसलाहरू ती फैसलाहरू हुन् जसमा कानूनको सही रूपमा प्रयोग भएको हुँदैन, त्यसैले त्यस्तो फैसला पालना पनि गर्नु पर्दैन (पेर इन्क्यूरियम decisions are those decisions which do not state the law correctly and hence are not to be followed)
“…Doctrine of पेर इन्क्यूरियम मूलतः अभिलेख अदालतबाट प्रदिपादन हुने नजीरसँग सम्बन्धित हुने देखिए पनि यो सिद्धान्तलाई अभिलेख अदालतको फैसलासम्म मात्र सीमित राखेर हेरिनु उचित हुने देखिँदैन । जब अभिलेख अदालतकै फैसला पनि गलत छ भने पालना गर्नुपर्दैन‚ गलत फैसलाहरूलाई कायम रहिरहन दिनु सामान्य विधिशास्त्रीय दृष्टिकोणबाट पनि उचित हुने देखिँदैन ।
Per Incuriam फैसला भएको देखिन्छ र त्यस्तो फैसलाका सम्बन्धमा माथिल्लो तहको अदालतको जानकारीमा ल्याइएको अवस्था छ भने त्यस्तो फैसला अन्तिम भई बसेको भन्ने मात्र कारणले अदालतले मौनता साँधेर बस्नु पर्छ भन्नु मनासिब हुने देखिएन भन्ने व्याख्या र सिद्धान्त प्रतिपादन भएको छ ।
भारतीय सर्वोच्च अदालतबाट भएको व्याख्या र दृष्टिकोण
Union of India v. Indian Railway SAS Staff Association को मुद्दामा भारतीय सर्वोच्च अदालतले पेर इन्क्यूरियम फैसलाका सन्दर्भमा प्राङ्न्यायको सिद्धान्त पनि आकर्षित हुँदैन भनेर बोलेको पाइन्छ । त्यसैले माथिल्लो अदालत वा ठूलो इजलास वा समान स्तरकै इजलासबाट पनि प्रतिपादित बाध्यात्मक नजिरलाई अनदेखा गरी वा सम्बन्धित विषयमा रहेका कानूनी व्यवस्थातर्फ ध्यान नपुगी गलत फैसला हुन पुगेको छ भने त्यस्तो फैसला पालना गर्नुपर्दैन भन्ने Per Incuriam सिद्धान्तले मान्यता राखेको पाइन्छ ।
यस्तो गल्ती सम्बन्धित कानूनी व्यवस्था र नजिरहरू सम्बन्धित इजलासको जानकारीमा नल्याइएको वा त्यस्तो कानूनी व्यवस्था र नजिर तर्फ इजलाशको पर्याप्त ध्यान पुग्न नसकेको कारणले भएको हुनसक्छ । कारण जे भए पनि गलत फैसला कायम रहिरहन दिनु न्यायिक अनुशासन र सदाचारको विपरीत हुन्छ भन्ने मान्यतामा यो सिद्धान्त विकास भइआएको पाइन्छ ।
Per Incuriam के सिद्धान्तको व्यवहारिक महत्व पनि उत्तिकै रहेको छ । अदालती बहसमा वकीलका लागि गलत नजिरलाई चुनौती दिने सहाराको कानूनी सिद्धान्त र आधारको रूपमा यो सिद्धान्त महत्वपूर्ण छ भने न्यायाधीशका लागि त्रुटि सुधार गर्ने अवसर, न्यायिक सदाचारको संरक्षण न्यायिक प्रणालीका लागि कानूनी स्पष्टता, न्यायप्रति जनविश्वासको संरक्षण र समयअनुरूप रूपान्तरण विकासको सिद्धान्तको रूपमा पनि रहेको छ ।
तर यो सिद्धान्तः सामान्य असहमति मात्रका आधारमा प्रयोग उपयुक्त हुँदैन, मिल्दैन, स्पष्ट कानूनी बेवास्ता भएको र पूर्वफैसला वा निर्णयमा परिमार्जन आवाश्यक र औचित्यपूर्ण भएको अवस्थामा मात्र प्रयोगमा ल्याउन उपयुक्त हुन्छ नत्र यसलेः न्यायिक अस्थिरता, मनोमानी व्याख्याको जोखिम, उत्पन्न गर्न सक्छ ।
निष्कर्षमा यो भन्न सकिन्छ कि Per Incuriam को सिद्धान्त नजिरको सिद्धान्तको विरोधी होइन, बरु यो नजिरलाई शुद्ध, विश्वसनीय र न्यायोचित बनाउने सुधारात्मक उपकरण पनि हो । नेपाल र भारतीय सर्वोच्च अदालतका फैसलाहरूले पनि ‘गलत फैसला केवल अन्तिम भएको कारणले बाध्यकारी नजिर बन्न सक्दैन’ भनेको छ ।
यसैले, पेर इन्क्यूरियम सिद्धान्तले कानूनको सर्वोच्चता, न्यायिक अनुशासन र संवैधानिक शासनलाई झनै मजबुत बनाउँछ । तर यसको प्रयोगको अवस्था हो वा होइन भन्ने पक्षमा प्रष्ट मापदण्ड र सुविचारित फैसला आउन आवश्यक छ ।

