बाँकी आगामी दिनमा गर्दै जाऊँला !

६ जेठ २०८३

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

आदरणीय सञ्चारकर्मी मित्रहरू,

यहाँहरूको उपस्थितिप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु।

नेपालको संविधानबमोजिम आज मैले प्रधान न्यायाधीश पदको सपथ ग्रहण गरी गौरवपूर्ण जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेको छु। यो जिम्मेवारीलाई मैले केवल पदको रूपमा मात्र होइन; संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने दायित्वको रूपमा ग्रहण गरेको छु।

न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो। त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ।

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड हो। मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्‍नु हो। यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता गरिने छैन।

न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन। यस विषयमा कसैले कुनै शंका राख्‍नुपर्ने अवस्था आउने छैन । साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु।

सूचना प्रविधिको प्रयोग : सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकालाई प्रविधिमैत्री बनाउँदै न्यायालयको समग्र डिजिटल रूपान्तरण (Digital Transformation) लाई संस्थागत रूपमा अघि बढाउनेछु। Virtual Hearing प्रणालीलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनेछु।

न्यायिक सुशासन : न्यायिक सुशासन कायम गर्नका लागि Zero Tolerance नीतिलाई दृढतापूर्वक अवलम्बन गर्दै न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा कुनै पनि प्रकारका अवाञ्छित गतिविधिप्रति कडा नियन्त्रण गरिनेछ। साथै, विचौलिया प्रवृत्तिको प्रभावकारी नियन्त्रण तथा निराकरणका लागि आवश्यक ठोस कदमहरू अघि बढाउनेछु।

सेवा प्रवाह : सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी तथा प्रभावकारी बनाउन आवश्यक कानून परिमार्जन र कार्यविधिको सरलीकरण गरिनेछ र सो को लागि के-कुन कानूनमा सुधार गर्नुपर्ने हो पहिचान गरी सुझाव दिन उच्चस्तरीय समिति गठन गर्नेछु। सेवाग्राहीको सहजताको लागि प्रत्येक अदालतमा Helpline Desk को चुस्त व्यवस्थापन गरिनेछ।

न्यायमा पहुँच अभिवृद्धि : सहभागिता, सहकार्य र समन्वयको सिद्धान्तलाई कार्यसम्पादनको मूल आधारका रूपमा अवलम्बन गर्दै सोही मान्यताअनुसार कार्य सञ्चालनमा विशेष जोड दिनेछु। यस माध्यमबाट न्यायिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाई न्यायमा पहुँच अभिवृद्धि गर्न प्रयत्न गर्नेछु।

न्याय परिषद्को प्रभावकारिता : न्याय परिषद्लाई थप प्रभावकारी र सक्रिय बनाउँदै नियमित रूपमा बैठक बस्ने संस्थागत अभ्यासको विकास गर्नेछु।

पुराना बक्यौता मुद्दाको फर्छ्यौट : पुराना बक्यौता मुद्दाहरूको शीघ्र फर्छ्यौटका लागि विशेष कार्ययोजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनेछु।

फैसला कार्यान्वयन : फैसला कार्यान्वयनको विषयलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने दिशामा आवश्यक पहल गर्नेछु।

अन्त्यमा,

न्यायपालिकाप्रति आम नागरिकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्ने मैले गहिरोरूपमा अनुभूति गरेको छु। संविधान, विधिको शासन, मानव अधिकार तथा न्यायका सार्वभौम मूल्य-मान्यताको संरक्षण र प्रवर्द्धनमा म सदैव प्रतिबद्ध रहनेछु।

यस महान् दायित्व निर्वाहका क्रममा सर्वोच्च अदालतलगातय देशैभरिका माननीय न्यायाधीशज्यूहरू, न्यायसेवाका कर्मचारीहरू, विद्धान् कानून व्यवसायीहरू, न्याय र कानूनको क्षेत्रमा काम गर्ने विद्वत वर्ग, सञ्चारजगत तथा आम नागरिकबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु।

प्रधान न्यायाधीशको रूपमा, मेरो कार्यकालमा भएका प्रगति र सुधारका प्रयासहरूबारे समय-समयमा सञ्चार माध्यममार्फत जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दछु। आवश्यकताअनुसार म स्वयं सञ्चारकर्मीहरूसँग संवाद गर्नेछु। साथै, कुनै पनि पत्रकार मित्रले प्रधान न्यायाधीशसँग भेटघाट गर्न चाहनु भएमा, मेरो सचिवालयसँग समन्वय गरी समय निर्धारण गर्न सक्नुहुनेछ।

यति भन्दै अहिलेका लागि म आफ्नो कुरा यहीँ टुङ्ग्याउँछु। बाँकी कुरा मैले काम सुरू गरिसकेपछि आगामी दिनमा यहाँहरूसँग गर्दै जाऊँला। धन्यवाद !

(नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने क्रममा गर्नुभएको सम्बोधनको सम्पादित अंश । )

यो पनि-

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

यस्तो छ मनोज शर्माको चार बुँदे कार्ययोजना (पूर्णपाठ)

सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै न्यायाधीश मनोज शर्मा (लाइभ)

सम्बन्धित खवर

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

काठमाडौँ । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् ।...

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

काठमाडौँ । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश कुमार रेग्मीको बरिष्ठता...

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ...

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

माननीय सभापतिज्यू, माननीयज्यूहरु, म अन्तिमबाटै, शुरु गरौंजस्तो लाग्यो । सभापतिज्यूकै अन्तिम प्रश्नबाटै । हुनचाहिँ...