समानुपातिकमा खसेको ५१ पार्टीको ९ लाख भोट खेर गयो

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ८ लाख ४ हजार ७०१ मत खसेको छ । यसमध्ये ६ वटा राष्ट्रिय पार्टीले प्राप्त गरेको कुल ९९ लाख ४ हजार ८९ मत मात्रै समानुपातिकमा गणनायोग्य भएको छ । बाँकी ५१ दलले पाएको करिब ९ लाख, अर्थात् ८ लाख ९९ हजार ७१२ मत अयोग्य भई खेर गएको छ ।

जस नेपाल

२७ फागुन २०८२

समानुपातिकमा खसेको ५१ पार्टीको ९ लाख भोट खेर गयो

काठमाडौँ । फागुन २१ को निर्वाचनमा करिब ९ लाख मतदाताले सामानुपातिक मतपत्रमा हालेको भोट खेर गएको छ । यो भनेको १० जना समानुपातिक सांसद चुनिन सक्ने मत हो ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ८ लाख ४ हजार ७०१ मत खसेको छ । यसमध्ये ६ वटा राष्ट्रिय पार्टीले प्राप्त गरेको कुल ९९ लाख ४ हजार ८९ मत मात्रै समानुपातिकमा गणनायोग्य भएको छ । बाँकी ५१ दलले पाएको करिब ९ लाख, अर्थात् ८ लाख ९९ हजार ७१२ मत अयोग्य भई खेर गएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार जुन दलले ३ प्रतिशतभन्दा कम मत पाएको छ, त्यो दलको मतलाई समानुपातिकमा गणना गरिँदैन । त्यस्तो मतलाई कुल मतबाट घटाइन्छ र बाँकी मतबाट मात्रै समानुपातिकका लागि हिसाब गरिन्छ ।

यसपालिको चुनावमा समानुपातिकतर्फ ५७ पार्टी सहभागी थिए । तीमध्ये ६ वटा पार्टी मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बने । बाँकी ५१ वटा पार्टीले पाएको भोटचाहिँ ढुस भयो । अर्थात, देशभरिका करिब ९ लाख मतदाताले समानुपातिकतर्फ हालेको भोट काम लागेन ।

रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक बाँकी ५१ वटा दलले तीन प्रतिशतभन्दा कम मत पाएका छन् । जबकि, ती दलहरुले पाएको कुल मत संख्या ८ लाख ९९ हजार ७१२ रहेको छ । तर, यो मत समानुपातिकमा गणना गर्न मिल्दैन ।

समानुपातिकमा खसेको कुल १ करोड ८ लाख ४ हजार ७०१ मतमा खेर गएको ८ लाख ९९ हजार ७१२ मत घटाउँदा ९९ लाख ४ हजार ८९ मत रहन जान्छ । र, यही मतबाट ६ वटा राष्ट्रिय पार्टीले ११० वटा समानुपातिक सिटहरु बाँडेर लिन्छन् ।

साना दलले पाएको मत घटाएर बाँकी रहेको ९९ लाख ४ हजार ८९ मतलाई समानुपातिक सिट संख्या ११० ले भाग गर्दा ९० हजार ४६ मत हुन जान्छ । यस आधारमा ९० हजार मत बराबर एकजना सांसद छानिन्छन् ।

यो हिसाबले साढे ५१ लाख मत पाएको रास्वपाको भागमा ५७ सिट पर्न जान्छ भने १७ लाख ल्याउने कांग्रेसका भागमा २० जना, १४ लाख मत पाउने एमालेका भागमा २० जना, ८ लाख मत पाउने नेकपाका भागमा ९ जना र पौने चार लाख मत पाउने श्रम संस्कृति पार्टीका भागमा ४ जना सांसद पर्न सक्छन् । त्यस्तै ३ लाख मत कटाएको राप्रपाका भागमा पनि ४ जना सांसद पर्न सक्छन् ।

यो चुनावमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिकतर्फ १ लाख ७९ हजार ३९७ मत पाएको थियो । त्यस्तै, कुलमान घिसिङको साथ रहेको राष्ट्रिय परिवर्तन पार्टीलाई बाँसुरी चिन्हमा १ लाख ७२ हजार २४३ मत खसेको थियो । सिके राउतको जनमत पार्टी ७९ हजार मत पाएको थियो भने नागरिक उन्मुक्तिले ६२ हजार र नेपाल मजदुर किसान पार्टीले ४२ हजार मत पाएका थिए । तर, यी दलहरुका भागमा परेको लाखौं मत खेर गएको छ ।

१० वटा पार्टीको मत २०–७९ हजारसम्म

त्यस्तै, राष्ट्रिय निर्माण दलले ३९ हजार, राष्ट्रिय जनमोर्चाले २९ हजार, संघीय समाजवादी/बहुजन लगाएको एकल चिन्ह २८ हजार र नेपाल जनता संरक्षण पार्टी पनि २८ हजार मत पाएका छन् ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले देशभरिबाट आँखा चिन्हमा २४ हजार मत पायो भने नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टी माओवादीले गुलाब चिन्हमा २१ हजार मत पायो । मंगोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा २० हजार मत खस्यो ।

१२ पार्टीको मत १६ हजार मुनि

यो चुनावमा देशभरिबाट पाँच हजारदेखि १६ हजारसम्म मत ल्याउने पार्टीहरु १२ वटा छन् । यसमध्ये ऋषि धमलासमेत सहभागी रहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले मोबाइल चिन्हमा १६ हजार मत पायो । त्यस्तै, सार्वभौम नागरिक पार्टीले १४ हजार र राष्ट्रिय मुक्ति पार्टीले १० हजार मत पाएका छन् । संयुक्त नागरिक पार्टीले ९ हजार र स्वाभिमान पार्टीले ८ हजार मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति, नेपाली जनता पार्टी, राष्ट्रिय एकता दल र नेकपा मालेले देशभरिबाट ७ हजार मत पाएका छन् । राष्ट्रिय गौरब पार्टी, नेशनल रिपब्लिक पार्टी र नेपालका लागि नेपाली पार्टीले देशभरिबाट ५/५ हजार मत पाएका छन् ।

त्यसैगरी ६ वटा पार्टीले १ हजारदेखि ४ हजारसम्म मत पाएका छन् । देशभरिबाट समानुपातिकमा ४ हजार मत पाउने दलहरुमा नेकपा मार्क्सवादी (पुष्पलाल), संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, गतिशील लोकतान्त्रिक पार्टी, नेकपा संयुक्त, राष्ट्रिय ऊर्जाशील पार्टी, समावेशी समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी रहेका छन् ।

विभिन्न १६ वटा दलले १ हजारदेखि ३ हजारसम्म मत पाएका छन् ।

नेपाल मातृभूमि पार्टीले तीन हजार मत पाएको छ भने दुई हजार मात्रै मत पाउने दलहरुमा जय मातृभूमि पार्टी, राष्ट्रिय जनता पार्टी, बहुजन शक्ति, प्रजातान्त्रिक पार्टी, नेपाल जनभूमि पार्टी, जनअधिकार पार्टी, र नेपाल सदभावना पार्टी रहेका छन् ।

निर्वाचनमा भाग लिएका विभिन्न ८ वटा दलहरुले एक/एक हजार मत ल्याएका छन् । ती दलहरुमा पिपुल्स फस्र्ट पार्टी, नेपाली कांग्रेस (वीपी), नागरिक शक्ति पार्टी, नेपाली जनश्रमदान पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी, र नागरिक सर्वोच्चता पार्टी छन् ।

विभिन्न ४ वटा दलले भने समानुपातिकमा एक हजार भन्दा कम मत पाएका छन् । ती दलहरुमा जनप्रिय लोकतान्त्रिक पार्टी (९५१ मत), मितेरी पार्टी (७७१ मत), उन्नत लोकतान्त्रिक पार्टी (७२६ मत) र त्रिमुल नेपाल (६९१ मत) रहेका छन् ।

यो पनि-

प्रतिनिधि सभा निर्वाचन २०८२ : यी हुन् प्रत्यक्षतर्फका १६५ सांसद्

सम्बन्धित खवर

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाई हुने, नियमित सुनुवाईको पेशी आइतबार

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाई हुने, नियमित सुनुवाईको पेशी आइतबार

काठमाडौँ । रवि लामिछानेविरुद्ध विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने/नलिने विवादमाथि...