देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

जस नेपाल

२८ फागुन २०८२

देशले नयाँ प्रधानमन्त्रीसँगै नयाँ प्रधानन्यायाधीश पाउने

काठमाडौँ । आगामी चैत दोस्रो साताभित्र देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । प्रतिनिधिसभा चुनावमा भारी बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन लागेको छ । ठीक यही साता दोस्रो महिला प्रधानन्यायाधीशका रुपमा सपना प्रधान मल्लले न्यायपालिका प्रमुखको जिम्मेवारी सम्हाल्दैछिन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन् । विगतको परम्परा अनुसार पदावधि सकिनुभन्दा एक महिना अगावै विदामा बस्ने प्रचलन छ । अब राउतले जिम्मेवारी सम्हाल्न पाउने दिन करिब दुई साता मात्र छ । त्यसैले, बालेन्द्र शाह प्रधानमन्त्री बन्दा नबन्दै प्रधानन्यायाधीश फेरिने स्थिति छ ।

न्याय परिषदले यसैसाता बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित ६ जना न्यायाधीहरुलाई प्रधानन्यायाधीशका लागि योग्य ठहर्‍याएको छ । संविधानतः सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा तीन वर्ष काम गरेपछि प्रधानन्यायाधीश बन्न योग्य भइन्छ ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्य ठहर्‍याएका ६ न्यायाधीशहरुमा सपनासहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ छन् ।

सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश कार्यरत छन् । संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहन पाउँछन् ।

नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि संवैधानिक परिषदले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ । परिषदको सिफारिसका आधारमा प्रधानन्यायाधीश नियुक्त गरिने संविधानमा व्यवस्था छ ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषदको अध्यक्षमा प्रधानमन्त्री रहन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखसमेत ६ जना रहन्छन् ।

हाल संवैधानिक परिषदमा तीनजना मात्र छन् । नयाँ चुनाव भएका कारण सभामुख, उपसभामुख र विपक्ष्ी दलको नेता चुनिन बाँकी रहेकाले संवैधानिक परिषद अपूर्ण अवस्थामा रहेको छ ।

तर, प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने बैठकमा कानून मन्त्रीसमेत सदस्यका रुपमा उपस्थित हुन पाउने संविधानको धारा २८४ को (२) मा व्यवस्था छ । यो अवस्थामा वर्तमान कानूनमन्त्री अनिलकुमार सिन्हा संवैधानिक परिषदको बैठकमा बस्न पाउँछन् ।

त्यसो त संवैधानिक परिषदको अध्यक्षसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा संविधान उल्लंघन गरिसकेकी छन् । किनभने, संविधानको धारा २८४ को उपधारा (३) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगावै संवैधानिक परिषदले नियुक्तिको सिफारिस गरिसक्नुपर्ने भनेको छ । तर, कार्की अध्यक्ष रहेको संवैधानिक परिषदले अहिलेसम्म नयाँ प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छैन ।

संवैधानिक बाध्यतालाई हेर्दा नयाँ प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस नयाँ प्रधानमन्त्री एवं संवैधानिक परिषदका भावी अध्यक्ष बालेन्द्र शाहबाट नभएर वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा तत्कालै हुनुपर्ने देखिन्छ ।

सर्वोच्च अदालतको परम्पराअनुसार बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रचलन रही आएको छ । यसपालि पनि सोही परम्परा अनुसार सपना प्रधान मल्ल नै प्रधानन्यायाधीश चुनिने निश्चित छ ।

अदालत प्रशासनका अनुसार नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बस्ने संवैधानिक परिषदको बैठकको तयारी लगायतका कार्यहरुको पहल हुनेवाला प्रधानन्यायाधीशबाटै गरिने प्रचलन छ ।

प्रधानमन्त्री सुशीला कार्की नेपालको प्रथम प्रधानन्यायाधीश हुन् । हुनेवाला प्रधानन्यायाधीश सपनालाई सुशीला कार्कीकै पालामा सर्वोच्चको न्यायायाधीश बनाइएको थियो । दुबैको सम्बन्ध राम्रो रहेकाले पनि सुशीला कार्कीले नै उनलाई अब प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...