काठमाडौँ । सहकारी सञ्चालकबाट ठगिएका पीडितहरु फेरि न्यायको माग गर्दै सडकमा उत्रिएका छन् । फरार रहेका जीवी राईसमेतको फोटो अंकित ब्यानर बोकेर पीडितहरु माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्तामार्फत निर्णय गराएर जीवी राईसमेत लाई संगठित अपराधको अभियोगबाट उन्मुक्ति दिने प्रयास गरिरहेका बेला पीडितहरु सडकमा आएका हुन् ।
आफूहरुले सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् । सहकारीका जम्मा गरेको ठूलो सानो सबै रकम फिर्ता हुनुपर्ने र ठगी गर्नेलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
सहकारीपीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाइमा शुक्रबार काठमाडौको माइतीघरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानून बनोस्, पीडितलाई फुटाउने षडयन्त्र नगरियोस, विगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बचकर्ताको पैसा फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशल केसीले सहकारी पीडितको समस्या समाधान गर्न अब बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए ।
सरकार बनेको सय दिनभित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिवद्धता अब पूरा हुनुपर्ने भन्दै उनले आफूहरुको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए ।
यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अब नयाँ बन्ने सरकारले नयाँ सम्झौता भन्दा पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेमा आफूहरुको जोड रहेको केसीले बताए ।
रास्वपाका नेताहरुले चुनावअघि भाषण गर्ने क्रममा आफ्नो पार्टीको सरकार बनेको सय दिनभित्र सहकारी पीडितको बचत फिर्ता प्रक्रिया अघि बढाइने बताएका थिए । तर, बचतकर्ताको रकम सहकारी ठगहरुबाट असूल गरेर पीडितलाई दिने हो कि सरकारी ढु्कुटीबाट दिने भन्नेबारे रास्वपाले स्पष्ट पारेको छैन ।
यता, सहकारीमा बचतकर्ताको रकम ठगी गरेर फरार रहेका जीबी राईको संगठत अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय सुशीला कार्की नेतृत्वको सरकारले गरिरकेको छ । तथापि यो विषय सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको छ ।
रवि लामिछाने र जीवी राई समेतको मुद्दा फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सोमबार सुनुवाई हुँदैछ ।


