काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा युवाको वर्चस्व देखिएको छ । शुक्रवार विस्तार गरिएको १५ सदस्यीय मन्त्रिमण्डलमा दुई तिहाइ अर्थात् १० जना मन्त्री ४० वर्षमुनिका रहेका छन् ।
निर्वाचन आयाेगद्वारा उपलब्ध तथ्याङ्कअनुसार प्रधानमन्त्री शाह स्वयं ३६ वर्षका छन् । मन्त्रिपरिषद्मा सबैभन्दा कम उमेरका मन्त्री सस्मित पोखरेल २९ वर्षका रहेका छन् भने ३० वर्ष उमेर समूहमा सविता गौतम र सीता वादी रहेका छन् ।
त्यसैगरी ४० वर्षमुनिका अन्य मन्त्रीहरूमा दीपक साह (३४), गीता चौधरी (३३), प्रतिभा रावल (३२), निशा मेहता (३८), सुदन गुरुङ (३८) र सुनिल लम्साल (३५) रहेका छन् ।
यता ४० वर्षमाथिका मन्त्रीहरूमा स्वर्णिम वाग्ले (५१), शिशिर खनाल (४७), खड्क पौडेल (४६), बिराज भक्त श्रेष्ठ (४४) र विक्रम तिमल्सिना (४३) रहेका छन् ।

शैक्षिक योग्यताको हिसाबले पनि अधिकांश मन्त्री उच्च शिक्षित देखिएका छन् । प्रधानमन्त्री शाह स्वयं संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन् भने केही मन्त्रीहरू पिएचडी अध्ययनरत, स्नातकोत्तर तथा विभिन्न प्राविधिक र व्यवस्थापन विषयका जानकार छन् ।
अब नयाँ युगको शुरुवात होस्
गत भदौमा जेनजी आन्दोलनले कांग्रेस–एमालेको बलियो सरकार ढालेदेखि नै नेपालको राजनीतिका केही नौला परिदृश्यहरु देखिन थालेका हुन् ।
अर्बौंको क्षति अनि ७६ जना नेपालीहरुको बलिदानीबाट बनेको अन्तरिम सरकारले ६ महिनामा चुनाव सम्पन्न गरेर देशलाई संवैधानिक निकास दिएको छ ।
नेपाली राजनीतिमा बारम्बार चर्चा हुँदै आएको पुस्तान्तरणको कोर्षलाई पनि आम निर्वाचनमार्फत् नेपाली जनताले एकै झड्कामा बदलिदिएका छन् । हजुरबा पुस्ताबाट दोस्रो पुस्तामा पनि नअडिई सोझै तेस्रो पुस्ताका युवाहरुमा राजनीतिक नेतृत्व आइपुगेको छ ।
भनिन्छ, युवाहरु देशका भविश्य हुन् । युवामा आवेश र जोश भरपुर हुन्छ । यो जोशमा होस पनि मिसाएर काम गर्ने हो भने तीन करोड जनसंख्या भएको सानो देशको समृद्धि धेरै टाढा छैन ।

तर, विगतमा देखापरेको राजनीतिक प्रदूषणका कारण सरकारलाई काम गर्न त्यति सजिलो भने छैन । एक–अर्काप्रति वैमनश्यता र बदलाको राजनीतिका कारण हामीले दशकौंदेखि आपसी द्वन्द्व झेल्दै आएका छौं । अब पनि कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गर्नेतर्फ नलागी राष्ट्रिय एकता कायम गर्न सकिएन भने विकास पनि सम्भव हुँदैन र शान्ति पनि सम्भव हुँदैन ।
त्यसर्थ, युवा पुस्ताको यो उर्जाशील नेतृत्वले सबैलाई आपसमा मिलाएर देशलाई अघि बढाओस्, नयाँ सरकारलाई सफलताको शुभकामना।
बालेन्द्र शाह नेतृत्वको सरकारप्रति नेपाली जनतामा देखिएको आशा निराशामा नबदलियोस्, भरोसामा बदलियोस् ।
याे पनि –
- केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्न सुधन गुरुङलाई क्याबिनेटको अनुमति
- मन्त्री सोविताको पहिलो ध्यान : बलात्कारसम्बन्धी कानून संशोधन
- पहिलाे मन्त्रिपरिषद् बैठक : आयोगको सुझाव अनुसार ओली, लेखक र खापुङलाई कारबाही गर्ने निर्णय
- सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिन्छौँः कानूनमन्त्री गौतम (फोटोफिचर)
- नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण, यस्तो बन्यो १५ सदस्यीय मन्त्रीमण्डल
- गृहमन्त्री सुधन गुरुङका ५१ अधिकार

