संवैधानिक इजलासलाई सर्वोच्च अदालतले केन्द्रमा राखेको छ

२० चैत २०८२

संवैधानिक इजलासलाई सर्वोच्च अदालतले केन्द्रमा राखेको छ

संवैधानिक इजलास संविधानको एकदम विशिष्ट व्यवस्था हो। यो इजलासको प्रभावकारितासित नेपालको संवैधानिक विकासक्रमको धेरै यात्रा र अवरोहहरु जोडिन्छन्। त्यस हिसाबले पनि संवैधानिक इजलास आफैमा महत्वपूर्ण इजलास हो  । सर्वोच्च अदालतद्वारा विकास गरिएको संवैधानिक इजलास पोर्टलको शुभारम्भ भएको छ। यो आफैमा एउटा उपलब्धिमूलक कार्य हो ।

संवैधानिक इजलास कानुनको व्याख्या, संविधानको व्याख्या गर्ने सबभन्दा उपल्लो स्थान हो। कानुनको संवैधानिकता परीक्षण गर्ने ठाउँ पनि यही हो। सरकारको नियन्त्रण र सन्तुलन कायम गर्ने दृढ अंगहरुमध्येको एउटा काम यही हो। कानुनी संविधानवादको परिपालना गर्ने ठाउँ पनि यही हो। संघीयता सम्बन्धी विवादहरुको निरूपण गर्ने ठाउँ पनि यही हो।

त्यसैगरी संघ र प्रदेशको क्षेत्राधिकार सम्बन्धी विवादहरुको निरूपण गर्ने पनि ठाउँ हो। यसले समग्रतामा देशमा सुशासन, कानुनको शासन, संविधानवादलाई उत्थान, प्रोत्साहन, प्रत्याभूत गर्ने सबभन्दा सशक्त र प्रभावकारी माध्यम भनेकै नेपालको न्यायपालिका अन्तर्गतको यो इजलास हो । त्यसै कारणले पनि यो इजलासको प्रभावकारिता संवैधानिक विकासको क्रममा, देशको गतिका लागि र देशको दिशानिर्देशनका लागि पनि आवश्यक छ।

सर्वोच्च अदालत आफैमा बोझिलो छ । कार्यचाप अत्यन्त उच्च छ। हामीसित धेरै मुद्दाहरु छन्। तथापि सर्वोच्च अदालतका सबै मुद्दाहरुको महत्व आफैंमा छ। तथापि संवैधानिक इजलासमा आएर विचाराधीन रहेका हाम्रा करिब २८० जस्ता मुद्दाहरुको शीघ्र फर्छ्यौट आफैंमा अत्यन्त महत्वपूर्ण छ । त्यो शीघ्र फर्छ्यौटले नै नेपालको संवैधानिक विकासक्रमलाई कहीँ न कहीँ दिशा दिन सक्छ, गति दिन सक्छ भन्ने विश्वास पनि लाग्छ।

न्याय सम्पादन गरेर मात्रै हुँदैन, गरेको जस्तो देखिनु पनि पर्छ। हामीले गरिरहेका काम कारबाहीहरुमा अरुले प्रश्न उठाउन नसक्ने ठाउँ र जवाफदेहिताको त्यो उपल्लो हदको स्तर न्यायपालिकाले पनि मेन्टेन गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले पारदर्शिता कायम गर्न जरुरी छ।

पारदर्शिता कायम गर्ने सबैभन्दा सशक्त माध्यम, हामीले हाम्रो काम कारबाहीलाई जति बढी ट्रान्सपेरेन्ट गर्न सक्यौँ, जति बढी यहाँ समाजमा हामीले डिस्क्लोज गर्न सक्यौँ, त्यति बढी हामीले न्यायपालिकाप्रतिको विश्वास आर्जन गर्न सकिन्छ ।

संवैधानिक इजलास सम्बन्धी पोर्टल सबै स्रोतहरुको पुञ्ज छ। संवैधानिक इजलासका सबै इन्फर्मेसनहरु यो पोर्टलभित्र समाहित छन्। यसमा आदेश, फैसलाका विवरणहरु, सम्पूर्ण यसका प्रक्रियागत कुराहरु र त्यहाँ रहनुहुने माननीय न्यायाधीशज्यूहरु र संवैधानिक इजलाससित सम्बन्धित ऐन कानुनहरुका विषयहरु पनि त्यही पोर्टलभित्र समाहित छन्।

त्यसै हुनाले संवैधानिक इजलास र यस इजलाससित सानिध्य राख्ने कोही पनि जुझारु व्यक्तिहरुलाई रिसर्च गर्ने व्यक्तिहरुलाई, कानुन व्यवसायीहरुलाई, कर्मचारी साथीहरुलाई यसले एउटा ठूलो स्रोत दिन सक्छ र यसबाट अध्ययन प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरुको मैले विश्वास लिएको छु।  यो सूचना प्रवाहको एउटा माध्यम पनि हो। यो हामी किन गरिरहेका छौँ भन्दा अदालतले हाम्रो लागि भन्दा पनि हाम्रा सेवाग्राहीहरुका लागि, हाम्रा सरोकारवाला निकायहरुका लागि, कानुन व्यवसायीहरुका लागि र समग्रतामा न्यायपालिकाप्रति न्यायमा पहुँचको अभिवृद्धि गर्नका लागि महत्वपूर्ण छ । सँगसँगै हाम्रा आफ्ना कार्यसम्पादनलाई अझै बढी प्रभावकारी बनाउनका लागि र पारदर्शिता कायम गर्नका लागि यसले काम गरिरहेको छ। यस मानेमा पनि यो संवैधानिक इजलासको पोर्टल महत्वपूर्ण छ।

हामीसित चुनौती प्रशस्तै छन्। अहिलेका हाम्रा फर्छ्यौटका गतिहरु, अहिलेको यो पछिल्लो क्रमले केही अप्ठ्यारोमा परेका छौँ। संवैधानिक इजलासका पनि केही मुद्दाहरु हामीसित अलि बढी विचाराधीन छन्। ती मुद्दाहरुको शीघ्र फर्छ्यौट गर्नुपर्ने पनि छ। यो संवैधानिक इजलास र समग्र हाम्रो वेबसाइटलाई नै अझै बढी डाइनामिक बनाएर अझै बढी हाम्रा काम कारबाही, गतिविधिहरुलाई पब्लिक माझ लैजानुपर्ने हामीसित चुनौती छ।

पछिल्लो समयमा विकास भएको एआईका टुल्सलाई पनि कहीँ न कहीँ  रिसोर्सको जेनेरेसनमा प्रयोग गर्नुपर्ने चुनौती पनि छ। सँगसँगै हामीले लेस पेपर कोर्ट टु पेपरलेस कोर्टको यात्रामा जुडिसियल ट्रान्सफर्मेसन गर्ने जस्टिस सिस्टम लागु गर्ने यस्ता खालका कामहरुमा पनि सूचना प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने छ। यी चुनौतीहरुका बीचमा अहिलेको यो संवैधानिक इजलासको पोर्टल एउटा सानो प्रयास हो ।

संवैधानिक इजलासलाई सर्वोच्च अदालतले केन्द्रमा राखेको छ, महत्व दिएको छ र यसलाई भोलिका दिनमा न्याय सम्पादन गरिरहँदा यसबाट सम्प्रेषण हुने जुन सूचनाहरु छन्, त्यसले सेवाग्राहीहरुलाई एक किसिमको विश्वास आर्जन गराउन सक्छ र न्यायपालिकाप्रतिको आस्था बढाउन सक्छ ।

पोर्टल निर्माणका क्रममा निर्देशन गर्नुहुने माननीय न्यायाधीशज्यूहरु, सम्माननीय कामु प्रधानन्यायाधीशज्यू लगायत सम्पूर्ण सूचना प्रविधिका साथीहरु, जसले अहोरात्र खटेर यो पोर्टल बनाउनुभएको छ, यहाँहरु सबै बधाई एवं धन्यवादका पात्र हुनुहुन्छ।

(शुक्रबार सर्वोच्च अदालतमा आयोजित संवैधानिक इजलाससम्बन्धी वेब पोर्टल सार्वजनिक गर्ने कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, विमल पौडेलद्वारा व्यक्त मन्तव्यको सारांश )

सम्बन्धित खवर

सर्वोच्चलाई लिखित जवाफ पठाउँदै महान्यायाधिवक्ता कार्यालयले भन्यो – ओलीको गिरफ्तारी कानूनसम्मत (पूर्णपाठसहित)

सर्वोच्चलाई लिखित जवाफ पठाउँदै महान्यायाधिवक्ता कार्यालयले भन्यो – ओलीको गिरफ्तारी कानूनसम्मत (पूर्णपाठसहित)

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी गैरकानूनी नभएको जवाफ दिएको...

संवैधानिक इजलासमा २८२ मुद्दा बाँकी छन् (भिडियाेसहित)

संवैधानिक इजलासमा २८२ मुद्दा बाँकी छन् (भिडियाेसहित)

न्यायपालिकाको भूमिकाको कुरा गर्दा नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने संविधानको अभिभावकको रुपमा हाम्रो धेरै जिम्मेवारी...

न्यायपालिकाको डिजिटल ट्रान्सफर्मेसन (भिडियाेसहित)

न्यायपालिकाको डिजिटल ट्रान्सफर्मेसन (भिडियाेसहित)

सर्वोच्च अदालतको वेबसाइटमा हामीले एउटा सानो एप्लिकेसन थप्न सकेका छौं। यो एप्लिकेसन सार्वजनिकीकरण गर्न...

रास्वपाको लाइन : वाचापत्रमा संवैधानिक समाजवाद, विधानमा मिसमास !

रास्वपाको लाइन : वाचापत्रमा संवैधानिक समाजवाद, विधानमा मिसमास !

काठमाडौँ । काठमाडौँ । दोस्रो विश्वयुद्धपछि विश्व राजनीति बहुदलीय प्रजातन्त्र र एकदलीय साम्यवादी व्यवस्थामा विभाजित...