काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन कार्यालय विदाको समय तोकेका कारण प्रहरीद्वारा पक्राउ गरिएका व्यक्तिहरुलाई सोमबार मात्रै अदालतमा उपस्थित गराउने कि के गर्ने ? यो अन्योल शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले समाधान गरेको छ ।
अबदेखि शनिबार र आइतबार दुई दिन नै सरकार बिदा भएता पनि २४ घण्टाभित्रै थुनुवालाई अदालतमा उपस्थित गराइनुपर्ने संवैधानिक संवैधानिकलाई प्रावधानलाई कार्यान्वनयमा ल्याउन सर्वोच्चको पूर्ण बैठकले मातहतका अदालतहरुलाई सर्कुलर पठाएको छ ।
सर्वोच्चको सकुर्लर अनुसार अब हप्तामा दुई दिन नै सरकारी विदा भएता पनि थुनुवाहरुले २४ घण्टाभित्रै अदालतमा उपस्थित हुन पाउने संविधानको धारा २० (३) को न्यायसम्बन्धी हक पाउने भएका छन् ।
यसअघि जस नेपालले प्रस्तुत गरेको एक सामग्रीमा दुईदिने सरकारी विदापछि थुनुवाको संवैधानिक हक कसरी कार्यान्वयन होला ? भन्ने प्रश्न उठाएको थियो ।
हेर्नुहोस समाचारको लिंक-
शनिबार र आइतबार कार्यालय बन्द हुँदा अदालतमा सकस, बाधा फुकाउने जिम्मा प्रधानन्यायाधीशलाई
सर्वोच्च अदालतको विहीबार सम्पन्न पूर्ण बैठकको निर्णयमा भनिएको छ–
‘नेपाल सरकारले विदाका सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम हप्तामा शनिबार र आइतबार २ (दुई) दिन सार्वजनिक बिदा हुने अवस्था सिर्जना भएको तथा अन्य अवस्थामा पनि २४ घण्टा भन्दा लामो अवधिको बिदा परेमा उपर्युक्त संवैधानिक व्यवस्थाको कार्यान्वयनको लागि तथा पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृति र हिरासतमा राख्ने अनुमतिको लागि पेश हुने मुद्दामा निकासाको प्रयोजनको लागि बिदाको समयमा अदालत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ ले व्यवस्था गरेबमोजिमको आवश्यक प्रबन्ध गर्नु भनी मातहत अदालतहरूलाई परिपत्र गर्ने भनी यस अदालतको मिति २०८२।१२।२७ गते बसेको पूर्ण बैठकबाट निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन अनुरोध छ ।’
नेपालको संविधानको धारा २० को उपधारा (३) बमोजिम “पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन’’ भन्ने व्यवस्था रहेको सर्वोच्च अदालतले स्मरण गराएको छ ।
सरकारले गरेको विदा सम्बन्धी निर्णय अनुसार अदालतहरु पनि शनिबार र आइतबार बन्द रहने सर्वोच्चले स्पष्ट पारेको छ । तर, विदाका दिन पनि थुनुवाहरुको २४ घण्टाभित्र अदालतमा उपस्थित हुन पाउने हक कार्यान्वयनका लागि उपयुक्त प्रवन्ध गर्न मातहतका अदालतलाई सर्वोच्च अदालतले निर्देशन दिएको छ ।
कार्यालय समय र विदाका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार गत चैत २३ को नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३ मा भएको संशोधन र मिति चैत २२ गते नेपाल सरकारले विदाका सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम हप्तामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा हुने अवस्था सिर्जना भएको अदालतले भनेको छ ।
साप्ताहिक विदाबाहेक अन्य अवस्थामा पनि २४ घण्टा भन्दा लामो अवधिको बिदा परेमा उपर्युक्त संवैधानिक व्यवस्थाको कार्यान्वयनको लागि तथा पक्राउ पूर्जीको अनुमति, जरुरी पक्राउ पूर्जीको स्वीकृति र हिरासतमा राख्ने अनुमतिको लागि पेश हुने मुद्दामा निकासाको प्रयोजनको लागि बिदाको समयमा अदालत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ ले व्यवस्था गरेबमोजिमको आवश्यक प्रबन्ध गर्न पूर्ण बैठकबाट निर्णय भएको सर्वोच्च अदालदत, पूर्ण बैठकको सर्कुलरमा जनाइएको छ ।
बिदाका दिनमा समेत थुनुवाहरुको उपस्थितिबारे प्रबन्ध मिलाउन सर्कुलर पठाइएका मातहतका अदालतहरुमा सम्पूर्ण उच्च अदालतहरू, उच्च अदालतका अस्थायी इजलासहरु, प्रशासकीय अदालत, न्यायाधिकरणहरू, विशेष अदालत, श्रम अदालत, फैसला कार्यान्वयन निर्देशनालय, ७७ वटै जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालत छन् ।
हेर्नुहोस् सर्कुलर–

ताजा अपडेट
उपसभामुखमा ठाकुर निर्वाचित
२७ चैत २०८२
