प्लेटोको जीवन : असफलताबाट अमर बनेको दर्शन

जस नेपाल

७ वैशाख २०८३

प्लेटोको जीवन : असफलताबाट अमर बनेको दर्शन

एउटा युवक, जसको गुरुलाई विष खुवाएर मारियो, जसलाई शक्तिशाली तानाशाहले बेच्ने योजना बनाए, र जसलाई जेलमा राखेर दास बनाइयो। यो कुनै चलचित्रको कथा होइन, यो प्राचीन युनानी  दार्शनिक प्लेटोको वास्तविक जीवन हो।

हामी कानुनका विद्यार्थीहरूले पाठ्यक्रममा प्लेटोको नाम बारम्बार भेट्छौं; न्यायको सिद्धान्त, आदर्श राज्य र दार्शनिक राजाको अवधारणासँग जोडेर।

तर, उनी केवल किताबी दार्शनिक थिएनन्।

गुरु सुकरातको मृत्युदण्डपछि प्लेटो पूरै टुटेका थिए। तर उनले हार मानेनन्। सिसिली गएर तानाशाह डियोनिसियसलाई “दार्शनिक राजा” बनाउने सपना देखे।

नतिजा? जेल, अपमान र दास बन्ने खतरा। यी असफलताले उनलाई एउटा कठोर सत्य सिकायो ; “सत्ताको नजिक पुग्नु र सत्तालाई राम्रो बनाउनु दुई बिल्कुल फरक कुरा हुन्।”

आज नेपालमा भ्रष्टाचार, राजनीतिक खेल र न्यायको खोजीमा रहेका हामी नेपालीहरुका लागि प्लेटोको कथा किन अझै जीवन्त छ ? किनकि उनको प्रसिद्ध “गुफाको उपमा” ले हामीलाई सोधिरहेको छ; हामी अझै छायाँ मात्र हेरेर बसेका छौं कि सत्य खोज्न बाहिर निस्कने तयारीमा छौं ?

आउनुहोस् प्लेटोबारे जानौँ ।

 को थिए प्लेटो ?

 प्लेटो पश्चिमी दर्शनका सबैभन्दा प्रभावशाली  व्यक्तित्वमध्ये एक हुन् । उनी एथेन्सको अभिजात परिवारमा जन्मिएका थिए  । उनी सुकरातका प्रिय शिष्य र अरस्तुका गुरु थिए । उनको वास्तविक नाम अरिस्टोक्लेस थियो, तर सुकरातले उनको चौडा काँध र बलियो शरीर देखेर “प्लेटो” (अर्थात् चौडा) नाम राखिदिए ।

प्लेटोले दर्शनशास्त्र मात्र होइन ;राज्य, न्याय, शिक्षा र कानुनको जग नै बसाइदिए । उनी विश्वको पहिलो उच्च शिक्षण संस्था “एकेडेमी” का संस्थापक पनि थिए ।

प्लेटोको जन्म ईसापूर्व ४२८/४२७ मा एथेन्स (युनान) मा भएको थियो । उनको मृत्यु ईसापूर्व ३४८/३४७ मा सोही ठाउँमा भएको थियो ।

उनी सुकरात (४७०देखि ३९९ ई.पू.) का शिष्य र अरस्तु (३८४ देखि ३२२ ई.पू.) का गुरु थिए । दार्शनिक क्रममा सुकरात, प्लेटो र अरस्तुको नाम आउँछ । ८० वर्षको उमेरमा उनको एथेन्समै निधन भएको थियो  ।

प्लेटो अभिजात परिवारमा जन्मिएका थिए । बुबा अरिस्टन र आमा पेरिक्टियोन थिए । परिवारले समुद्रका देवता पोसेडनसँग वंश जोड्थ्यो ।  बाल्यकालमा उनले  संगीत, कविता, खेलकुद र युद्धकला सिके । युवावस्थामा उनीमाथी  पेलोपोनेसियन युद्धको प्रभाव पर्‍यो । तर उनको जीवनको साँचो मोड सुकरात (Socrates)सँगको भेट थियो ;जसले उनलाई प्रश्न सोध्ने र सत्य खोज्ने बाटो देखायो ।

सुकरातसँगको भेट जीवनको मोड

 सुकरातसँगको भेटले प्लेटोलाई नयाँ संसार देखायो । सुकरातले सडकमा उभिएर प्रश्न सोधेर सत्य खोज्ने तरिका (सुकरातिक विधि) ले प्लेटोलाई मोहित बनायो । उनी सुकरातको घेरामा घुलमिल भए । तर ई.पू. ३९९ मा सुकरातलाई “युवाहरूलाई भ्रष्ट बनाएको र देवताहरूलाई नमान्ने” आरोपमा मृत्युदण्ड दिइयो ।

यो प्लेटोको जीवनको सबैभन्दा ठूलो पीडा थियो । गुरुको मृत्युले उनलाई गहिरो आघात पुर्‍यायो । उनलाई राजनीतिप्रति वितृष्णा भयो र उनले लेखे: “सुकरातको मृत्युले देखायो कि कुनै पनि सरकार लोकतन्त्र होस् वा तानाशाही दार्शनिक बिना राम्रो हुँदैन ।” यो घटनाले उनलाई दर्शन र शिक्षामा पूर्ण रूपमा समर्पित गरायो ।

जीवनको उतारचढाव : सपना असफलताको रोचक यात्रा

सुकरातको मृत्युदण्डपछि एथेन्स प्लेटोका लागि स्मृतिको बोझ र अन्यायको प्रतीक बन्न पुग्यो। गुरु गुमाएको पीडाले उनलाई भित्रबाट भत्कायो, तर त्यही पीडाले उनलाई ज्ञानको खोजीमा बाहिर धकेल्यो।

सुकरातको मृत्यु (ई.पू. ३९९) पछि प्लेटो एथेन्स छोडेर लामो यात्रामा निस्किए:इजिप्ट, इटाली र सिसिली। यो यात्रा उनको जीवनको सबैभन्दा रोचक, दर्दनाक र रूपान्तरणकारी अध्याय बन्यो।

उनको मुख्य लक्ष्य थियो:आफ्नो प्रसिद्ध अवधारणा “दार्शनिक राजा” लाई व्यवहारमा उतार्ने। सिसिलीका शक्तिशाली तानाशाह डियोनिसियस प्रथम (Dionysius I) को दरबारमा पुगेर प्लेटोले आफ्नो आदर्श राज्यको सपना पूरा गर्ने दुस्साहस गरे। उनी विश्वास गर्थे कि यदि सत्तामा ज्ञान र दर्शनको शासन भयो भने न्याय स्वतः जन्मिन्छ।

तर, सत्ता र सत्यबीचको दूरी निकै ठूलो रहेको अनुभूति उनलाई भयो । पहिलो यात्रा (उमेर करिब ४० वर्ष) मा नै दरबारको बहस चर्कियो र तानाशाह असहिष्णु बने। डियोनिसियसले प्लेटोलाई दास बनाएर बेच्ने योजना बनाए। प्लेटोलाई जेलमा राखियो र एक समय उनी वास्तवमै दास बन्न पुगे। अन्ततः उनका धनी मित्र एनिकेरिसले ठूलो रकम तिरेर उनलाई मुक्त गराए। यो घटना प्लेटोका लागि व्यक्तिगत अपमान मात्र थिएन, यो उनको आदर्शको पहिलो ठूलो पराजय थियो।

हार नमानी उनी फेरि दोस्रो र तेस्रो यात्रामा सिसिली फर्किए । यसपटक लक्ष्य थियो डियोनिसियसका छोरा डियोनिसियस द्वितीय (Dionysius II) लाई दार्शनिक राजा बनाउने। प्लेटोको प्रिय शिष्य डियोन (Dion) को सहयोगमा उनले सत्तालाई ज्ञानसँग जोड्ने प्रयास गरे। तर सत्ता सिक्न चाहँदैन, नियन्त्रण गर्न चाहन्छ भन्ने भान उनलाई पर्‍यो । फेरि दरबारको षड्यन्त्रले प्लेटोको सपना तोडिदियो। उनका प्रिय शिष्य डियोन राजनीतिक खेलमा फसेर मारिए।

यी असफलताहरूले प्लेटोलाई एउटा कठोर सत्य सिकाए; सत्ताको नजिक पुग्नु र सत्तालाई रूपान्तरण गर्नु दुई बिल्कुल फरक कुरा हुन्।

प्लेटोको यो यात्रा असफलताले भरिएको थियो, तर त्यही असफलताले नै उनको दर्शनलाई जीवन्त र अमर बनायो।

यदि उनी सिसिलीमा सफल भएका भए, सायद आज हामी उनलाई मात्र एक राजनीतिक सल्लाहकारका रूपमा सम्झिन्थ्यौं। तर असफलताले उनलाई एउटा यस्तो चिन्तक बनायो, जसले देखाए कि आदर्श केवल शासनमा होइन, मानिसको चेतनामा जन्मिन्छ ।

एकेडेमीको स्थापना शिक्षकको जीवन

थाकेका तर झन् गम्भीर बनेका प्लेटो अन्ततः एथेन्स फर्किए। अब उनी दरबार बदल्न होइन, मानिसको चेतना बदल्न चाहन्थे। त्यसपछि उनले ई.पू. ३८७ मा प्लेटोनिक एकेडेमी स्थापना गरे जुन संसारको पहिलो उच्च शिक्षण संस्था बन्न पुग्यो।

यो संसारको पहिलो उच्च शिक्षण संस्था थियो जसलाई आजको भाषामा “विश्वविद्यालय” भन्न सकिन्छ। एकेडेमीको प्रवेशद्वारमा ठूलो अक्षरमा लेखिएको थियो:

“ज्यामितिशास्त्र नजान्ने कोही पनि यहाँ प्रवेश नगरोस्।”

यो वाक्यले नै एकेडेमीको भावना स्पष्ट पार्थ्यो;यहाँ भावनामा होइन, तर्क, तथ्य र गहिरो अध्ययनमा विश्वास गरिन्थ्यो।

एकेडेमी सामान्य स्कूल जस्तो थिएन। यहाँ कक्षा कोठामा शिक्षकले पढाउने र विद्यार्थीले सुन्ने प्रणाली थिएन। बरु संवाद, प्रश्नोत्तर र छलफलको विधि थियो। प्लेटो विद्यार्थीहरूसँग बसेर प्रश्न सोध्थे, उनीहरूको जवाफ सुन्ने, त्यसलाई चुनौती दिने र सत्यसम्म पुग्ने प्रयास गर्थे। यो सुकरातको प्रश्न सोध्ने तरिकालाई नै अझ व्यवस्थित रूपमा लागू गरिएको थियो।

एकेडेमीमा अध्ययन गर्ने विषयहरू निकै व्यापक थिए; दर्शनशास्त्र, गणित, ज्यामिति, खगोलशास्त्र, संगीत, राजनीति र नैतिकता। यहाँ २० वर्षसम्म प्लेटो आफैं शिक्षक बसे। उनको सबैभन्दा प्रसिद्ध विद्यार्थी थिए अरस्तु, जो पछि आफैं महान् दार्शनिक बने।

प्लेटो भन्थे : “शिक्षा भनेको नयाँ कुरा सिकाउने होइन, बरु आत्माभित्र रहेको ज्ञानको स्मरण गराउने हो।”

उनको लागि शिक्षा भनेको केवल किताबी ज्ञान थिएन, यो जीवनलाई राम्रो बनाउने, समाजलाई न्यायपूर्ण बनाउने र व्यक्तिलाई आफैंभित्रको सत्य बुझ्ने प्रक्रिया थियो। यो संस्थाले पश्चिमी संसारको शैक्षिक इतिहासमा अमिट छाप छोड्यो।

सिसिलीको तीतो अनुभवपछि उनी पूर्ण रूपमा विश्वस्त भएका थिए कि ; सच्चा परिवर्तन सत्ताबाट होइन, शिक्षाबाट आउँछ।

दार्शनिक योगदान प्रमुख विचारहरू

प्लेटोको दर्शनको सबैभन्दा ठूलो र अमर योगदान भनेको रूपको सिद्धान्त (Theory of Forms) हो। उनी भन्थे; हामीले आँखाले देख्ने यो भौतिक संसार सत्य होइन, केवल छायाँ मात्र हो। साँचो, शाश्वत र पूर्ण सत्य भने “रूप” वा “आइडिया” को संसारमा छ।

उदाहरणका लागि, हामीले देख्ने कुनै पनि रूख, घोडा वा सुन्दरता पूर्ण हुँदैन। तर त्यो “रूप” को संसारमा एउटा पूर्ण रूख, पूर्ण घोडा र पूर्ण सुन्दरता अवस्थित छ। हामीले देख्ने सबै कुरा त्यसको अपूर्ण प्रतिबिम्ब मात्र हुन्। यो विचारले पश्चिमी दर्शनको जग बसाएको छ।

प्लेटोको गुफाको उपमासबैभन्दा प्रसिद्ध दृष्टान्त

प्लेटोको सबैभन्दा चर्चित र जीवन्त उपमा हो गुफाको उपमा (Allegory of the Cave)।

कल्पना गर्नुहोस्: केही मानिसहरू जन्मजात अँध्यारो गुफामा बाँधिएका छन्। उनीहरूले पछाडि बलिरहेको आगोको उज्यालोमा पर्खालमा मात्र छायाँहरू देख्छन्। उनीहरूले त्यही छायाँलाई नै सत्य ठानेका हुन्छन्।

एक जना कैदीले आफ्नो बन्धन फुकाएर गुफाबाट बाहिर निस्कन्छ। पहिले घामको उज्यालोले उसलाई अन्धो बनाउँछ, तर बिस्तारै ऊ बाहिरी संसार देख्छ ;रूख, पहाड, घाम र सत्य। ऊ खुशीले गद्गद् हुन्छ र साथीहरूलाई बचाउन गुफाभित्र फर्कन्छ। तर जब ऊ भन्छ “त्यो छायाँ होइन, सत्य यो हो”, साथीहरूले उसलाई पागल ठान्छन् र मार्न खोज्छन्।

यो उपमा आजको नेपालमा अत्यन्त सान्दर्भिक छ। हामी पनि फेसबुक, टीभी, राजनीतिक नारा र अन्धविश्वासको गुफामा बाँधिएका छौं। छायाँ (फेक न्यूज, प्रचार) लाई सत्य ठानिरहेका छौं। जो सत्य खोज्न बाहिर निस्कन्छ, समाजले प्रायः उसलाई पागल, विद्रोही वा खतरा ठान्छ। प्लेटोले २४०० वर्षअघि नै हामीलाई चेतावनी दिएका थिए;सत्य देख्न गाह्रो छ, तर त्यसलाई स्वीकार गर्न झन् गाह्रो।

आदर्श राज्य (The Republic) सामाजिक व्यवस्था

प्लेटोको अर्को महत्त्वपूर्ण योगदान हो आदर्श राज्य को अवधारणा, जुन उनको प्रसिद्ध कृति The Republic मा वर्णन गरिएको छ।

उनले समाजलाई व्यक्तित्वका तीन गुणअनुसार तीन वर्गमा विभाजन गरे:

  • स्वर्ण वर्ग (Gold Class): ज्ञान, बुद्धि र विवेक भएको शासक वर्ग – दार्शनिक राजा। यिनीहरूले राज्यको नेतृत्व गर्छन्।
  • रजत वर्ग (Silver Class): साहस, वीरता र अनुशासन भएको सैनिक/रक्षक वर्ग। यिनीहरूले राज्यको सुरक्षा गर्छन्।
  • ताम्र वर्ग (Bronze Class): इच्छा, मेहनत र उत्पादनसँग सम्बन्धित किसान, मजदुर र व्यापारी वर्ग। यिनीहरूले समाजको आर्थिक आवश्यकता पूरा गर्छन्।

प्लेटोका अनुसार न्याय भनेको प्रत्येक वर्गले आफ्नो काम मात्र गर्नु हो। कुनै वर्गले अर्को वर्गको काममा हस्तक्षेप गर्नु अन्याय हो। उनी भन्थे – “राज्य भनेको व्यक्तिको ठूलो रूप हो। जसरी व्यक्तिको आत्मामा तर्क, साहस र इच्छाको सन्तुलन हुनुपर्छ, त्यसै गरी राज्यमा पनि यी तीन वर्गबीच सन्तुलन हुनुपर्छ।”

कानुनी क्षेत्रमा प्लेटोको योगदान

प्लेटोले कानुन र न्यायलाई दर्शनको मुटुमा राखे। उनी मात्र दार्शनिक थिएनन्, उनी एउटा यस्ता विचारक थिए जसले राज्य कसरी चलाउने, न्याय के हो र नेता कस्तो हुनुपर्छ भन्ने प्रश्नलाई गहिरोसँग उठाए।

उनका मुख्य योगदानहरू निम्न छन्:

दार्शनिक राजा:प्लेटोको सबैभन्दा प्रसिद्ध विचार हो। उनी भन्थे :राज्यको नेता सामान्य व्यक्ति होइन,`दार्शनिक राजा`हुनुपर्छ। उनीमा चार गुण हुनैपर्छ: `सत्यम्, शिवम्, सुन्दरम् र संयम`। केवल ज्ञानी र चरित्रवान् व्यक्तिले मात्र सही न्याय गर्न सक्छ।

न्यायको सिद्धान्त: न्याय भनेको बलवान्को हितमा होइन। न्याय निस्वार्थ ज्ञानबाट जन्मिन्छ। यदि राज्यमा भ्रष्टाचार फैलियो भने त्यो राज्य नष्ट हुनेछ भन्ने उनको चेतावनी आज पनि उत्तिकै सान्दर्भिक छ।

शिक्षा प्रणाली: प्लेटोले शिक्षा लाई राज्यको आधार बनाए। शिक्षा निःशुल्क, दीर्घकालीन र उच्च गुणस्तरीय हुनुपर्छ। उनी भन्थे ;३५ वर्षको उमेरपछि मात्र व्यक्ति राजा बन्न योग्य हुन्छ। शिक्षा साम्यवादी तरिकाले सबैका लागि खुला हुनुपर्छ।

भ्रष्टाचार नियन्त्रण: शासक र रक्षक वर्गले निजी सम्पत्ति र निजी परिवार राख्न हुँदैन भन्ने उनको कठोर विचार थियो। उनी साम्यवादी व्यवस्थाको पक्षमा थिए किनकि निजी स्वार्थले राज्यलाई कमजोर बनाउँछ।

कानुनको सर्वोच्चता: जीवनको अन्तिम कालमा लेखिएको कृति “The Laws” मा प्लेटोले भने;“राज्यमा व्यक्तिको होइन, कानुनको शासन हुनुपर्छ।” हरेक कानुनमा ‘प्रस्तावना’ राखेर नागरिकलाई बुझाउनुपर्छ भन्ने उनको सुझाव आजको कानुनी प्रणालीका लागि पनि महत्वपूर्ण छ।

सन्तुलन शुद्धीकरण: धनी-गरिबबीच सन्तुलन कायम गर्ने, जनसङ्ख्या नियन्त्रण गर्ने र शिक्षा मार्फत् समाजलाई शुद्ध राख्ने उनको विचार थियो।

प्रमुख रचनाहरू

 प्लेटोका रचनाहरू सामान्य किताब जस्ता छैनन्। उनी हरेक कुरा संवाद शैलीमा लेख्थे ।  उनकामुख्य रचनाहरू यस प्रकार छन्:

-The Republic:उनको सबैभन्दा महत्वपूर्ण कृति। आदर्श राज्य, न्याय र दार्शनिक राजाको अवधारणा यसमा समावेश गरिएको छ।

-The Laws:व्यावहारिक कानुन र राज्य व्यवस्थाको बारेमा। यो उनको अन्तिम र अत्यन्त महत्वपूर्ण रचना हो।

-The Symposium: प्रेम र सौन्दर्यको दर्शन।

– Phaedo:आत्माको अमरता र मृत्युको बारेमा।

-Apology:सुकरातको मुद्दा र बचाउ।

अन्य महत्वपूर्ण रचनाहरू: Meno, Gorgias, Timaeus आदि।

प्लेटोको प्रभाव

प्लेटोको सबैभन्दा ठूलो विरासत भनेको “एकेडेमी”हो। यो संस्थाले आधुनिक विश्वविद्यालयहरूको जग बसायो। “एकेडेमी” शब्द नै यहाँबाट आएको मानिन्छ ।

उनको दर्शनले राजनीति, कानुन, शिक्षा, नैतिकता र तर्कशास्त्रलाई शताब्दियौंदेखि प्रभावित गर्दै आएको छ। आजको लोकतन्त्रमा पनि “दार्शनिक नेतृत्व” र “ज्ञानी शासन” को बहस प्लेटोबाट नै सुरु भएको मानिन्छ।

हामीले गणतन्त्र अपनाएका छौं, तर प्लेटोले २४०० वर्षअघि नै प्रश्न गरेका थिए ;“जनताले मात्र शासन गर्नुपर्छ कि ज्ञानी र संयमी व्यक्तिले?” आजका युवाहरूले “प्लेटोको गुफा”बाट बाहिर निस्केर प्रश्न गर्न थाले भने मात्र हाम्रो समाज साँच्चै प्रगतिको बाटोमा जान सक्छ।

प्लेटोका केही प्रेरक भनाइ

 – “सबैभन्दा ठूलो जित आफैंमाथिको जित हो।”

– “जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन।”

– “जीवनलाई खेल जस्तै रमाइलो गरी जिउनुहोस्।”

– “ज्ञान भएको व्यक्ति मात्र समाजको अगुवा बन्न सक्छ।”

यो पनि-

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

सम्बन्धित खवर

ईरान-अमेरिका अस्थायी युद्धविराम : अरब राष्ट्रमा कहिले आउला स्थायी शान्ति ?

ईरान-अमेरिका अस्थायी युद्धविराम : अरब राष्ट्रमा कहिले आउला स्थायी शान्ति ?

हरेक बिहान मोबाइलको स्क्रिन खोल्दा मध्यपूर्वका समाचारहरूले मनमा चिसो डर उत्पन्न गरिरहेका छन्। “के...