नेपालमा बेलाबखत र्यापरले गाएका गीत विवादमा पर्ने गरेका छन् । चाहे भिटेनको गीतमा होस् या बालेन, उनीहरुमाथि अश्लील शब्द प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।
नेपालमा जस्तै भारतमा पनि र्यापरमाथि अश्लीलताको आरोप लाग्ने गरेको छ । पछिल्लो समय २२ लाखको जुत्ता लगाउने चर्चित पञ्जाबी र्यापर आदित्य प्रतीक सिंह सिसोदिया (बादशाह) माथि ‘टटिरी‘ गीतमा महिलालाई अपमानित गर्नेखालका अश्लील शब्द प्रयोग गरेको आरोपमा लागेको छ ।
बादशाहको गीत “टटिरी” मार्च १, २०२६ मा युट्युबमा रिलिज भएको थियो। हरियाणाका विभिन्न भागका मानिसहरूले बादशाहको गीतको विरोध गरेका थिए। विरोध प्रदर्शनपछि, यो गीत मार्च ७, शनिबारदेखि युट्युबबाट हटाइएको थियो ।
बादशाह एक भारतीय र्यापर तथा गायक हुन्। उनको न्वारानको नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनले आफ्नो करियरको सुरुवात हनी सिंहका साथ सन् २००६ देखि गरेका थिए ।
उनले धेरै चलचित्रहरूमा गीत गाएका छन्। उनले हिन्दी, अङ्ग्रेजी, पञ्जाबी र हरयाणवी भाषाहरूमा गीतहरु गाएका छन्। उनले गाएका गीत बलिउड चलचित्रहरूमा पनि समावेश छन्।
टटीरी ( जसको अर्थ एक प्रकारको सानो जलचरो हो) गीतमा र्यापर-गायक बादशाह र हरियाणवी गायिका सिमरन जगलानले अभिनय गरेका छन् । यसका शब्दहरू बादशाहले लेखेका हुन्।
गीतमा स्कूल पोशाक लगाएका केटीहरू नाचिरहेको देखिन्छ।
महिला आयोगको आपत्ति
हरियाणा महिला आयोगले शुरुमा बादशाहलाई बोलाएको थियो । हरियाणा महिला आयोगकी अध्यक्ष रेणु भाटियाले गीतको बारेमा आफैंले ध्यानाकर्षण गर्दै र्यापर बादशाहविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएकी थिइन्।
गीतमा केटीहरूले स्कूलको पोशाक लगाएको र केटीहरूविरुद्ध अनुपयुक्त भाषा प्रयोग गरेको हुनाले महिला आयोगले उनीमाथि कारबाही गरेको भाटियाको भनाइ छ ।
भाटियाले मिडियामा भनेकी छन् ‘हाम्रो पहिलो माग यो थियो कि बादशाहको गीत ‘टटीरी’ युट्युबबाट हटाइयोस् किनभने यो गीतलाई थप प्रचार गर्न सकिँदैन।’

प्रहरी कारबाही
बादशाहविरुद्ध मार्च ६, २०२६ मा पंचकुला साइबर प्रहरी स्टेशनमा एफआईआर दायर गरिएको थियो।
यसै क्रममा हरियाणा प्रहरीले बादशाहविरुद्ध लुक आउट सर्कुलर (LOC) जारी गरेको थियो । LOC सर्कुलर भनेको विदेश जान वा एयरपोर्टमा जान नपाउने गरी जारी गरिने आदेश हो ।
बादशाहलाई प्रहरीसमक्ष उपस्थित हुनसमेत सूचना जारी गरिएको थियो। प्रहरी टोलीले उनलाई पक्राउ गर्न छापा मारेको थियो।
पंचकुला प्रहरीले युट्युबबाट विवादास्पद गीत हटाएको थियो । अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूबाट पनि भिडियो हटाउने प्रक्रिया चलेको थियो। आपत्तिजनक भिडियो सेयर गर्नेहरू विरुद्ध पनि कडा कानुनी कारबाही गरिने भन्दै प्रहरीले सूचना जारी गरेको थियो ।
LOC फिर्ता
यसैबीच प्रहरीले बिहीबार उच्च अदालतको आदेशपछि बादशाहविरुद्द जारी भएको LOC भने फिर्ता लिएको छ । त्यस्तै बादशाहले महिला आयोगको कारवाहीको निर्देशनलाई चुनैती दिँदै दायर गरेको निवेदन पनि खारेज भएको छ ।
हरियाणा प्रहरीले महिला आयोगको आदेशको आधारमा बादशाह अनुसन्धानमा सामेल भइसकेकाले उनी विरुद्ध कुनै कारबाही नहुने बताएपछि न्यायाधीश जगमोहन बंसलले उक्त निवेदन खारेज गरेका हुन्।
आयोगले यसअघि मार्च १३ मा जारी गरिएको समाह्वानको सम्बन्धमा बादशाह विरुद्ध एफआईआर दर्ता गर्न र उनलाई पक्राउ गर्न पानीपतका प्रहरी अधीक्षकलाई निर्देशन दिएको थियो।
अदालतलाई जानकारी गराइएको थियो कि बादशाह विरुद्ध पंचकुलाको साइबर अपराध प्रहरी चौकीमा महिलाको अश्लील प्रतिनिधित्व (निषेध) ऐन, १९८६ को धारा ३ र ४ र भारतीय दण्ड संहिता (आईपीसी) को धारा २९६ (अश्लील कार्य र गीत) अन्तर्गत दण्डनीय अपराधहरूका लागि एफआईआर दर्ता गरिएको छ।
उनको विरुद्ध जारी गरिएको लुक आउट सर्कुलर (LOC) पनि फिर्ता लिइएको रिपोर्ट गरिएको थियो। यसपछि, बादशाहको प्रतिनिधित्व गर्ने वकीलले उनको निवेदनलाई थप अगाडि नबढाउने निर्णय गरेपछि निवेदन खारेज गरिएको हो ।
बादशाहको तर्फबाट वरिष्ठ अधिवक्ता प्रदीप विर्क, अधिवक्ता अक्षय कुमार दहिया र कमल जिन्दल उपस्थित थिए । हरियाणा राज्यको प्रतिनिधित्व अतिरिक्त महाधिवक्ता रविश कौशिकले गरेका थिए।
पंचकुला साइबर प्रहरी स्टेशनमा दर्ता गरिएको एफआईआर अनुसार, ‘टेट्टीरी’ को सामग्रीको भारतीय दण्ड संहिता (आईपीसी) को धारा २९६ र महिलाको अश्लील प्रतिनिधित्व ऐन, १९८६ को धारा ३ र ४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
पंचकुलामा दर्ता गरिएको एफआईआर अनुसार, “गीतले स्कूल र छात्राहरूलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रयास गरेको छ, जसले युवाहरूमा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले, गीत तुरुन्तै हटाइनुपर्छ र बादशाह विरुद्ध कडा कारबाही गरिनुपर्छ।”
रेणु भाटियाले भनिन्, “एकातिर हामी महिला दिवस मनाइरहेका छौं र अर्कोतिर आज पनि केही गायिकाहरू छन् जसले आफूलाई आधुनिक भन्छन्, उनीहरू महिला विरुद्ध आपत्तिजनक गीत लेख्छन् र गाउँछन्। यो धेरै दुर्भाग्यपूर्ण छ।”

बादशाहले मागे माफी
गीतमा भएको विवादपछि, बादशाहले स्पष्टीकरण जारी गर्दै कुनै पनि बच्चा वा महिलाको बारेमा नराम्रो बोल्ने उद्देश्य नरहेको स्पष्टीकरण दिए ।
“टेटरी” गीतको विवादपछि बादशाहले माफीसमेत मागेका छन्। उनले गीत सबै प्लेटफर्महरूबाट हटाइएको सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा जनाएका छन् ।
र्यापर बादशाहले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन् जसमा उनले भनेका छन्, “हरियाणाका कुनै पनि महिलाका बारेमा यस्तो बकवास भन्ने मेरो उद्देश्य थिएन। म हिप-हप विधासँग सम्बन्धित छु, जहाँ गीतका शब्दहरू प्रतिद्वन्द्वीहरूका लागि हुन्, कुनै पनि महिला वा बच्चाका लागि होइन।”
बादशाहले भनेका छन्, “म आफैं हरियाणाबाट हुँ, मेरो पहिचान हरियाणासँग छ। मैले सधैं हरियाणाको संस्कृति र बोलीलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरेको छु।”
बादशाहले अगाडि भनेका छन्, “तर यदि गीतको त्यो भागबाट कसैलाई चोट पुगेको छ भने, म तपाईंहरू सबैसँग हृदयदेखि नै माफी चाहन्छु। मलाई आशा छ कि तपाईंले मलाई हरियाणाको छोरा सम्झेर, आफ्नो छोरा सम्झेर माफ गर्नुहुनेछ।”
ताजा अपडेट
विदेशी लगानी तथा प्रविधि हस्तान्तरणबारे जानिराखौँ
७ वैशाख २०८३प्राइभेट-पब्लिक कम्पनीको स्वरूप र रूपान्तरणको बाटो
७ वैशाख २०८३
