महिला, दलित र गरीबको पक्षमा बोल्दिने को ?

१४ वैशाख २०८३

महिला, दलित र गरीबको पक्षमा बोल्दिने को ?

काठमाडौँ । पाठकवृन्द ! जस नेपालमा साप्ताहिक आलेखको दोस्रो श्रृंखलामा म तीनवटा घटनामाथि चर्चा गर्नेछु । यी घटना ‘न्यायिक मन’सँग जोडिएका मनोवैज्ञानिक विषय हुन् ।

पहिलो– काठमाडौँको गोंगबुस्थित एक होटलमा दुई वर्षअघि मृत भेटिएकी एक महिलाको प्रशंग ।

दोस्रो– भर्खरै प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका सिन्धुलीका दलित युवकको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्माहरुमाथि भइरहेको गालीको वर्षा ।

र, तेस्रो– सुकुमबासी बस्तीमा चलेको बालेन सरकारको डोजर ।

पहिलो प्रशंग शुरु गरौं गोंगबुको घटनाबाट ।

महिलामाथि ‘मत्स्य न्याय’

घटना २०८१ साल बैशाखको हो, गोंगबुको एउटा होटलमा एकजना युवती मृत अवस्थामा भेटिइन् । उनलाई काठमाडौँ निवासी एक पुरुषले बोलाएर होटलमा लगेका थिए । राति उनीहरु एउटै कोठामा बास बसेका थिए । तर, बिहान उज्यालो नहुँदै युवती बाथरुमभित्र लासमा परिणत भइन् ।

ती युवती कस्ती थिइन् ? उनको चरित्र के थियो ? उनी विवाहित थिइन् या अविवाहित ? पुरुषले बोलाउँदा त्यसरी होटलमा किन पुगिन् ? एउटा लासको सामुन्ने यी नितान्त गौण प्रश्नहरु हुन् ।

मुख्य प्रश्नचाहिँ के हो भने उनी एट्याच बाथरुमभित्र कसरी राति नै मृत अवस्थामा पुगिन् ? उनको शरीरमा चोट कसरी लाग्यो ? यसरी लास भेटिइसकेपछि राति एउटै कोठामा सँगै बसेका पुरुषमाथि मिहीन ढंगबाट अनुसन्धान हुनुपर्छ कि पर्दैन ? योचाहिँ मुख्य प्रश्न थियो । मान्छे मरिसकेपछि उसको चरित्रमाथि प्रश्न उठाउनुभन्दा पहिले उसको मृत्युको रहस्यमाथि प्रश्न उठाइनुपर्छ । किनभने, कसैको पनि मृत्यु यत्ति सस्तो हुनु हुँदैन ।

मृतक युवती काठमाडौँ बाहिरकी थिइन् । कोठामा बोलाएर रात बिताउने पुरुष काठमाडौँका रैथाने थिए । घटनापछि चक्रपथ प्रहरीले पुरुषलाई कोठाबाटै पक्राउ गर्‍यो र हिरासतमा लियो ।

तर, जब केटी पक्षका आफन्तहरु किटानी जाहेरी दर्ताका लागि प्रहरी कार्यालयमा पुगे, प्रहरीले पीडितमैत्री व्यवहार देखाएन । प्रहरीको हाऊभाऊ हेर्दा मान्छे मरेको हो कि कुखुरा मरेको हो जस्तो स्थिति देखिन्थ्यो । उनीहरुमा गम्भीरता पटक्कै देखिँदैनथ्यो । मृतक परिवारप्रति प्रहरीमा कुनै सहानुभूतिभाव पनि देखिन्नथ्यो । मृतकका आफन्तहरुलाई यस्तो महसुस भयो कि प्रहरीले यो घटनाप्रति खास वास्ता गरिरहेको छैन ।

‘पहिलो यो आत्महत्या हो कि भनेर पोष्टमार्टम रिपोर्ट हेर्नुपर्छ, आत्महत्या रहेनछ भने मात्रै केस चल्छ’ प्रहरी अधिकारीहरुको कुरा सुन्दा उनीहरु अनुसन्धानमा ‘हुम्यान इन्टिलिजेन्स’ भन्दा पनि पोष्टमार्टम रिपोर्ट कुरिरहेका छन् । पुरुषमाथि जे अनुसन्धान गर्नुपर्ने हो, त्यही रिपोर्टले गर्छ भनेजस्तो देखिन्थ्यो । यता, पीडित पक्षलाई भने कतै रैथाने पुरुषले काठमाडौँको पहुँच प्रयोग गरेर यो घटनालाई यत्तिकै सामसुम पो पारिदिने हो कि ?

आखिर भयो पनि त्यस्तै । यो घटना त्यतिकै डिसमिस भयो । थुनामा रहेका पुरुष केही दिनमै छुटे । मान्छे मरेको र कुखुरा मरेको एउटैजस्तो भयो । मृतकका आफन्तले सहनुको विकल्प रहेन । चुपचाप सहे ।

तर, यो घटना यतिमै सिद्धिएन ।

गोंगबुको होटलमा युवती मृत अवस्थामा भेटिएको खबर प्रहरी स्रोतलाई उधृत गर्दै काठमाडौँका विभिन्न मिडियामा प्रकाशित भयो । समाचारमा जनाइएको थियो कि युवती एक सन्तानकी आमा हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् । उनी छोराछोरी पढाएर काठमाडौंमा बस्दै आएकी थिइन् ।

मिडियामा यस्तो खबर आएपछि सिंगो सामाजिक सञ्जाल हुँडार जसरी मृतक युवतीमाथि खनिन थाल्यो ।

‘ती महिला नै उस्ती रहिछन्, श्रीमान विदेशमा रहेका बेला यहाँ परपुरुषसँग मोज गर्नेलाई ठिक्क परेछ, यस्ता चरित्रहीन महिला त मरेकै बेस !’ यस्ताखालका अनेकन कमेन्टहरु सामाजिक सञ्जालमा भाइरल बन्न थाले । सामाजिक सञ्जालका कमेन्टहरु देखेर मृतकका आफन्त डिप्रेसनमा जाने स्थिति सिर्जना भयो ।

एकातिर प्रहरीले घटनाको चित्तबुझ्दो अनुसन्धान गरेन, अर्कोतिर सामाजिक सञ्जालले पुरुषको साटो महिलालाई अपराधी करार गर्न थाल्यो । न हत्या, न त आत्महत्याको दुरुत्साहन, केहीमा पनि मुद्दा चलेन ।

न्याय र अन्याय छुट्याउने नेपाली समाजको नजर कति विभेदपूर्ण, अविवेकी र पुरुषवादी बनेको छ भन्ने उदाहरण हो यो दुई वर्षअघिको घटना । समाजले पुरुषलाई चाहिँ पटक्कै दोषी नदेख्ने तर महिलाको ‘चरित्र’माथि प्रश्न उठाउँदै मृतात्मालाई समेत दोषी करार गरेर घृणा फैलाउने यस्तो प्रवृत्ति देखियो ।

कुनै व्यक्तिको चरित्रमाथि प्रश्न उठाएर उसलाई मारिनु ठीक छ भन्नु भनेको आपराधिक दृष्टिकोण हो । बाँच्ने पाउने हक हरेक मानिससँग हुन्छ ।

उक्त घटनाबारे यत्ति भनौं–

अविवाहित वा विवाहित जुनसुकै महिलालाई बोलाएर कुनै पुरुषले होटलमा लैजान्छ, राति कुटपिट भएको नीलडामसमेत देखिन्छ र ती महिला राति नै बाथरुममा मृत भेटिन्छिन्, त्यस्तो अवस्थामा महिलाको चरित्रमाथि प्रश्न उठाउने हो या ती पुरुषमाथि गहिरो छानविनको माग गर्नुपर्ने हो ? सामाजिक सञ्जालमा ती पुरुषमाथि चाहिँ प्रश्न गर्नुपर्ने हो या मरिसकेकी महिलामाथि खनिनुपर्ने हो ?

शंकास्पद मृत्युको घटनामा पुरुषले जे गरे, ठीकै गरे भन्दै सामाजिक सञ्जालमा ‘बुलिङ’ गर्न मिल्छ ? नारीलाई देवता मान्ने नेपाली समाजले बोल्नुपर्ने यस्तै हो ? मारिएकी ती महिलाको पक्षमा बोलिदिने को ? मृतकको परिवारलाई सहानुभूति दिने कसले ? घटनाको निष्पक्ष छानबिन गर भनेर प्रहरीलाई दबाव कसले दिने ?

अन्ततः ती युवतीको रहस्यमय मृत्यु नेपाली समाजका लागि मूल्यहीन ठहरियो । उनलाई न प्रहरीले न्याय दियो, न समाजले । उनले समाजको नजरमा जति गल्ती गरेकी थिइन्, त्योभन्दा भयंकर ठूलो सजाय भोगिन् । प्रार्थना गरौं– ती महिलाको मृतात्माले अब भगवानको अदालतमा न्याय पाओस् !

यो आलेख तयार पारिरहँदा सोमबार माइतीघरमा शोभा पाठक कुटिएकी छन् । उनीसँगै माइतीघरमा धर्ना बसेकी महिला रश्मिला धामी पनि पिटिइन् । बलात्कारीलाई कारबाही हुनुपर्ने माग गर्दै धर्ना बसेका बेला यसअघि पनि धामीमाथि कुटपिट र लछारपछार भएकमो थियो।

जुनसुकै बाहनामा भए पनि महिलामाथिको यस्तो व्यवहार क्षम्य र स्वीकार्य हुँदैन । यहाँनेर हामीले स्मरण गर्न आवश्यक छ– जुन घरमा नारी खुशी हुँदिनन्, त्यो घर नर्कजस्तै हुन्छ । अर्थात्, यसो पनि भन् सकिन्छ– जुन देशमा नारीले न्यायको अनुभूति गर्दैनन्, त्यो देश सुखी र खशी रहन सक्दैन ।

दलितमाथि दलेको दल्यै !

सामाजिक सञ्जालमा महिलाको जस्तै रक्षात्मक स्थिति दलितहरुको पनि छ । दलित समुदायले आफ्नो हक अधिकारका विषयमा केही बोल्यो कि सामाजिक सञ्जालमा उनीहरुमाथि चर्को विरोध सुरु भइहाल्छ । उच्च जातीय अहंकारवादको प्रदर्शन हुन थालिहाल्छ । पछिल्लो समय यसको शिकार सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्माहरु बनेका छन् ।

हिरासतमा एकजना दलित युवाको रहस्यमय मृत्यु भएको विषयमा छानविनको माग गर्दै सांसद सुनार र विश्वाकर्माहरुको टोली यसै साता सिन्धुली पुगेको थियो । त्यहाँ बोल्ने क्रममा सांसद सुनारले एसपीले जिब्रो चपाइरहेको र हात काँपिरहेको भन्दै उनलाई थुतेर सडकमा ल्याउने चेतावनी दिएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सुनारमाथि सामाजिक सञ्जालमा गालीको बर्षा नै भयो ।

हो, सांसद सुनारले प्रहरीलाई सडकमा निकालेर घिसार्ने कुरा गर्नु पदीय मर्यादाविपरीत कार्य नै थियो । उनको त्यो अभिव्यक्तिलाई समर्थन गर्न मिल्दैन । तर, उनले प्रहरीविरुद्ध किन त्यस्तो आक्रोश पोखे ? त्यसका पछाडिको भित्री कारण के थियो ? यतातर्फ भने समाजले सोचेन । यो घटनामा पनि गैरदलित किशोरीसँग प्रेम गरेबापत प्रहरी हिरासतमा थुनिएका एक दलित युवाको ज्यान गएको विषयमा समाजिक सञ्जालमा एक थोपा आँशु नखस्नु बिडम्बना नै हो । ती दलित युवकको परिवारले न्याय पाउनुपर्छ भन्ने सांसद खगेन्द्र र रिमाहरुलाई समाजले गलत देख्यो, तर प्रहरीमाथि छानविन हुनुपर्छ भन्ने माग चाहिँ गैरदलितहरु कतै उठाएको देखिएन ।

यो पनि-

बालेन होसमा आऊ, जनतालाई अत्याचार नगर

३ लाख परिवारमाथि डोजर लगाउन सम्भव छ ?

सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्माहरुलाई आक्रोशित बनाएर सिन्धुली प्रहरी कार्यालयमा पुर्‍याउने घटना के थियो, एकचोटि सेतोपाटीमा प्रकाशित समाचार पढौं–

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण बिकलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ ।

श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए ।

ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए । ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए ।

त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो ।

ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो ।

श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए ।

सिन्धुलीमा प्रहरी हिरासतमै एक युवकको मृत्यु भएपछि उनका आफन्त चार दिनदेखि आन्दोलित छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए । उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी सुवेदीले बताए ।

आफन्तहरूले भने हिरासतमा प्रहरीको कुटपिटबाट श्रीकृष्णको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू चार दिनदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आएका छन् ।

छानबिनको माग गर्दै शव बुझ्न नमानेपछि वैशाख ८ गते नै छानबिन समिति गठन भइसकेको छ । आफूहरू घटनाबारे छानबिन गरिरहेको र प्रक्रियामा रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए । ‘यस घटनामा हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। छानबिनपछि तथ्य बाहिर आउँछ,’ उनले भने ।

श्रीकृष्ण वैशाख ३ गते ललितपुरमा पक्राउ परेका थिए । उनीमाथि १७ वर्षीया बालिका बलात्कारको आरोप थियो । ती बालिका र श्रीकृष्णले भने प्रेम विवाह गरेको परिवारको भनाइ छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार जाहेरीअनुसार घटनास्थल खुर्कोट भएकाले थप अनुसन्धान प्रक्रियाका लागि सिन्धुली प्रहरीसँग समन्वय गरेर श्रीकृष्णलाई त्यता पठाइएको थियो । ‘हामीले जाहेरी दर्ता भएपछि पक्राउ गरेर सक्कली जाहेरीसहित आरोपितलाई ४ गते नै खुर्कोट पठाएका हौं,’ उनले भने, ‘त्यसपछि के भयो हामीलाई थाहा छैन।’

बैशाख ४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको थियो ।

श्रीकृष्णको परिवार र आफन्तको भनाइ भने फरक छ ।

उनीहरूले अन्तरजातीय विवाह गरेकै कारण श्रीकृष्णमाथि बलात्कार आरोप लगाइएको बताएको दाबी गरेका छन्। र, नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्।

श्रीकृष्णसँगै ललितपुरमा बस्दै आएका उनका भाइ उमेशसँग पनि घटनाबारे कुरा गरेका छौं ।

उमेशका अनुसार श्रीकृष्ण ड्राइभर पेसा गर्दै आएका थिए । खोटाङकी किशोरी पनि उनीहरूको डेरा नजिकै बस्थिन् । सोही क्रममा श्रीकृष्ण र किशोरीबीच प्रेम बसेको थियो । दुई वर्षदेखिको प्रेम सम्बन्धपछि उनीहरूले चैत २८ गते विवाह गरेका थिए ।

‘विवाह गरेँ भनेर उहाँले २८ गते डेरामा ल्याउनुभएको थियो,’ उमेशले भने।

त्यसको २ दिनमै उनीहरू सिन्धुलीस्थित घर गएका थिए ।

‘परिवारसँग पनि उहाँ (किशोरी)ले राजीखुशीले आएको बताउनुभएको थियो,’ उमेशले भने।

उमेशकै अनुसार ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएका थिए । उनीहरू दिउँसै काठमाडौं आइपुगेका थिए ।

प्रहरीले ५ बजेतिर आउनू भनेको उमेश बताउँछन् । ‘हामी कार्यालय पुग्दा किशोरीको परिवार पनि त्यहाँ आउनु भएको थियो,’ उनले भने,‘प्रहरीले सोधपुछ गर्‍यो। किशोरीले आफ्नो खुशीले गएको भन्नुभयो।’

उनका अनुसार सुरूवातमा प्रहरीले बालबिवाह कसुरमा श्रीकृष्णमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेपछि त्यसो नगर्न किशोरीले आग्रह गरेकी थिइन्। पछि प्रहरीले नै कानुनले तोकेको उमेर पूरा नभएकाले तत्कालका लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्न भनेको उमेश बताउँछन् ।

झन्डै २ घन्टा छलफल भएको थियो । २ वर्षका लागि अलग हुँदा दाइलाई मुद्दा नचल्ने भएपछि किशोरी पनि राजी हुनुभयो,’ उनले भने ।

तर, किशोरीको काका आइपुगेपछि घटनाले अर्कै मोड लिएको उमेशको भनाइ छ । उनी त्यसै छाड्न हुन्न भन्दै कराउँदै आएको र प्रहरीसँग कुरा गरेको उनले बताए। उनी आएपछि प्रहरीले आफूहरूलाई पनि भित्र जान नदिएको उमेश बताउँछन्।

दुवै पक्षबीच सहमति भइसकेपछि राती साढे ९ भएपछि प्रहरीले श्रीकृष्णलाई तत्काल छाड्न नमिल्ने भन्यो। र आफूलाई भोलिपल्ट ९ बजे आउनू भनेर फर्काइदिएको उमेश बताउँछन्।

‘दाइलाई सातदोबाटो प्रहरी कार्यालयमा राखेको जानकारी आफन्तहरूलाई गराएपछि भोलिपल्ट ८ बजे हामी सातदोबाटो प्रहरी कार्यालय पुग्यौं,’ उमेशले भने, ’हामी पुग्दा प्रहरीले दाजुलाई खुर्कोट पठायौं भन्नुभयो।’

त्यसपछि किशोरीलाई सम्पर्क गर्न खोजे पनि उनको फोन लागेन। आफन्तहरूसहित आफू त्यहीदिन गाउँ फर्किएको उनी बताउँछन्।

‘खुर्कोट आएर बुझ्दा पो दाजुलाई बलात्कार आरोप लागेको थाहा भयो,’ उनले भने।

त्यसपछि आफूले किशोरीसँग पनि कुराकानी गरेको उनले बताए। ‘त्यतिबेला दाजुलाई प्रहरीलाई नियन्त्रणमा लियो भन्दा उहाँ पनि छक्क पर्नुभो। उहाँलाई दाइ छुट्नुभयो भनिएको रहेछ।’

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी मिश्रले जाहेरी अनुसार नै प्रक्रिया अगाडि बढाइएको बताए।

‘नाबालिगले आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि उसले विवाह गरेको हो कि होइन भनेर प्रहरीले हेर्दैन,’ उनले भने।

खुर्कोट प्रहरीले पक्राउ गरेदेखि नै आफूहरूको केही पनि कुरा नसुनेको उनी बताउँछन्।

‘त्यसैले उनीमाथि कुटपिट भयो भन्ने हाम्रो धारणा हो। होइन भने झुण्डिएर मृत भेटिएको ठाउँको सिसिटिभी भिडओ सार्वजनिक गर् भन्ने हाम्रो माग हो,’ उनले भने।

उनका परिवारले शवको पोस्टमर्टम गर्न नमानेपछि जिल्ला प्रशासन कार्यालय सहायका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।

(स्रोत : सेतोपाटी डटकम)

रीमा र खगेन्द्रमाथि खनिनेहरुमाथि प्रतिप्रश्न

जसले खगेन्द्र सुनुवार र रिमा विश्वकर्माहरुलाई गाली गरिरहेका छन्, उनीहरुमाथि तलका प्रश्नहरु सोझिन्छन्–

पहिलो प्रश्न– तपाईहरुको विचारमा प्रहरी हिरासतमा दलित युवकको मृत्यु भएको विषय गम्भीर हो कि खगेन्द्रले पोखेको आक्रोशचाहिँ गम्भीर हो ? यो घटनामा प्रहरीमाथि छानविन र कारबाही हुनुपर्छ कि पर्दैन ? दलितको ज्यानभन्दा प्रहरीको सम्मान ठूलो हो ?

जबकि, प्रहरी हिरासतको ढोकामा मध्यरातमा समेत २४ सै घण्टा गार्ड तैनाथ हुनुपर्छ । हिरासत हेर्ने क्वार्टर माष्टर पनि अहोरात्र खटिएको हुनुपर्छ । त्यस्तो रातदिन ढोका अगाडि प्रहरी खटिने ठाउँमा कोही बन्दीले झुण्डिएर आत्महत्या गर्दैछ भने डुयुटीमा बसेको प्रहरीले के हेर्‍यो ?

दोस्रो प्रश्न– श्रीकृष्ण विश्वकर्मामाथि केटीपक्षले बलात्कारको आरोप लगाएर जाहेरी दिएको छ । उनी मरेर गइसकेका छन् । तर, के उनी बलात्कारी नै थिए त ? कि २० वर्ष नपुगेकी किशोरीसँग प्रेमविवाह गरेपावत ‘बालविवाह’का मात्र दोषी थिए ?

दिनभरि ‘रोमियो जुलियट प्रेम’ का विषयमा दुईपक्षीय छलफल गरेको सातदोबाटो प्रहरीले साँझ बलात्कारको जाहेरी कसरी बुझ्यो ? यसबारे प्रहरीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ कि पर्दैन ? श्रीकृष्ण त मरेर गइहाले, तर उनको परिवारले आफ्नो सदस्य बलात्कारी थियो कि थिएन भनेर जान्ने अधिकार पाउने कि नपाउने ? जसले जति अपराध गरेको हो, त्योभन्दा बढ्ता सजाय गर्न मिल्छ र ?

तेस्रो– दलित होस् या गैरदलित, हिरासतमा लिएको व्यक्तिको सुरक्षा गर्नु प्रहरीको दायित्व हो । त्यसर्थ, यो घटनामा सम्बन्धित प्रहरी कार्यालयका हाकिम र कर्मचारीहरुमाथि कारवाही हुनुपर्छ कि पर्दैन ? यसबारे समाजले प्रश्न उठाउनुपर्नेमा रास्वपाका सांसद खगेन्द्र सुनार ररिमा विश्वकर्मालाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा गाली गरिएको देखिन्छ । यो घटनाले नेपाली समाजको नश्लमै अहिलेसम्म ‘जातिवाद’ छ भन्ने त देखाएको छ नै, एउटा सामान्य ट्याक्सी चालक प्रहरी हिरासतमा मर्दा कुखुरा मरेसरह ठान्ने संवेदनाहीन समाजको ऐना पनि देखिएको छ ।

जस्तोसुकै अपराध गरेको वा जुनसुकै जातको मानिस भएता पनि प्रहरी हिरासतमा उसको जिऊ ज्यानको सुरक्षा गर्न नसक्नु प्रहरीको हेलचेक्र्याइँ हो । त्यस्ता प्रहरीमाथि कडा कारबाही हुनैपर्छ । यो, दलितको विषय मात्र होइन, नागरिकको जीवनको सुरक्षाको विषय हो ।

यस प्रकरणमा सांसद खगेन्द्र र रिमाहरुले जसरी सिन्धुलीसम्म पुगेर आवाज उठाए, उनीहरु धन्यवादका पात्र हुन् । जनताका प्रतिनिधिले यसैगरी न्यायको पक्षमा आवाज उठाउनुपर्छ । प्रशासनले टेरेन भने राजनीतिज्ञले थर्काउनु पनि पर्छ । आवश्यक पर्‍यो भने अन्यायका विरुद्धमा क्रान्तिसमेत गर्नुपर्ने हुन्छ ।

सामन्तवादको अवशेष, राज्यको श्वेत आतंक

अब चर्चा गरौं, सुकुमबासी बस्तीमा चलेको बालेन सरकारको डोजरको ।

देशैभरिका सुकुमबासी बस्तीमा डोजर चलिरहँदा काठमाडौँका धनीमानीहरुमा एक तमासको खुशियाली देखियो । सामाजिक सञ्जालमा पनि देश विदेशमा रहेका गैरसुकुमबासी एवं मध्यम वर्गका मानिसहरुले बालेन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्रीको कथित ‘बहादुरी’को मुक्तकण्ठले प्रशंशा गरे । अब देश सुन्दर र हराभरा बन्छ भन्दै उनीहरुले बालेन सरकारको अभियानलाई सबैले सघाउनुपर्ने बताए । उता, देशैभरिका गरीबहरुको भने भोक र निद्रा हराएको स्थिति देखा परेको छ ।

डोजरको पक्षमा तर्क गर्नेहरुको भनाइ यस्तोसम्म सुनियो– सरकारी जग्गा मिचेर घर बनाएकाहरुमाथि यसैगरी डोजर चलाउनैपर्थ्यो, बालेन सरकारले ठीक गर्‍यो । सुकुमबासीसँग आइफोन ? पक्की घर ?सुनको सिक्री ? यिनीहरु त हुकुमबासी पो रहेछन्, सरकारले डोजर हानेर ठीक गर्‍यो । सुकुमबासी र हुकुमबासी छुट्याउनुपर्छ अनि हुकुमबासीहरुलाई कारवाही गर्नुपर्छ । डोजरको विरोध गर्नेहरु कांग्रेस, एमाले र माओवादीका झोलेहरु हुन्, विकासविरोधी हुन्, यिनीहरुलाई ठीक पार्नुपर्छ, बालेन सरकारको जय होस् । आदि–इत्यादि ।

आखिर, बालेन सरकारले चलाएको डोजरका सन्दर्भमा सही दृष्टिकोण कसरी बनाउने ? के सरकारले गरेको काम ठीक छ ? यसबारे बुँदागत रुपमा आफ्ना कुराहरु राख्न चाहन्छु–

एक– विगतमा काठमाडौँको मेयर भएकै बेला बालेन्द्र शाहले सुकुमबासी बस्तीमा डोजर लगाउन चाहेका थिए, त्यसको प्रतिरोध भएकाले उनी सुकुमबासीहरुसँग बदला लिन चाहन्थे । अहिले उनले भूइँतहका गरीबमाथि सिंगै राज्यसत्ताको दुरुपयोग गरेर बदला लिए । गरीबविरुद्ध उनले देशव्यापी युद्ध नै छेडे । यो बालेन्द्र शाहको बदलाको राजनीति हो । उनीभित्र केपी ओलीमा भन्दा जब्बर बदलाभाव देखिएको छ । गरीब बस्ती उनका लागि सहानुभूति देखाउने ठाउँ नभएर फोहोरजत्तिकै घृणा गर्ने थलो बन्न पुगेको छ ।

दुई– सरकारका समर्थकहरुले अहिले ज–जसलाई ‘हुकुमबासी’ भनिरहेका छन्, यी मानिसहरु सरकारी जमिनमा ओत लागेका गरीबहरु नै हुन् । धनीमानीहरु ढलको गन्ध आउने नदी किनारमा एक रात पनि बास बस्न सक्दैनन् । त्यसैले सरकारले ज–जसको घर भत्कायो, तिनीहरु शहरका गरीब र उत्पीडित वर्गमा जनता हुन् । चाहे बुटवलमा होस् चाहे काठमाडौंमा, घर भत्किएकाहरु शहरिया गरीब हुन् । यसमा एकाध व्यक्ति अपवाद हुन सक्लान् । अपवादलाई हेरेर सबैलाई हुकुमबासी भन्नु न्यायसंगत हुँदैन ।

यो डोजर काण्डले के स्पष्ट पारेको छ भने बालेन सरकार सामन्तवादको पछिल्लो अवशेष रहेछ, जसले गरीबहरुको भूमि अधिकारमाथि अत्याचार गरेको छ । राज्यकै तर्फबाट जनतामाथि जमिन्दारले गर्ने व्यवहार गरियो । सरकारको यो हर्कतले संविधान, लोकतन्त्र, मौलिक हक र मानवअधिकारको बर्खिलाप भएको छ । जनतामाथि अन्याय र अत्याचार भएको छ । संविधानले दिएको आवासको हक, सम्पत्तिको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र जिविकोपार्जन गर्न पाउने हकहरुको उल्लंघन भएको छ । सरकारले मौलिकहकहरुको बर्खीलाप गरेको छ ।

तीन– यो डोजर काण्ड स्वयं रास्वपाकै वाचापत्र र सरकारको सयबुँदे कार्ययोजनाको बर्खिलापमा छ । रास्वपाका नेताहरु एकथोक बोल्छन् तर अर्कैथोक गर्छन् भन्ने यसले देखाएको छ र सिंगै देशभरिका गरीब जनतामाथि स्वेत आतंक मच्चाउने काम भएको छ ।

निर्वाचनअघि रास्वपाले सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई के भनेको थियो ? के बाचा गरेको थियो ? उसले भनेको थियो, उच्चस्तरीय भूमि प्राधिकरण बनाएर सक्कली सुकुमबासीको पहिचान गरिने छ । तपाईहरुको थातबासमा डोजर चल्यो भने म आफैं आएर छाती थाप्ने छु भनेर रास्वपा सभापति रवि लामिछानेले भनेका थिए । बालेन्द्र शाहले ६० दिनभित्रमा छानबिन र स्क्रिनिङ गर्ने भनेका थिए । तर, जनताले आफ्नो सामानसमेत निकाल्ने समय नदिई अघिल्लो दिन माइकिङ गरेर भोलिपल्टै बल प्रयोग गरी छाप्राहरु ढाल्ने काम भयो । वाचा एकातिर, व्यवहार अर्कातिर भयो । त्यसर्थ, यो डोजर काण्ड भनेको रास्वपाले आफ्नै मतदातामाथि गरेको धोखाधडी हो, गद्दारी हो।

चार– सरकारले मच्चाएको डोजर आतंकले संविधानको मात्र होइन, विद्यमान कानूनको समेत उल्लंघन गरेको छ । भूमि ऐन २०२१ को दफा ५२ ले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन भूमि आयोगमार्फत गरिने कार्यदिशा तय गरेको छ । त्यही कानून अनुसार विगतमा तत्कालीन बालेन्द्र शाहले भूमि आयोगसँग सम्झौता पत्रमा हूताक्षर समेत गरेका थिए । तर, सरकारले भूमि ऐनको दफा ५२ को व्यवस्थालाई लत्याउँदै राज्य आतंक सिर्जना गरेको छ, जुन विद्यमान कानूनको घोर उल्लंघ हो ।

यिनै चारवटा कारणले गर्दा सरकारले चालेको यो कदम संविधानविपरित, कानूनविपरीत, मानवअधिकार विपरीत र जनविरोधी साबित हुन पुगेको छ ।

सरकारले सार्वजनिक एवं सरकारी जमिनको संरक्षण गर्नुपर्छ तर त्यसको प्रक्रिया र विधि सही हुनुपर्छ । उद्देश्य मात्रै सही भएर हुँदैन, प्रक्रिया पनि सही हुनुपर्छ । लोकतन्त्र भनेको सिद्धान्त मात्र होइन, प्रक्रिया पनि हो । जस्तोसुकै सही नियत बोकेर हिँडे पनि नर्क जाने बाटोले स्वर्गमा पुर्‍याउँदैछ ।

अब के होला ?

बैशाख १२ को भूकम्प दिवसकै दिन सुकुमबासीमा चलेको डोजरले अब देश हराभरा र सुन्दर हुन्छ भन्ने ज–जसले सोचेका छन्, आगामी दिनहरु त्यस्तो हुने देखिँदैन । जसको घर भत्कियो, तिनीहरु ‘हुकुमबासी’ नै थिए भने पनि अब सुकुमबासीमा परिणत हुनेछन् । गरीबहरु झन् गरीब बन्नेछन् । उनीहरुका छोराछोरीको पढाइ बिग्रने छ । युवाहरुमा डिप्रेसन पैदा हुनेछ । राज्यले अब अतिरिक्त भार बोक्नुपर्ने छ । देशमा रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने रास्वपाको बाचा अब खोलैखोला बग्ने छ ।

काठमाडौँमा कोठा भाडा असाध्यै महंगो छ । घरबेटीहरुको पक्षधर रहेको सरकारले भाडा नियन्त्रणको कुनै कानून ल्याएको छैन । बागमती किनारमा बसेको परिवारले कोठा पाउन मुस्किल छ, पाए पनि भाडा तिर्न सक्दैन । घरायसी सामान पुरिएका छन्, नयाँ किन्ने पैसा छैन । सरकारले चाहिँ यी गरीबहरुलाई हुकुमबासी भनेर अमानित गरिरहेको छ, राहत दिने कुरै छैन । यी गरीबहरुले अब यो पुस्तामा मात्र होइन, अर्कोपुस्तासम्म दुःख पाउनेवाला छन् ।

बालेन सरकारले अहिले गरीबहरुसँग एकतर्फी युद्धको घोषणा गर्नुको सट्टामा गर्नुपर्ने अन्य कामहरु धेरै थिए । घर भत्काउने माइकिङ गर्नुको साटो विद्यालयको भर्ना शुल्क घटाउन माइकिङ गर्नुपर्ने थियो । महंगी र कालोबजारी नियन्त्रणका लागि माइकिङ गर्नुपर्ने थियो । इरान अमेरिकाको लडाइँ रोकिइसक्यो तर बालेन सरकारलाई देशमा महंगी किन बढेको छ भन्ने पत्तै छैन । गर्नुपर्ने काम एकातिर छ, सरकार अर्कोतर्फ आफ्नै जनतासँग युद्ध छेडेर बसेको छ ।

यो डोजर काण्डले रास्वपाको जनमत घटाउने मात्र होइन, दुई तिहाईको सरकारविरुद्ध जनआक्रोशको फिलिङ्गो सल्काएको छ । यस्तै हुँदै गएमा पाँच वर्ष नपुग्दै ओली सरकारको जस्तै हालतमा यो सरकार पनि नपुग्ला भन्न सकिन्न ।
त्यसर्थ, डोजर काण्डले निम्त्याएका र निम्त्याउन सक्ने राजनीतिक, सामाजिक र मनोवैज्ञानिक प्रभाव धेरै छन्, जसको वस्तुनिष्ट समीक्षा आवश्यक छ ।

अन्त्यमा, प्रार्थना गरौं, हे भगवान बालेन सरकारलाई बुद्धि देऊ ।

जनतातिर फर्किएर बोल्ने हो भने प्रश्न उठ्छ– महिला, दलित र गरीबको पक्षमा कसले बोलिदिने ? उनीहरुमाथि न्याय हुनुपर्छ भनेर कसले आवाज उठाउने ?

गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरीबको चमेली बोल्दिने कोही छैन !

यतिबेला गायक प्रकाश सपुतको गीतको याद आउँछ-

मेरो पनि हैन र यो देश…….

सम्बन्धित खवर

संवैधानिक परिषदले पूर्णता पायो, प्रधानन्यायाधीश छान्ने बाटो खुल्यो

संवैधानिक परिषदले पूर्णता पायो, प्रधानन्यायाधीश छान्ने बाटो खुल्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता छानेसँगै सोमबारदेखि...