काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग कास्की जिल्ला अदालतले फिर्ता गरिदिएको छ ।
कास्की जिल्ला अदालतले शुक्रबार यी दुई कसूर झिक्न अनुमति दिएको हो ।
लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी अभियोजन भने यथावत् रहेको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले ८ जेठ २०८३ मा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको हो ।
मुद्दा नं. ०५०-C१-०४२६, ०५१-C१-०४३४ र ०५१-C१-०४३५ मा दायर भएको यो निवेदनलाई तत्कालीन महान्यायाधिवक्ता सविता गौतम भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
सोही आधारमा जिल्ला सरकारी वकील कार्यालयले अभियोजन संशोधन गर्न अदालतमा निवेदन दिएको थियो ।
न्यायाधीश बेलबासेको इजलासले उक्त निवेदन सदर गर्दै सहकारी ठगीसम्बन्धी अभियोगलाई कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
गोविन्द अधिकारी समेतको जाहेरीका आधारमा रवि लामिछानेसहित अन्य विरुद्ध दायर भएको मुद्दामा सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीका आरोप थिए । अब सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप झिकिए पनि सहकारी ठगीको मुद्दा भने अदालतमा अझै कायम छ ।
हेर्नुहोस् आदेश –



