काठमाडौँ । बोनम्यारो क्यानसरको उपचार गराइरहेका सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि न्यायसेवा अधिकृत समाजले गरिरहेको आर्थिक संकलन अभियान स्थगित गरिदिन अनुरोध गरेका छन् ।
दिल्लीमा उपचाररत् श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक संकलनको कार्य स्थगित गर्न अनुरोध गरेका हुन् ।
हेर्नुहोस् न्यायाधीश श्रेष्ठको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
बोनम्यारो समस्याका कारण म अहिले भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेको छु ।
मेरो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति म अनुगृहित छु । मेरा शुभेच्छुक एवं शुभचिन्तकहरुले मेरो उपचारका सन्दर्भमा स्वस्फूर्त रुपमा सहयोग जुटाउने हेतुले रकम सङ्कलन गर्न थाल्नु भएको खबर पनि पाएको छु ।
न्यायसेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ । यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनु हुन सबैमा मेरो विनम्र अनुरोध छ ।
आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नु हुनेछ ।
तिलप्रसाद श्रेष्ठ
न्यायाधीश
सर्वोच्च अदालत
मिति:२०८३/०२/१३

