काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने बारे कुनै पनि औपचारिक छलफल नभएको स्पष्ट पारेको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा अदालतहरूमा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नै मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको उल्लेख गरिएको छ।
साथै, गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा सर्वोच्च अदालतको कुनै आधिकारिक धारणा नरहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली हटाएर इजलास तोक्ने अधिकार पुनः प्रधानन्यायाधीशमै केन्द्रित गरिने तयारी भइरहेको भन्ने चर्चा केही दिनयता सामाजिक सञ्जालमा फैलिएको थियो। त्यसै सन्दर्भमा सर्वोच्च अदालतले औपचारिक रूपमा स्पष्टीकरण जारी गर्दै हाल कायम व्यवस्था यथावत् रहेको जनाएको हो।
हेर्नुहोस् विज्ञप्ति –


