बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

१७ जेठ २०८३

बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

प्रत्येक न्यायाधीश आफ्नोसमक्ष प्रस्तुत मुद्दाका तथ्यहरुको मूल्याङ्कन र कानूनको आफ्नो बुझाइअनुसार निर्णय गर्न स्वतन्त्र हुन्छन् । उनीहरुमाथि कुनै पनि पक्षबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै अनुचित प्रभाव, प्रलोभन वा दबाब (कुनै पनि कारण वा उद्देश्यका लागि) पर्नु हुँदैन । न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाबाट पनि स्वतन्त्र हुनु पर्दछ, जसले न्यायपालिकालाई संविधान र कानूनले दिएको अधिकार क्षेत्र र स्वतन्त्र न्यायपलिकाको अभ्यासमा न्यायपलिका अनुचित प्रभाव, प्रलोभन वा कुनै पनि हिसावले दवाव र प्रभावमा पर्ने अवस्था हुनु हुँदैन ।

साधारणतया अदालतले आफ्नो प्रभावकारी कार्ययोजनाका लागि आवश्यक रकम आफ्नै आम्दानी गर्न वा संकलन गर्न सक्दैन र रकम संकलन गर्ने वा गर्न लगाउने लक्षीत संस्था अदालत होइन पनि । धेरै देशको अदालतको बजेट प्रणालीलाई हेर्ने हो भने प्रत्येक बर्ष अदालतको समन्वयनमा कार्यपालिका र संसदवाट तय हुने बजेटमा नै न्यायपलिकालाई उक्त बर्षमा दिइने रकम निर्धारण गरिन्छ ।

कार्यपालिकाले तयार पारी व्यवस्थापिका संसदले पारित गर्ने अर्थ विधेयकमा न्यायपालिका स्वच्छन्दरुपमा चल्न सक्ने, रुपान्तरण र विकास हुन गर्न सक्ने रकम अदालतलाई बिनासर्त उपलब्ध गराइनु पर्दछ भन्ने मान्यता स्वतन्त्र न्यायपालिका अन्तरगत चर्चा हुने बजेटको स्वतन्त्रता (Budgetry indipendency) भनिन्छ ।

न्यायाधीशको व्यक्तिगत स्वतन्त्रता न्यायिक स्वतन्त्रताका लागि आवश्यक र महत्वपूर्ण शर्त हो; तर यो मात्र पर्याप्त शर्त होइन । अझ महत्वपूर्ण शर्त संस्थागत स्वतन्त्रता हो । कुनै न्यायाधीशको व्यक्तिगत स्वतन्त्रता तबसम्म अपूर्ण रहन्छ, जबसम्म न्यायपालिकाको संस्थागत स्वतन्त्रता सुनिश्चित हुँदैन, यस प्रकारको संस्थागत स्वतन्त्रताको उद्देश्य न्यायपालिका संविधान र त्यसका मूल्यहरूको संरक्षण गर्ने आफ्नो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउनु हो ।

संस्थागत स्वतन्त्रता यस्तो संरचना हो, जसले न्यायपालिकाको वरिपरि एक सुरक्षा कवच (protective wall) निर्माण गर्दछ, जसले व्यवस्थापिका र कार्यपालिकालाई न्यायाधीशहरूले संविधान र त्यसका मूल्यहरूको संरक्षका रूपमा आफ्नो भूमिका कसरी निर्वाह गर्ने भन्ने प्रक्रियामा हस्तक्षेप गर्नबाट रोक्छ ।

त्यसैले, न्यायपालिका संगठनात्मक स्तरमा स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्छ। यो कार्यपालिकाको हिस्सा हुनु वा कार्यपालिकाका प्रशासनिक निर्णयहरूको अधीनमा पनि रहनु हुँदैन भन्ने बिहंगम मान्यता स्वतन्त्र न्यायपालिका कायम गर्ने सवालमा आर्थिक स्वतन्त्रता पनि हो ।

साथै, न्यायपालिकाको स्वतन्त्रताको सवाल पनि शक्ति पृथकीकरणद्वारा स्थापित नियन्त्रण र सन्तुलन (Checks and Balances) को एक भाग हो भन्ने कुरा पनि स्पष्ट छ । त्यसैले न्यायपालिका आफैँले आफ्नो बजेट निर्धारण गर्नु हुँदैन । न्यायपालिकाको बजेट न्यायपालिकाले आफ्नो प्रशासनिक व्यवस्थापनको बारेमा कार्यपालिकालाई दिएको लेखाजोखाको आधारमा तय भएई व्यवस्थापिकामा पेश भए बमोजिम हुनुपर्छ । यस्तो समयमा राज्यका तीन प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये न्यायपालिकाको आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने प्रश्नमा कार्यपालिका र ब्यवस्थापिका संकुचित हुनु हुँदैन ।

लोकतान्त्रिक शासन व्यवस्थामा “स्वतन्त्र न्यायपालिका” केवल संवैधानिक घोषणा मात्र नभई व्यवहारिक रूपमा आर्थिक रूपमा पनि स्वतन्त्र हुनुपर्छ भन्ने अभ्यास र मान्यता विकसित भएको छ ।

नेपालको संविधानले पनि न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम संस्थाका रूपमा परिकल्पना गरेको छ । संविधानको भाग ११ मा न्यायपालिकासम्बन्धी व्यवस्था, काम कर्तब्य अधिकार लगायतको आधारमा न्यायसम्बन्धी अधिकार अदालतबाट स्वतन्त्र न्यायपालिकाको रुपमा प्रयोग हुने स्पष्ट उल्लेख छ ।
नेपालको न्यायपालिकाले बजेट कसरी प्राप्त गर्छ ?
नेपालमा न्यायपालिकाको बजेट संघीय सरकारमार्फत अर्थ मन्त्रालयको वार्षिक बजेट प्रक्रियाबाट विनियोजन गरिन्छ। सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, न्याय परिषद् तथा न्याय सेवा आयोगले आफ्नो आवश्यकताको अनुमान तयार गरी सरकारसमक्ष पठाउँछन्। अन्ततः अर्थ मन्त्रालयले समग्र राष्ट्रिय बजेटभित्र समेटेर संसदमा प्रस्तुत गर्दछ। संविधानको धारा १११ तथा ११९ अनुसार अर्थमन्त्रीले वार्षिक आय-व्ययको विवरण संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ।
नेपालको अभ्यासमा न्यायपालिकाले प्रत्यक्ष रूपमा संसदमा आफ्नो बजेट पेश गर्दैन; कार्यपालिकामार्फत नै बजेट विनियोजन हुने प्रणाली छ। यही कारण धेरै संवैधानिक विद्वानहरूले नेपालमा “पूर्ण बजेटीय स्वतन्त्रता” अझै स्थापित नभएको तर्क गर्छन्।
यद्यपि संविधानले प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश तथा न्याय परिषद्का सदस्यहरूको पारिश्रमिक र सुविधा “संघीय सञ्चित कोषमाथि व्ययभार” हुने व्यवस्था गरेको छ, जसका लागि संसदको पृथक मतदान आवश्यक पर्दैन। यसले न्यायिक स्वतन्त्रताको न्यूनतम आर्थिक सुरक्षा प्रदान गरेको देखिन्छ।
विश्वमा प्रचलित न्यायपालिकाको बजेट प्रणाली हेर्दा  विश्वमा न्यायपालिकाको बजेट सम्बन्धी मुख्यतः चार प्रकारका अभ्यास र अवधारणा छन् ।
१. कार्यपालिकीय नियन्त्रण प्रणाली
यस मोडेललाई कार्यपालिका नियन्त्रित बजेट प्रणाली (Executive-Controlled Budget Model)  भनिन्छ,  जसमा न्यायपालिकाको बजेट प्रारम्भिक रूपमा कार्यपालिका (अर्थ मन्त्रालय) मार्फत तयार, समायोजन, नियन्त्रण र प्रस्ताव गरिन्छ । यस प्रणालीमा सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतहरूले आफ्नो आवश्यकता अनुमान गरी बजेट प्रस्ताव पेश गर्छन्, तर अन्तिम रूपमा अर्थ मन्त्रालयले राष्ट्रिय प्राथमिकता, राजस्व क्षमता र नीति अनुसार संशोधन गरी संसदमा प्रस्तुत गर्ने गरिन्छ । यसरी प्रस्ताव भएको बजेटमा छलफल भएता पनि उक्त बिधेयकमाथीको छलफलवाट संसोधान हुने अभ्यास अत्न्तै न्युन छ । नेपाल लगायत धेरै विकासोन्मुख मुलुकहरूमा यही प्रणालिको अवलम्वन गरेको पाइन्छ ।
नेपालमा पनि न्यायपालिकाले बजेट सिधै संसद वा समितिसमक्ष पेश गर्दैन । कार्यपालिकाको योजना प्रारुप अनुसार न्यायपालिकालाई समेत समावेश गरिन्छ । यस मोडेलले वित्तीय अनुशासन, बजेट सन्तुलन र राष्ट्रिय बजेट एकरूपता कायम गर्न सहयोग पुर्‍याए पनि, न्यायपालिकाको “Budgetary Autonomy” सीमित हुने आलोचना रहँदै आएको छ । न्यायिक स्वतन्त्रता सैद्धान्तिक रूपमा सुरक्षित भए पनि, पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि विकासमा कार्यपालिकामाथि निर्भर रहन्छ।
त्यसैले यस मोडेललाई आर्थिक नियन्त्रणको चपेटामा रहेको स्वतन्त्रता वा “Controlled Independence” भनिन्छ । जहाँ Judicial Independence and Fiscal Control सन्तुलन कायम गर्ने प्रयास गरिन्छ, तर पूर्ण संस्थागत स्वतन्त्रता प्राप्त मानिँदैन । हालको अभ्यास हेर्ने हो भने अदालतमा निवेदन वापत जम्मा हुने, धरौटी जरिवाना लगायतका सम्पूर्ण रकम समेत सिधै अर्थमन्त्रालयको राष्ट्रिय बजेटमा संकलन हुने गरेको छ ।
विगतमा सर्बोच्च अदालतले मुद्दाको चाप र परिणाम बढाउने उद्देश्यले कार्यलयसमय भन्दा थप काम र भत्ताको ब्यवस्था भएकोमा उक्त थप भत्ता मन्त्रालयवाट लामो समय सम्म निकासा नभएको इतिहास समेत जीवित नै छ ।
यस प्रणालीका मुख्य विशेषता 
१. अर्थ मन्त्रालयको प्रमुख नियन्त्रण,
२. बजेट कटौतीको सम्भावना,
३. न्यायालयको कार्य सञ्चालनका क्रममा उठेको रकममा समेत पहुँच नहुनु,
४. न्यायपालिकाको पूर्ण आर्थिक निर्भरता ।
२. स्वतन्त्र न्यायिक परिषद् प्रणाली
इटाली, स्पेन, दक्षिण अफ्रिका जस्ता देशमा  न्यायपालिकाको संस्थागत तथा बजेटीय स्वतन्त्रतालाई लोकतान्त्रिक शासनको अनिवार्य आधारका रूपमा विकास गरिएको पाइन्छ । यी मुलुकहरूले न्यायपालिकालाई केवल विवाद समाधान गर्ने निकाय मात्र नभई संविधान, मानवअधिकार र Rule of Law को संरक्षक संस्थाका रूपमा स्वतन्त्र र अधिकार सम्पन्न हुनु पर्छ भन्ने अभ्यास गरेका छन् ।
इटाली र स्पेनमा स्वतन्त्र रुपमा न्यायाधीश नियुक्ति, सरुवा तथा न्यायाधीश र न्यायकर्मीको अनुशासन तथा न्यायिक प्रशासनमा स्वतन्त्र न्यायिक परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस परिषदको स्थापना कार्यपालिका, ब्यवस्थापिका र राजनीतिक प्रभावलाई सीमित गर्दै न्यायपालिकाको संस्थागत स्वायत्तता बलियो बनाई स्वतन्त्र न्यायलय स्थापना गरेको छ । विशेषतः आफ्नो बजेट निर्माण तथा न्याय प्रशासनमा न्यायपालिकाको आफ्नै प्रत्यक्ष योजना र सहभागिताले अदालतहरूको कार्यक्षमता र निष्पक्षतामा कायम गर्दछ ।
त्यस्तै, दक्षिण अफ्रिकाको संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई विशेष महत्व दिएको छ । त्यहाँ “Office of the Chief Justice” मार्फत अदालत प्रशासनलाई कार्यपालिकाबाट अलग ढंगले सञ्चालन गरिन्छ । संविधानमा “अदालतहरू स्वतन्त्र हुन्छन् र संविधान तथा कानूनप्रति मात्र अधीनस्थ रहन्छन्, जसलाई उनीहरूले निष्पक्ष रूपमा तथा कुनै डर, पक्षपात वा पूर्वाग्रह बिना लागू गर्नुपर्छ ।” (The courts are independent and subject only to the Constitution and the law, which they must apply impartially and without fear, favour or prejudice.”- Section 165/2)
“कुनै व्यक्ति वा राज्यको कुनै निकायले अदालतको कार्यसम्पादनमा हस्तक्षेप गर्न पाउने छैन ।” (No person or organ of state may interfere with the functioning of the courts -Section 165/3)
“राज्यका निकायहरूले विधायिकी तथा अन्य उपायमार्फत अदालतहरूको स्वतन्त्रता, निष्पक्षता, गरिमा, पहुँचयोग्यता तथा प्रभावकारिता सुनिश्चित गर्न अदालतलाई सहयोग र संरक्षण गर्नुपर्छ ।” (Organs of state, through legislative and other measures, must assist and protect the courts to ensure the independence, impartiality, dignity, accessibility and effectiveness of the courts.” -Section 165(4) And “The Chief Justice is the head of the judiciary…”-Section 165/6) वा प्रधानन्यायाधिस न्यायपालिकाको प्रमुख हुने भन्ने ब्यवस्था रहेको छ, यसै संवैधानिक व्यवस्थाका आधारमा Office of the Chief Justice स्थापना गरिएको छ, जसले न्यायपालिकाको प्रशासनिक तथा संस्थागत स्वतन्त्रतालाई बलियो बनाउने कार्य गरेको छ ।

यी देशहरूको अनुभवले न्यायपालिकाको वास्तविक स्वतन्त्रता केवल न्यायाधीशको व्यक्तिगत स्वतन्त्रताले मात्र सम्भव नहुने, त्यसका लागि संस्थागत, प्रशासनिक तथा बजेटीय स्वतन्त्रता समेत अपरिहार्य हुने स्पष्ट हुन्छ ।

यस प्रणालीका मुख्य विशेषता

१. न्यायिक प्रशासनमा स्वायत्तता,
२. न्यायाधीश नियुक्ति र सरुवामा स्वतन्त्रता,
३. आफ्नो प्राथमिकता र आवाश्यत्तलामा आधारित प्रशासनिक खर्चको स्वतन्त्रता,
४. राजनीतिक हस्तक्षेप न्यून ।

३. संसदसमक्ष सिधै बजेट माग गर्ने प्रणाली

संयुक्त राज्य अमेरिका र क्यानडामा न्यायपालिकाको बजेटीय तथा प्रशासनिक स्वतन्त्रतालाई लोकतान्त्रिक शासन र Separation of Powers को महत्वपूर्ण र नमुना अभ्यासको रुपमा लिन सकिन्छ । U.S. Constitution, Article III ले संघीय न्यायपालिकाको स्थापना गर्दै न्यायाधीशहरूको पदावधि तथा पारिश्रमिकमा राजनीतिक हस्तक्षेप रोक्ने संवैधानिक सुरक्षा प्रदान गरेको छ । यही संवैधानिक दर्शनअनुसार Judicial Conference of the United States ले सम्पूर्ण Federal Courts को Budget Proposal तयार गरी प्रत्यक्ष रूपमा Congress यानीकी आफै संसद समक्ष पेश गर्दछ र अन्तिम बजेट स्वीकृति पनि संसदवाट नै हुन्छ । यसै कारण यहाँ स्वतन्त्र न्यायपालिका र न्यायिका उत्तरदायित्व बीच सन्तुलनको पनि नमुना अभ्यास नै मानिन्छ । यस प्रणालीले कार्यपालिकाको प्रत्यक्ष आर्थिक प्रभावलाई सीमित गर्दै Institutional Autonomy लाई बलियो बनाएको छ ।

त्यस्तै क्यानडामा पनि न्यायपालिकाको प्रशासनिक स्वतन्त्रतालाई संवैधानिक Rule of Law  सँग जोडेर हेरिन्छ । Constitution Act, 1867  तथा Canadian Charter of Rights and Freedoms  अन्तर्गत अदालतहरूको स्वतन्त्रता संरक्षित गरिएको छ । त्यहाँ केही न्यायिक निकायहरूले आफ्नो प्रशासनिक लागत तथा अदालतको बयवस्थापन सम्बन्धी प्रस्तावहरू प्रत्यक्ष Parliamentry Committee  समक्ष राख्ने ब्यवस्था छ ।

क्गउचझभ ऋयगचत या ऋबलबमब ले Valente v. The Queen (1985) मुद्दामा judicial independence लाई संविधानको मूल आधारभूत संरचनाको अनिवार्य तत्वका रूपमा व्याख्या गरेको छ। यसले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाबाट स्वतन्त्र राख्नुपर्ने, निष्पक्ष निर्णय प्रक्रिया सुनिश्चित गर्नुपर्ने र चगभि या बिध संरक्षण गर्नुपर्ने संवैधानिक सिद्धान्तलाई बलियो बनाएको छ।

यस प्रणालीका मुख्य विशेषता

१. कार्यपालिकाको नियन्त्रण कम हुनु,
२. न्यायपालिकाको Institutional Diginity उच्च हुनु,
३. Seperation of Power  को बलियो अभ्यास ।

४. संविधानमै निर्धारित राज्यको कोषबाट उपलब्ध

न्यायपालिकाको बजेटीय स्वतन्त्रता Judiciary budgetry protection  सुनिश्चित गर्न धेरै देशका संविधानहरूले न्यायाधीशहरूको तलब–सुविधा र केही अदालतको न्यूनतम न्यायिक खर्च संविधान मै निर्धारित राज्यको कोषबाट उपलब्ध हुने गरी सुरक्षित गरेको हुन्छ । यसको मुख्य उद्देश्य न्यायपालिकालाई कार्यपालिका वा व्यवस्थापिकाको न्यूनतम बजेटीय दबाब र प्रभावबाट सुरक्षित राख्नु हो ।

भारतीय संविधानको धारा १४६ र २२१ अनुसार सर्वोच्च अदालतका न्यायाधीशहरूको तलब–सुविधा संविधान मै निर्धारित राज्यको कोषबाट उपलब्ध हुने गरी सुरक्षित गरेको छ जसमा संसदले प्रत्यक्ष कटौती गर्न सक्दैन । भारतीय संविधानको धारा १४६ः “Appointments of officers and servants of the Supreme Court are made under the control of the Chief Justice, and the administrative expenses of the Court, including salaries and allowances, are provided for by law and charged on the Consolidated Fund.” “सर्वोच्च अदालतका अधिकारी तथा कर्मचारीहरूको नियुक्ति मुख्य न्यायाधीशको नियन्त्रणमा हुन्छ र अदालतको प्रशासनिक खर्च, तलब–भत्ता तथा सुविधा कानूनअनुसार निर्धारण भई राज्यको सञ्चित कोषबाट व्यय गरिन्छ ।”

भारतीय संविधानको धारा २२१ः “Judges of the High Courts are entitled to such salaries as may be determined by Parliament, and their salaries and allowances are charged on the Consolidated FundÙ their remuneration cannot be altered to their disadvantage after appointment except in times of financial emergency.” “उच्च अदालतका न्यायाधीशहरूको तलब संसदले निर्धारण गर्छ र उनीहरूको तलब–भत्ता राज्यको सञ्चित कोषमाथि भारित खर्च हुन्छ; नियुक्तिपछि उनीहरूको तलब वा सुविधा हानी हुने गरी परिवर्तन गर्न पाइँदैन, केवल वित्तीय आपतकाल बाहेक ।”

यसर्थ धारा १४६ र २२१ ले न्यायपालिकाको प्रशासनिक स्वतन्त्रता र कर्मचारी व्यवस्थापनको संरचना सुनिश्चित गरेको छ । यसले न्यायिक स्वतन्त्रतालाई केवल निर्णयगत होइन, संस्थागत रूपमा पनि सुरक्षित गरेको देखाउँछ ।

नेपालको संविधानको धारा १३० मा प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यकाल, सेवा शर्त र आर्थिक सुरक्षा स्पष्ट रूपमा सुनिश्चित गरिएको छ । संविधानले न्यायाधीशहरूको स्वतन्त्रता सुनिश्चित गर्न उनीहरूको सेवा अवधि र सुविधा स्थिर रहने व्यवस्था गर्न संघिय ऐन वनाउने पर्ने, पारिश्रमिक, भत्ता तथा अन्य सेवा शर्तहरू मर्का पर्ने गरी पारिश्रमिक र सेवाका अन्य सर्त परिवर्तन गर्न नपाउने ब्यवस्था गरेको छ ।

तर महाभियोग वा संविधान र कानूनअनुसार पदमुक्त गरिएका न्यायाधीशहरू अवकाश सुविधा वा पेन्सनका लागि योग्य नहुने भन्दै न्यायपालिकामा उत्तरदायित्वको सिद्धान्तलाई पनि सुनिश्चित गरेको छ भने विशेष आर्थिक संकट वा संघीय सरकारले घोषणा गरेको असाधारण परिस्थितिमा मात्र सेवा सुविधामा अस्थायी समायोजन गर्न सकिने व्यवस्थाले सेवा सुविधामा संकुचन गर्न नसक्ने अवस्था वनाएको भएता पनि संस्थागत बजेटको हकमा अन्य अंग संगको परनिर्भरता कायम नै गरेको छ ।

निष्कर्ष

नेपालमा न्यायपालिकाको स्वतन्त्रता केवल संवैधानिक घोषणा मात्र नभई कानूनी, संस्थागत, प्रशासनिक र आर्थिक संरचनाबाट सुनिश्चित गर्ने प्रयास भएको छ । संविधानले न्यायाधीशहरूको नियुक्ति, कार्यकाल, सेवा शर्त र विशेष गरी तलब–सुविधालाई संविधानले संविधान मै निर्धारित राज्यको कोषबाट उपलब्ध गर्ने सर्त अन्तर्गत राखी कार्यपालिका र व्यवस्थापिकाबाट हुने प्रत्यक्ष बजेटीय दबाबबाट संरक्षण गरेको छ । यसले न्यायपालिकामा छलफल हुने न्यायाधिसहरुमा हुने व्यक्तिगत स्वतन्त्रता र निष्पक्षताको पक्षलाई समेटेको भएता पनि संस्थागत परनिर्भरता कायम नै छ ।

विश्व अभ्यासमा Executive-Controlled Model, Judicial Council Model र Parliamentary Direct Submission Model जस्ता विभिन्न बजेट प्रणाली देखिए पनि सबैको साझा उद्देश्य न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्नु नै हो । विशेष गरी उल्लेखित अमेरिका, क्यानडा, इटाली, स्पेन र दक्षिण अफ्रिकाको अभ्यासले न्यायपालिकाको बजेटीय स्वायत्तता institutional independence सँग प्रत्यक्ष रूपमा जोडिएको देखाउँछ ।

नेपालको सन्दर्भमा न्यायपालिकालाई संवैधानिक रूपमा स्वतन्त्र बनाइएको भए पनि बजेटीय निर्भरता अझै कार्यपालिकामा आधारित छ, जसले “controlled independence” को अवस्था देखिन्छ । त्यसैले वास्तविक न्यायिक स्वतन्त्रता सुनिश्चित गर्न पर्याप्त आर्थिक स्वायत्तता र संस्थागत मजबुती अपरिहार्य विषय भएको हुँदा यो विषय पनि चर्चामा रहेको संविधान संशोधनको गहकिलो विषयको रुपमा देखिन्छ ।