चिकित्सकबिनै बिरामी जाँच्ने डेन्टल क्लिनिकमाथि कारबाही हुने

जस नेपाल

२८ जेठ २०८३

चिकित्सकबिनै बिरामी जाँच्ने डेन्टल क्लिनिकमाथि कारबाही हुने

बाँके । बाँकेको नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेका डेन्टल क्लिनिकले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना नै गैरचिकित्सकबाट बिरामी जाँच्ने र उपचार गर्ने गरेका पाइएका छन् ।

नेपाल मेडिकल काउन्सिलको टोलीले हालै गरेको ती दुई स्थानमा गरिएको स्थलगत अनुगमनका क्रममा डेन्टल क्लिनिकमा ती तथ्य फेला पारेको नेपाल मेडिकल काउन्सिलका सदस्य तथा अनुगमन टोलीका संयोजक डा. अजयकुमार शाहले जानकारी दिए ।

उनका अनुसार डेन्टल क्लिनिकहरुले कानुन विपरीत उपचार सेवा र मापदण्डको उल्लङ्घन गरेका छन् । कतिपय क्लिनिकमा विशेषज्ञ चिकित्सकबिनै बिरामी जाँच्ने, उपचार गर्ने, आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) र सर्जरीसम्म गर्ने गरेको भेटिएको छ ।

टोलीले नेपालगञ्जको सदरलाइनस्थित चाइनिज डेन्टल शप, त्रिभुवन चोकको सिटी डेन्टल, बिपी चोकको बागेश्वरी डेन्टल, युनाइटेड डेन्टल क्लिनिक, बाँके डेन्टल क्लिनिक, न्यू भेरी डेन्टल क्लिनिकलगायत अनुगमन गरेको थियो ।

फुल्टेक्रास्थित खुसी डेन्टल क्लिनिक भने बन्द भेटिएको थियो । अनुगमनका क्रममा एउटा डेन्टल क्लिनिकले टोली आएको थाहा पाएपछि आफ्नो साइनबोर्ड नै हटाएको पाइएको पनि अनुगमन टोलीका संयोजक डा शाहले जानकारी दिए ।

अनुगमनमा चाइनिज डेन्टल शपले नक्कली दाँत बिक्री गर्ने गरेको पाइएको छ । त्यहाँ बिरामीलाई कुल्ला गर्न प्रयोग गरिने एन्टिबायोटिक औषधि बिक्री भइरहेको भेटिएको थियो ।

संयोजक शाहका अनुसार चाइनिज डेन्टलमा विशेषज्ञ चिकित्सकबिना नै एन्टिबायोटिक औषधिको खुलेआम प्रयोग भएको पाइएको छ । सिटी डेन्टल क्लिनिकमा विशेषज्ञ चिकित्सकको परीक्षण र आवश्यक मूल्याङ्कनबिना नै नक्कली दाँत बनाउने गरिएको अनुगमनका क्रममा पाइएको छ ।

नेपालगञ्जको बागेश्वरी डेन्टल क्लिनिकमा बिहान ९ः०० देखि बेलुका ५ः०० बजेसम्म विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना नै बिरामी जाँच्ने र उपचार गर्ने गरिएको पाइएको छ । कागजमा चिकित्सकको नाम भए पनि यहाँको सेवा डेन्टल हाइजिनिस्टले सञ्चालन गर्ने गरेको भेटिएको हो । न्यू भेरी डेन्टल क्लिनिकमा पनि अवस्था उस्तै देखिएको छ ।

कोहलपुरमा अनुगमनका क्रममा कोहलपुर डेन्टल हस्पिटल, न्यू बाँके डेन्टल क्लिनिक, रामदेव डेन्टल क्लिनिक, स्माइल डेन्टल क्लिनिक र शुभकामना डेन्टल क्लिनिकमा चिकित्सक नै नभएको पाइएको छ । फ्रेस डेन्टल क्लिनिक र पूजा डेन्टल क्लिनिकमा मात्रै चिकित्सक भेटिएका थिए ।

नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष रहेका डा शाहका अनुसार अधिकांश क्लिनिकले सम्बन्धित स्वास्थ्य निकायबाट लिनुपर्ने सञ्चालन अनुमति नलिई सेवा प्रवाह गरिरहेका छन् । अनुगमनमा अधिकांश डेन्टल क्लिनिक आवश्यक स्वीकृतिबिना नै सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्र यस्ता स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरैले प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

उनका अनुसार मापदण्ड पालना नगर्ने र कानुन विपरीत सञ्चालन हुने क्लिनिकमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ । अनुगमन टोलीमा नेपाल मेडिकल काउन्सिलबाट खटिएका विज्ञ डा विवेककुमार महत्तोसहितका प्रतिनिधिको सहभागिता रहेको थियो । टोलीले विस्तृत प्रतिवेदन तयार गरी काउन्सिललाई बुझाउने छ ।

उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बाँकेका डेन्टल क्लिनिकले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर लापर्वाही गरेकाले सम्बन्धित निकायबाट नियमनको आवश्यकता रहेको बताए ।

सम्बन्धित खवर

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरेपछि…

बुटवल । पसलको विमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उदेश्यले...

नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

नक्कली लाइसेन्सका भरमा १७ वर्ष विमान उडाएका पाइलट पक्राउ

एजेन्सी । क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर क्यानडामा कार्यरत एक पूर्व पाइलटले करिब...

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा लागेपछि वीरगञ्जका मेयर पदबाट स्वतः निलम्बन

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका छन् ।...

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

साइबर अपराधको चपेटामा नेपाल : एक वर्षमै १९ हजारभन्दा बढी उजुरी

काठमाडौँ । नेपालमा इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेका बेला साइबर...