काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिकास्थित धान प्रशोधन उद्योग स्थापनाका नाममा सरकारी अनुदान दुरुपयोग गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारबाट ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत विष्णुपुर धान प्रशोधन उद्योग स्थापनाका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो । तर कानूनविपरीत उपभोक्ता समिति गठन गरी फर्जी मूल्यांकनका आधारमा रकम भुक्तानी गरिएको र परियोजना अपूर्ण तथा प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।
अनुसन्धानबाट विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत, तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव र तत्कालीन लेखापाल रमेश गदालले मिलेमतोमा ४९ लाख २० हजार ९०३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । उनीहरूसँग सोही रकम बराबरको बिगो, जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।
यस्तै साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुरका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सञ्चालक समिति सदस्य राजेश्वरप्रसाद सिंह तथा धान प्रशोधन उद्योग निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव रामबाबु यादवविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाकारी दिए ।
हेर्नुहाेस् विज्ञप्ति :

