काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् न्यायाधीशहरुमाथि ‘साइबर बुलिङ’ गर्दै आएका गोदावरी ललितपुरका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
आफूलाई डार्क फाइल अभियन्ता बताउने तिमल्सिना यसअघि पनि फेक भिडियो प्रकरणमा सर्वोच्च अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनी भदौ २४ गते नख्खु कारागारबाट भागेका फरार कैदी समेत हुन् ।
तिमल्सिनाले आफ्नो फेसबुक स्टाटसमा सर्वोच्चका न्यायायाधीहरुको उल्टो फोटो छाप्नेदेखि लिएर विभिन्न व्यक्तिगत आरोपहरु लगाउँदै आएका थिए ।
बुधबार उनी पोखराबाट पक्राउ परेको अनलाइनखबरले लेखेको छ ।
तिमल्सिनाले न्यायाधीशहरुमाथि ‘जनकारवाही’ गर्ने चेतावनी दिँदै पुस २ गते देखि अदालतमा ‘स्टिङ अपरेशन’ चलाउने घोषणासमेत गरेका थिए ।
न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?
अदालतविरुद्ध अनर्गल प्रचार गर्दा पनि सर्वोच्च प्रशासनले गम्भीरतापूर्वक नलिएको भन्दै पूर्वन्यायाधीश ईश्वर खतिवडाले त केही न्यायकर्मीहरु लम्पसारवाद, लोकप्रियतावाद र लोक रिझ्याइँको शिकार बनेको समेत आरोप लगाएका थिए ।
पूर्वन्यायाधीश खतिवडाले फेसबुकमा स्टाटस लेख्दै भनेका थिए,‘विगतमा भए गरिएका अदालतको अवहेलनाजन्य कसूरको विषयमा केही न्यायकर्मीहरुले अपनाएको लोक–रिझाइँको शैली, निरपेक्ष उदारता, विवेकहीन लम्पसारवादको सह–उत्पादन पनि हो अहिले तिलप्रसादजीउपर लगाइएको बेतुकको लाञ्छना । कृपया स्मरण रहोस् अदालतको अवहेलनालाई हेर्ने यस्तै लम्पसारवादी र सस्तो लोकप्रियताको शैलीमा नै न्यायाधीशहरु रमाइरहने हो भने अरु कोही पनि सुरक्षित र मर्यादित रहने छैनन्, अदालत पनि अदालत जस्तो रहने छैन । आगे, पशुपतिनाथले रक्षा गरुन् ।’
यसै सन्दर्भमा सर्वोच्च अदालतले गृहमन्त्री ओमप्रकाश अर्याल र कानूनमन्त्री अनिलकुमार सिन्हालाई बोलाएर यसबारे चासो राखेको थियो । कारागारबाट भागेका व्यक्तिले अदालतमाथि गरिरहेको प्रहारलाई रोक्नका लागि सरकारलाई समेत गराएको तीन दिनपछि प्रहरीले तिमल्सिनालाई बुधबार पक्राउ गरेको हो ।
यो पनि–
पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन
‘सीधाकुरा’मा सर्वोच्चको व्याख्या : अदालतको अवहेलना र प्रेस स्वतन्त्रताको सीमा के हो ?

