अदालतका कर्मचारीलाई ‘सुपर जज’ र प्रशासनलाई ‘सुपर जुडिसियरी’ बनाइँदैछ : वरिष्ठ अधिवक्ता त्रिपाठी

जस नेपाल

६ जेठ २०८३

अदालतका कर्मचारीलाई ‘सुपर जज’ र प्रशासनलाई ‘सुपर जुडिसियरी’ बनाइँदैछ : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ । प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्‌ बैठकबाट सिफारिस भएका डा. मनोजकुमार शर्मा हिजो (मङ्गलबार) प्रधानन्यायाधीश नियुक्त भए । डा. शर्माले हिजै पदभार ग्रहण गरिसकेका छन्‌ । तर, सिफारिस प्रक्रियादेखि नै शर्माको नाममा विवाद भयो ।

संवैधानिक परिषद्‌ले शर्मालाई गरेको सिफारिसमा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका कानूनविदहरु रिट लिएर सर्वोच्च अदालत पुगे ।

संवैधानिक परिषद्‌ले वरिष्ठता मिचेर शर्माको नाम सिफारिस गरेकाले त्यसको संवैधानिकता परीक्षण गर्नुपर्ने माग उनीहरूको थियो ।

तर, सर्वोच्च अदालत प्रशासनले रिट दरपीठ गरिदियो । दरपीठविरुद्धको रिट पनि दर्ता नगरेपछि कानून व्यवसायीहरूको छाता संस्था नेपाल बार एशोसिएशनले दिउँसै लालटिन बालेर ‘न्याय खोजेको’ भन्दै प्रदर्शन गर्‍यो ।

शर्मा प्रधानन्यायाधीश नियुक्त भएलगत्तै सर्वोच्च अदालत पनि तरङ्गित बनेको छ । साविक वरीयता अनुसार प्रधानन्यायाधीश आकाङ्क्षी सपना प्रधान मल्ल बिदामा बसेकी छिन्‌ । अर्कातर्फ, नवनियुक्त प्रधान न्यायाधीश डा.  शर्माले तीनजना वरिष्ठ न्यायाधीशहरूलाई हटाउने चाहना प्रकट गरेका छन् ।

डा. शर्मा देशको ३३ औँ प्रधानन्यायाधीश बन्दा न्याय क्षेत्रमा निम्तिएको तनावबारे जस नेपालसँग कुरा गर्दै रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता त्रिपाठीले पछिल्लोपटक अदालतका कर्मचारीलाई ‘सुपर जज’ र प्रशासनलाई ‘सुपर जुडिसियरी’ बनाउन खोजिएको भन्दै रोष प्रकट गरे । अहिले अदालतमा ‘संवैधानिक कु’ भएको उनको तर्क छ ।

प्रस्तुत छ – वरिष्ठ अधिवक्ता त्रिपाठीसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईंले सर्वोच्च अदालतमा दिनुभएको रिट दरपीठ गरियो ? कहिले रिट दिनुभएको थियो ?

संवैधानिक परिषद्‌ले वैशाख २४ गते प्रधानन्यायाधीश सिफारिस गर्‍यो, मैले २५ गते बिहानै १० बजे सर्वोच्च अदालतमा रिट पेस गरेँ ।

रिट दरपीठ गर्दा सर्वोच्च प्रशासनले के भन्यो ?

दरपीठ आदेशमा केही न केही त लेखिन्छ । तर, त्यसमा कुनै केही कुरा छैन । निवेदकको के मौलिक हक हनन भएको हो भनी खुलाउन नसकेको कुरा लेखियो ।

यो रिट निवेदक एउटा वरिष्ठ अधिवक्ता हो । सामान्य नागरिक भए पनि न्यायपालिका भनेको न्यायाधीशको लागि जागिर खानलाई, वकीललाई बहस गरेर शुल्क लिनको लागि बनाइएको संस्था होइन । यो भनेको एउटा ‘पब्लिक इन्स्टिच्युसन’ हो । यो आम नागरिकको लागि हो, आम नागरिकको न्यायका लागि हो । आम नागरिकको अधिकारको रक्षाका लागि हो । संविधानको सर्वोच्चताको रक्षाका लागि हो ।

यदि राज्यका कुनै निकायबाट कुनै स्वेच्छाचारी क्रियाकलाप भयो भने त्यो जुडिसियल रिभ्यु (न्यायिक पुनरावलोकन) को विषय हो । त्यो चाहिँ एउटा न्यायिक पुनरावलोकनको विषय हुन्छ । राज्यको कदमले न्यायिक पुनरावलोकनबाट उन्मुक्ति पाउँदैन । त्यो न्यायिक परीक्षणको विषय हुन्छ ।

प्रधानन्यायाधीश नियुक्त भइसक्नुभयो, यो समग्र प्रक्रियाबारे तपाईँको बुझाइ चाहिँ के हो ?

अहिले जसरी प्रधानन्यायाधीशको सिफारिस भयो, त्यो सिफारिस बदनियतपूर्ण छ, स्वेच्छाचारी छ, संविधानको मर्म र भावनालाई मिचेर सिफारिस गरिएको छ भन्ने विषय प्रत्यक्ष रूपमा न्यायिक पुनरावलोकनको, न्यायिक परीक्षणको विषय हुन्छ ।

कुनै पनि स्टेट एक्सनको संवैधानिकता परीक्षण हुन सक्छ । त्यो संवैधानिकताको परीक्षण गर्ने एउटा लेजिटिमेट, एउटा संवैधानिक निकाय भनेको अदालत हो । भनेपछि अदालतमा त्यसको परीक्षण गर्न पाउनु पर्‍यो । अब रिट दर्ता हुँदैमा त्यो रिटै जारी हुन्छ हुने कुरा त्यो पछिको कुरा हो । तर त्यो न्यायिक पुनरावलोकनको विषय त हो ।

मैले आफ्नो रिटमा भनेँ कि यो निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी छ, संविधानको मर्म र भावनाको प्रतिकूल छ । संविधानको धारा १२९ (प्रधान न्यायाधीशको नियुक्ति) को मेकानिकल प्रयोग हुन सक्दैन । त्यो त न्यायपरिषद्ले गरेको सिफारिस हैन नि । न्यायपरिषद्ले त एउटा लिस्ट पठाउने मात्रै हो । तर यसको अर्थ त्यसबाट स्वेच्छाचारी तरिकाले कसैलाई पनि ‘पिक एण्ड चुज’ गर्न पाइँदैन ।

त्यसमा योग्यतम को छ ? वरिष्ठतम को छ ? नेपालको न्यायपालिकाको एउटा हाइ ट्रेडिसन ( उच्च परम्परा) छ । उच्च परम्परा के छ भने न्यायपालिका स्थापना भएयता ७० वर्षभन्दा बढी अवधिको इतिहासमा अहिलेसम्म वरिष्ठता मिचिएको छैन ।

यसबीच धेरै संविधान परिवर्तन भए । तर वरिष्ठताको अलिखित कानून चाहिँ कहिल्यै पनि परिवर्तन भएन, वरिष्ठता संविधानमा लेखिए पनि नलेखिए पनि । तर संविधान परिवर्तन भयो । छ-सातवटा संविधान परिवर्तन भए, तर वरिष्ठताको अलिखित नियम कहिल्यै पनि परिवर्तन भएन ।

संवैधानिक परम्पराहरू संविधानको लिखित प्रावधान जत्तिकै शक्तिशाली हुन्छन् । संविधानमा यो लेखेको छैन भन्नु काइते कुरा हो । यो मुलुकी ऐन तहको व्याख्या हो । संविधानको व्याख्या त्यसरी गरिँदैन ।

मुलुकी ऐनको र संविधानको व्याख्या फरक विषय हो । त्यसकारण अहिले केही कानून व्यवसायीहरूले जे तर्क दिएका छन्‌ नि, यो मुलुकी ऐनवाला वकीलहरूका तर्क हुन् । किनभने त्यसsf पछाडिको परम्परा के हो ? इतिहास के छ ? त्यो बुझ्नुपर्छ ।

अदालत भनेको ‘रिटन टेक्स्ट’ मात्रै होइन । त्यहाँको परम्परा र सिद्धान्त पनि हो ।

हिजो मात्रै नयाँ प्रधानन्यायाधीशले हामीले फैसला गर्दा कानून र न्यायका मान्य सिद्धान्तहरू हेर्ने हो भन्नुभएको छ । के तपाईँले हालेको रिट कानून वा मान्य सिद्धान्तभित्रै थियो ?

मान्य सिद्धान्त अन्तर्गत नै हो । संविधानको धारा १२६ मा पनि त्यो कुरा भनेको छ । अदालतले न्याय गर्दाखेरि संविधानको टेक्स्ट मात्रै होइन, कानूनको टेक्स्ट मात्रै होइन, त्यसको शाब्दिक व्याख्या मात्र गर्ने होइन । त्यसको पछाडिको तर्क के हो, त्यो पनि हेर्नुपर्छ । मान्य सिद्धान्तहरुको पनि प्रयोग गर्नुपर्छ ।

जस्तो- अमेरिकाका एक प्रख्यात संविधानका विशेषज्ञ छन्, उनले अमेरिकी संविधानबारे ‘इन्भिजिबल कन्स्टिट्युसन’ (अदृश्य संविधान) पुस्तक नै लेखेका छन्‌। उनले भने कि अमेरिकाको दृश्य संविधान त सानो छ, तर त्यसको अदृश्य चाहिँ धेरै ठूलो छ । त्यसमा पनि २५० वर्षको इतिहासमा के के भयो, कोर्टले के के डिसिजन दियो…।

दरपीठ गरिसकेको रिट विरुद्धको अर्को रिट कर्मचारीहरुले दर्ता गर्नैपर्ने अनिवार्य हो कि होइन ?

अनिवार्य छ । अहिलेसम्म नेपालको न्यायिक इतिहासमा दरपीठ उपरको निवेदन दर्ता नै नभएको, त्यसमाथि सुनुवाइ नै नभएको यो पहिलो घटना हो । चाहे त्यो ज्ञानेन्द्रकाल होस् या पञ्चायत काल, दरपीठ उपरको निवेदन जहिले पनि दर्ता हुने गरेको छ । त्यसमा सुनुवाइ हुने गरेको छ ।

जस्तो- शाही आयोगवाला रिट पनि दरपीठ भएको थियो तर पछि अदालतले त्यो दरपीठ आदेश बदर गरेर दर्ता गर्ने आदेश दियो । तर, अहिलेचाहिँ न्यायको ढोका बन्द गरियो ।

भनेपछि अदालतमा कर्मचारी हावी भएका हुन् ?

ठ्याक्कै । न्यायिक प्रक्रियामा कुन मुद्दा हेर्ने/नहेर्ने भन्ने कुरा अब कर्मचारीको हातमा पुग्यो । यो त कस्तो अवस्था भयो भने कर्मचारी नै ‘सुपर जज’का रूपमा उपस्थित भए । किनभने, अब कुन मामिला बेन्च समक्ष पुग्ने/नपुग्ने गेटकिपरको भूमिका, एउटा स्टोन वालिङ (ढुंगे पर्खाल) को भूमिका कर्मचारीबाट खेलियो ।

नागरिक र बेन्चका बीचमा अदालत प्रशासन र कर्मचारी पर्खालका रूपमा उभियो । उसले चाहेको दर्ता हुने भयो, त्यो मामलामा सुनुवाइ हुने भयो । उसले नचाहेको मामला सुनुवाइ नहुने भयो ।

अब यसले भविश्यमा हुने न्याय सम्पादन र न्यायको पहुँचमा कति असर पार्छ जस्तो लाग्छ ?

यसले त भयंकर असर पार्छ नि ! यो त गलत परम्परा भयो । अब त के छ भने गम्भीर संवैधानिक प्रश्नहरू इजलासमा नपुग्नुको मतलब संविधानको धारा १३३ को १,२ र ३ लाई निष्क्रिय तुल्याउनु हो । यो त रजिस्ट्रारको, त्यहाँको कर्मचारीको स्वेच्छामा निर्भर हुने भयो, उनीहरूको मर्जीमा निर्भर हुने भयो नि !

त्यसकारण सर्वोच्च अदालतको असाधारण अधिकार नै अवरुद्ध हुने भयो नि ! यो त एउटा ‘संवैधानिक कु’ को अवस्था हो ।

कर्मचारीतन्त्रको अन्तर्गत न्यायाधीश हुने कि न्यायाधीशको अन्तर्गत कर्मचारीतन्त्र हुने ? जब कि ‘इन्डिपेन्डेन्टली जस्टिस डेलिभर’ हुन सकोस् भनेर न्यायाधीशलाई तमाम किसिमको सेफगार्ड छ । उसको तलब सुविधा घटाउन पाइँदैन । महाभियोगबाट बाहेक उसलाई पदबाट हटाउन गर्न पाइँदैन । यहाँनेर कर्मचारी या प्रशासनिक कुरा आयो ।

न्यायिक निर्णयको विषय प्रशासनिक निर्णयको विषय होइन । प्रशासनले यो तय गर्न पाउँदैन । यो पूर्णतः बदनियतपूर्ण हो र न्यायको ढोका बन्द गरिएकै हो ।

यसलाई न्याय प्रशासनभित्र कर्मचारी प्रशासन र न्यायाधीशको समानान्तर सत्ता भन्न सकिन्छ ?

समानान्तर पनि भएन, यो त ‘सुपर जुडिसियरी’ भयो । कर्मचारी प्रशासनले आफूलाई ‘सुपर जुडिसियरी’को रूपमा प्रस्तुत गर्ने भयो । ढोकाबाटै मामिला फर्काइदिने भयो । उसैले फैसला गरिदिने भयो ।

मामलाको सुनुवाइ नै नहुने भयो भनेपछि त ऊ त ‘सुपरजज’ को रूपमा र ‘सुपर जुडिसियरी’को रूपमा आयो ।

के कारणले यस्तो भइरहेको होला ?

यसो हुनुको केही कारण देख्छु । हाम्रो न्याय प्रशासनको कर्मचारीलाई कानून मन्त्रालयले चलाउँछ । उनीहरूको सरुवा बढुवाको कुरा होला । त्यसैले उनीहरूको जवाफदेहिता न्यायपालिकाप्रति हुँदैन, मन्त्रालयप्रति हुन्छ । यस्तो अवस्थामा एउटा खतरनाक ट्रेन्ड सुरु भएको छ ।

अब यसको समाधान चाहिँ के त ?

अब न्याय प्रशासनलाई पनि डेमोक्रेटाइज गर्नुपर्‍यो । संविधान र कानून अनुकूल बनाउनुपर्‍यो । स्वेच्छाचारी हुन दिनु भएन ।

कर्मचारी प्रशासनले त प्राविधिक आधारमा ढाँचा मिल्यो कि मिलेन, म्याद नाघेको छ/छैन लगायत हेर्ने हो । अब त उसले त्यसको कन्टेन्टमै पसेर इजलासले गर्नुपर्ने निर्णय र फैसला गरिदिने भयो ।

ठीक छ, दरपीठ आदेश अहिलेसम्म बदर त हुँदै आएको छ । तर अब आजको भोलि नै स्टे अर्डर लिएर एउटा क्षतिको अवस्था छ भने एउटा ‘ट्याक्टिस’ के गरिन्छ भने पहिले दरपीठ गर्दिने । अब त्यो महिनौँ लड्कियो । त्यो बेलासम्म त्यो रिटको औचित्यै समाप्त भइसक्छ ।

यही रिटमा पनि दरपीठ उपरको भोलि नै दर्ता भए पनि त्यसको सुनुवाइ भएर सारा कुरा गर्नलाई त महिनौँ लाग्न सक्छ । तबसम्म यो प्रक्रिया सिद्धिसकेको हुन्छ ।

भनेपछि गम्भीर बदनियत के छ भने हाम्रो अदालत नै दरपीठ अदालतमा रूपान्तरित भएको छ । कर्मचारीले निर्णय गर्न थालेको छ । यसबाट महत्त्वपूर्ण संवैधानिक र कानूनी प्रश्नको ‘टाइमली डिस्पोजल अफ जस्टिस’ नै हुन पाइराखेको छैन । त्यसकारण यो निकै धेरै खतरनाक प्रक्रिया हो । अमेरिकामा पनि यस्तो छैन नि ! सबै फाइनल गर्ने न्यायाधीशले नै हो । रजिष्ट्रारको काम त्यो हुँदै होइन ।

यसलाई न्यायाधीशहरूले टिम बसेर अदालतभित्रैबाट केही समाधान गर्न सक्छन्‌?

मैले धेरै मुद्दामा यो भनेको छु । ‘प्रशासनले दरपीठ बदर त गर्दिन्छ, तर न्यायाधीशले यसमा एउटा गाइडलाइन बनाउनुपर्‍यो’ भन्छु, तर कसैले गर्दैन । प्रशासनले त जुडिसियल सेल्फ रेस्ट्रिक्ट अपनाउँछ । न्यायाधीशको असक्षमता र कमजोरीका कारणले पनि कर्मचारीतन्त्र हाबी हुने हो । सरकारमा मन्त्रीको पीए या सचिवहरू हावी भएजस्तै अवस्था हो । मन्त्री कमजोर हुँदा त्यस्तो अवस्था निम्तिन्छ । अदालतमा ठ्याक्कै त्यस्तै भइरहेको छ ।

सम्बन्धित खवर

३ लाख परिवारमाथि डोजर लगाउन सम्भव छ ?

३ लाख परिवारमाथि डोजर लगाउन सम्भव छ ?

काठमाडौँ । नेपालमा विद्यमान भूमिसम्बन्धी समस्याको अन्तर्य के हो ? यो समस्या विकराल छ...

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

‘प्रधानन्यायाधीशको नियुक्ति अपवादजन्य अवस्था बाहेक बरिष्ठता मिचिनुहुँदैन’

काठमाडौँ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थिति र नयाँ सरकार गठनसँगै...

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?

काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित २७५ जना सांसदहरु खुशीले भुईँमा खुट्टा राख्ने स्थितिमा छैनन् ।...

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

‘अब संविधान ट्रयाकमा आयो, अदालतमा सरकारको छायाँ पर्न सक्छ’

काठमाडौं । फागुन २१ को निर्वाचन सकिएको छ । तर, संविधान संशोधनको बहस सकिएको...