प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

समानुपातिकमा प्राप्त हुने ३ प्रतिशत मत नै समानुपातिकतर्फको सिट प्राप्त गर्ने आधार हो । तर, ३ प्रतिशत मतका साथमा प्रत्यक्षतर्फ १ सिट जितेपछि मात्र राष्ट्रिय दलको मान्यता प्राप्त हुन्छ । समानुपातिक सिटका लागि भने राष्ट्रिय पार्टी बनिरहन जरुरी छैन ।

जस नेपाल

२८ फागुन २०८२

प्रत्यक्षतर्फ एकै सिट नजितेको दलले पनि समानुपातिक सिट पाउने

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएसँगै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मत र त्यसबाट हुने सिट बाँडफाँटको विषयलाई लिएर जनस्तरमा विभिन्न जिज्ञासा र भ्रम देखिएका छन्।

विशेषगरी “समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड पार गर्न मात्र पर्याप्त हुन्छ कि प्रत्यक्ष (FPTP) तर्फ कम्तीमा एक सिट पनि जित्नैपर्छ ?” यो प्रश्न अहिले उठिरहेको छ।

निर्वाचन आयोगका अनुसार कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० हुँदा एक करोड ७९ लाख ७७ हजार ७११ मत खसेको छ भने एक करोड पाँच लाख ९३ हजार ४९१ सदर मत खसेका छन् जस अनुसार ३ प्रतिशत थ्रेसहोल्ड पुरा गर्न कुल तीन लाख १७ हजार ८०५ मत पाउने दलले थ्रेसहोल्ड कटाएको मानिनेछ।

निर्वाचनसम्बन्धी कानुनी प्रावधानहरू हेर्दा भने समानुपातिक सिट प्राप्त गर्न प्रत्यक्ष निर्वाचनतर्फ सिट जित्नु अनिवार्य सर्त नभएको स्पष्ट हुन्छ।

राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५२ अनुसार कुनै राजनीतिक दलले समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेमा मात्र “राष्ट्रिय दल” को मान्यता प्राप्त गर्दछ। तर समानुपातिक निर्वाचनको परिणाम घोषणा गर्ने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६०(११) मा गरिएको छ जस अनुसार:समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ।

यसले के स्पष्ट गर्छ भने ३ प्रतिशत मत प्राप्त गर्नु समानुपातिक सिट प्राप्त गर्ने मुख्य आधार हो, प्रत्यक्ष निर्वाचनमा सिट जित्नु त्यसका लागि कानुनी सर्त होइन।

पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार `यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशत थ्रेश्होल्ड पार गर्छ भने प्रत्यक्ष निर्वाचनमा सिट नजिते पनि त्यस दलका उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्न सक्छन्।`

उनका अनुसार प्रत्यक्षतर्फ सिट जित्ने सर्त भनेको राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि आवश्यक शर्त मात्र हो, समानुपातिक सिट बाँडफाँटसँग यसको प्रत्यक्ष सम्बन्ध हुँदैन।

संयोगवश यस पटकको निर्वाचन परिणाम हेर्दा ३ प्रतिशत सीमा पार गर्ने अवस्थामा रहेका दलहरूले प्रत्यक्षतर्फ पनि सिट जितेका छन्, जसका कारण जनस्तरमा प्रत्यक्ष सिट जितेपछि मात्र समानुपातिक गणना हुन्छ भन्ने भ्रम देखिएको छ।

उदाहरणका लागि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी दुवैले प्रत्यक्षतर्फ सिट सुरक्षित गरेका छन् र समानुपातिक मत पनि उल्लेखनीय प्राप्त गरेका छन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा माधव नेपालको एकीकृत समाजवादी (CPN (Unified Socialist))ले प्रत्यक्षतर्फ १० सिट जितेको थियो । तर समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्न नसकेकाले राष्ट्रिय दलको मान्यता पाउन सकेन।

यस उदाहरणले प्रत्यक्ष सिट जित्नु र समानुपातिक थ्रेशहोल्ड पार गर्नु दुई फरक कानुनी मापदण्ड भएको स्पष्ट पार्छ।

यस पटकको समानुपातिक मतगणनाअनुसार केही मधेश केन्द्रित दलहरूले भने ३ प्रतिशत सीमा पार गर्न सकेका छैनन्। जस्तै उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल(जसपा )र जनमत पार्टी ले प्राप्त गरेको मत ३ प्रतिशतभन्दा कम देखिएको छ।

त्यसैगरी कुलमान घिसिङ नेतृत्वको समानुपातिकतर्फ बासुरी चिन्ह लिएर चुनावमा गएको पार्टीले करिब १.५९ प्रतिशत मात्र मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ उज्यालो नेपाल पार्टी ( चिम ) ले पनि एक सिट जित्न नसकेकाले संसदमा प्रतिनिधित्व नपाउने अवस्था देखिएको छ।

निष्कर्षमा भन्नुपर्दा समानुपातिकमा प्राप्त हुने ३ प्रतिशत मत नै समानुपातिकतर्फको सिट प्राप्त गर्ने आधार हो । तर, ३ प्रतिशत मतका साथमा प्रत्यक्षतर्फ १ सिट जितेपछि मात्र राष्ट्रिय दलको मान्यता प्राप्त हुन्छ । समानुपातिक सिटका लागि भने राष्ट्रिय पार्टी बनिरहन जरुरी छैन ।

यो पनि-

समानुपातिकमा खसेको ५१ पार्टीको ९ लाख भोट खेर गयो

सम्बन्धित खवर

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

काठमाडौँ । धेरै नेपालीलाई अझै थाहा नहुन सक्छ, तर सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.)...

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

प्रतिनिधिसभा निर्वाचन २०८२ ले नेपाली राजनीतिमा उल्लेखनीय मोड ल्याउँदै नयाँ पुस्ताको उदय र सुशासनप्रतिको...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...