काठमाडौँ । सरकारले मनोहराको सुकुमबासी बस्तीमा डोजर चलाउँदा पूर्वमन्त्री गोपाल किराती पनि प्रभावित बनेका छन् । बस्तीबाट हटेपछि किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मन्त्री हुँदा तलब मात्र खाइयो, त्यो त्यहीबेला सकियो।
गरीब परिवारबाट किरात वर्कर्स हुँदै माओवादी राजनीतिमा लागेका पूर्व पर्यटनमन्त्री किरातीले लेखेका छन्–
अन्त्यन्तै गरिब किसान परिवारबाट आइयो। सानैमा आफ्ना बाबु बित्नासाथ गाउँका प्रधानपञ्चले उठिबास लगाउन खोजे। २०३९ देखि ट्रेकिङ मजदुरीमा लागियो।
घरको व्यवस्थापन र प्रधानपञ्चको ज्यादतिबाट उम्कने दुई उद्देश्य थिए, त्यस उमेरको जीवनका। तत्कालीन निर्मल लामानिकट एक बुद्विजीविसँगको संगतबाट २०४० देखि क्रान्तिको अठोट गरियो। त्यसले भनियो, शोषकलाई मास्ने र गरिबको राज्य खडा गर्नेछ। विस्तारै बुझियो, मार्क्सवादको मूलनारा- जिते संसार, हारे हथकडी ! जो इमान्दारितापूर्वक पालना गर्दै आइयो।
शान्ति सम्झौतामा आएपछि धेरै बर्षसम्म पार्टीमा कार्यकर्ताको संस्थागत व्यवस्थापन नीति माग गरियो। तर, भएन। संस्थागत नीतिको अभावमा आफूले दायाँबायाँ गर्न सकिएन। मन्त्री हुँदा तलब मात्र खाइयो। त्यो त्यहीबेला सकियो। किनभने, भ्रष्टाचार गर्नु हुँदैन, कमिशन खानु हुँदैन भन्नेमा हामी दृढ रह्यौं।
यसरी पैतृक अथवा निजी सम्पति नभएको जननिर्भर सर्वहारा मानिस सुकुमवासी बस्तीमा पुगियो।
घेरै पटक साथीभाइसँग सरसापटी लिएर जिविकोपार्जनमा लाग्ने कि भनेर सोच्दै आइयो। त्यो सीमित मात्र हुनेछ। किनभने, बैंकबाट ऋण लिन धितो राख्ने कुनै वस्तु छैन, मसँग। अत: भनेजस्तो बजेट हुँदैन। बजेट नभएपछि, सरसापटको सीमित बजेटले कामदार राख्न सकिन्न, आफैँमात्र खट्नुपर्छ। नखटे पेटपाला र ऋण तिर्न सकिन्न।
त्यसरी खट्दा राजनीतिक आन्दोलन छुट्न पुग्छ, जसका लागि १८ बर्षको उमेरदेखि यो जीवन समर्पित रहँदै आएको छ। सम्झन्छु, यो जीवनले कमाएको दुई सम्पति हो-
पहिलो, देशवासी जनतामाझ परिचय । र, दोस्रो, अनुभवसिद्व ज्ञान। जुन सम्पति जनताको लगानीबाट, खासमा सहिद, बेपत्ता योद्वा र कार्यकर्ता साथीहरुको लगानीबाट आर्जन भएको हो। त्यसैले आन्दोलन निर्माणको दृढता छोड्न सकिएन, आफू चिन्ते बन्न मिलेन।
म पूरै आशावादी छु, नेपाली कम्युनिस्ट पार्टीको आशन्न महाधिवेशनबाट अपेक्षित लाइन निर्माण गरौं। सबै कुरा ठीक गर्न सकिन्छ। जसका निमित्त पार्टीका नेता कार्यकर्ता सबैले गम खानु पर्यो । अन्यथा यो किरातीले जीवन निर्वाहको बाटो रोज्नै पर्ने हुन्छ। किनभने देश, जनता, वर्ग र समुदायका नाममा खट्दा खट्दै ६१ बर्ष व्यतीत गर्दैछ, यो जीवनले। उप्रान्त कसरी बाँच्ने < प्रधान मुद्दा बन्दैछ।
ध्यान रहोस, पार्टीका कमरेडहरु साँच्चै लेनिनवादी हुनुहुन्छ भने लेनिनले दृढतापूर्वक भनेका छन्- क्रान्ति गर्ने कम्युनिस्ट पार्टीमा पेशेवर क्रान्तिकारी डप्फा हुनैपर्छ। जसलाई, माओले भनेका छन्- सेनाबिनाको जनतासँग आफ्नो भन्ने केही हुँदैन।
यहाँ पूर्णकालीन डब्लुटी भनियो, यो किराती जननिर्भर डब्लुटी हो।

