काठमाडाैँ । प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेला प्रतिनिधिसभामा ‘पर्यटन विधेयक, २०८२’ पेस गरिएको छ । विरोधका बीच सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई विधेयक प्रस्तुत गर्न समय दिएका हुन् ।
प्रतिनिधिसभाको बैठकको कार्यसूचीअनुसार मन्त्री पौडेलले ‘पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा पेस गरे । विपक्षी सांसदहरूले नाराबाजी जारी राखे पनि सभामुखले प्रक्रिया अघि बढाएका थिए । त्यसपछि विधेयकमाथि छलफलसमेत सुरु भएको थियो ।
छलफलमा सत्ता पक्षका सांसद अशाेक चाैधरी, सुशिल खड्का र जगदिश खरेलले भाग लिएका थिए । ललितपुर–३ बाट निर्वाचित सांसद खरेल बोलिरहेकै बेला विपक्षी दलहरूको विरोध अझ चर्किएको थियो । लगातारको अवरोधपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका हुन् ।

