दमौली (तनहुँ) । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताए ।
उनले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने उनले उल्लेख गरे ।
प्रधानन्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

