काठमाडौँ । रौतहटको राजपुर नगरपालिका-५ जनता (नमूना) माध्यमिक विद्यालयको प्रि–स्कुल ब्लक निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले विद्यालय भवन निर्माणमा नभएको कामको झुट्टा बिल बनाएर ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत, इन्जिनियर, प्रधानाध्यापक र लेखापाललाई प्रतिवादी बनाएको हो ।
आयोगका अनुसार, २०७५ फाल्गुन ०३ मा राजपुर नगरपालिकाले विद्यालयको नमूना विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको थियो । परामर्शदाता डी.बी. मल्टी इन्जिनियरिङ कन्सल्टेन्टले तयार पारेको आठकोठे भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसा थियो ।
पछिल्लो समय उक्त लागत संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा पुर्याइएको थियो । निर्माण समितिले २०७७ माघ १६ को बैठकबाट भवन निर्माणको मूल्यांकन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारी कुल १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ १० पैसा बराबरको भुक्तानी प्रक्रिया अघि बढाएको देखिएको छ ।
तर अख्तियारको स्थलगत नापजाँचमा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम नै नभएको पाइएको छ । प्रतिवादीहरूले बदनियतपूर्वक नभएको कामको भरपाई र बिल बनाएर बढी मूल्यांकन गरी सरकारी तथा विद्यालय कोषलाई हानि पुर्याएको आयोगको ठहर छ ।
आरोपितहरू बैजु ठाकुर (तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, राजपुर नगरपालिका) ,मोहम्मद शाह फैसल (तत्कालीन इन्जिनियर, राजपुर नगरपालिका), विजयकान्त मिश्र (तत्कालीन प्रधानाध्यापक, जनता माध्यमिक विद्यालय) र शेख जहिर (लेखापाल, जनता माध्यमिक विद्यालय) रहेका छन् ।
आयोगले प्रतिवादीहरूका विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, विगोबराबर जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति –

