काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बीमासम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले थुनामा पठाएकाले उनीहरू तत्काल रिहा हुने छैनन् ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार एक सातासम्म चलेको निरन्तर थुनछेक बहसपछि आदेश सुनाउँदै विभिन्न मुद्दामा करोडौं रुपैयाँ धरौटी तोकेको हो ।
अदालतको आदेशअनुसार बीमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तै, धितोपत्रसम्बन्धी कसुरमा सुलभ अग्रवाललाई २ करोड ३० लाख रुपैयाँ र दीपक भट्टलाई १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिइएको छ ।
त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित छुट्टै मुद्दामा पनि अदालतले सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अदालतले असार २४ गतेदेखि निरन्तर सुनुवाइ गर्दै बिहीबार थुनछेक आदेश जारी गरेको हो । आदेशअनुसार तोकिएको धरौटी बुझाएपनि दुवै जना सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहनेछन् ।

