काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको परीक्षासम्बन्धी परीक्षा कार्यक्रम, परीक्षार्थीले पालना गर्नुपर्ने नियम तथा मस्यौदा लेखनका लागि अध्ययन गर्नुपर्ने नजिरहरूको सूची सार्वजनिक गरेको छ । परिषद्ले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षा संविधान तथा कानूनसम्बन्धी बहुवैकल्पिक प्रश्न, कानून अंग्रेजी-नेपाली अनुवाद र मस्यौदा लेखन गरी विभिन्न चरणमा सञ्चालन हुने भएको छ ।
परीक्षा कार्यक्रमअनुसार प्रथम पत्रमा संविधान र कानूनसम्बन्धी बहुवैकल्पिक प्रश्न सोधिनेछ । उक्त पत्रको पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ५० तोकिएको छ । परीक्षाका लागि १ घण्टा ३० मिनेटको समय निर्धारण गरिएको छ ।
द्वितीय पत्रअन्तर्गत कानून अंग्रेजी-नेपाली अनुवादका लागि १० अंकको व्यवस्था गरिएको छ । यसमा अंग्रेजीबाट नेपाली र नेपालीबाट अंग्रेजी अनुवादका लागि समान ५/५ अंक छुट्याइएको छ । यसका लागि ३० मिनेट समय निर्धारण गरिएको छ ।
द्वितीय पत्रअन्तर्गत नै मस्यौदा लेखन विषयको परीक्षा सञ्चालन हुनेछ । मस्यौदा लेखनका लागि ९० अंक छुट्याइएको छ भने परीक्षार्थीले ३ घण्टा ३० मिनेटमा परीक्षा पूरा गर्नुपर्नेछ ।
परिषद्को २०८२ मंसिर ७ गतेको निर्णयअनुसार अभिवक्ताको प्रमाणपत्र प्राप्त गरी निरन्तर रूपमा परिषद्मा अद्यावधिक रहेकाहरूका हकमा भने दोस्रो पत्रअन्तर्गत मस्यौदा लेखन विषयको मात्र परीक्षा लिइने भएको छ । उनीहरूले कानून अंग्रेजी-नेपाली अनुवादको परीक्षा दिनुपर्ने छैन ।
त्यस्ता अभिवक्ताका लागि देवानी, फौजदारी र रिटसम्बन्धी तीनवटा मस्यौदाको कुल पूर्णाङ्क १०० निर्धारण गरिएको छ । उक्त परीक्षामा उत्तीर्ण हुन कम्तीमा ४५ अंक प्राप्त गर्नुपर्ने परिषद्ले जनाएको छ ।
अनलाइन फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएबमोजिम कानून व्यवसायी प्रमाणपत्रमा नामलगायतका विवरण उल्लेख हुने भएकाले नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम फरक भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट एउटै व्यक्ति भएको पुष्टि हुने सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।
त्यस्तै, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा स्थानीय तहको सिफारिस, बसाइँसराइको प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रमध्ये आवश्यक कागजात पेश गर्नुपर्ने परिषद्ले जनाएको छ । फाराममा उल्लेख गरिने आमाको नामसमेत प्रमाणपत्रमा समावेश हुने भएकाले आमाको नागरिकतामा उल्लेख भएको नाम नै राख्नुपर्नेछ ।
परीक्षार्थीले परीक्षा अवधिभर प्रवेशपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ । प्रवेशपत्रबिना परीक्षा हलमा प्रवेश गर्न वा परीक्षा दिन नपाइने परिषद्ले स्पष्ट गरेको छ । परीक्षा सुरु भएको आधा घण्टापछि कुनै पनि परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश नदिइने र परीक्षा सुरु भएको एक घण्टा नपुगेसम्म परीक्षा भवन छाड्न नपाइने व्यवस्था गरिएको छ ।
परीक्षार्थीले तोकिएको सिट प्लानअनुसार निर्धारित स्थानमा बसेर परीक्षा दिनुपर्नेछ । केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना सिट परिवर्तन गर्नसमेत पाइने छैन ।
परीक्षा हलमा मोबाइल फोन, क्याल्कुलेटर, ब्लुटुथ, आइप्याड, ट्याबलेट, इयरफोन, स्मार्टवाचलगायतका विद्युतीय उपकरण लैजान तथा साथमा राख्न निषेध गरिएको छ ।
सरुवा रोगी, अस्वस्थ वा अपाङ्गता भएका परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टाअघि आफ्नो वास्तविक अवस्थाबारे केन्द्राध्यक्षलाई जानकारी गराउनुपर्नेछ । दृष्टिविहीन तथा हातले लेख्न नसक्ने परीक्षार्थीले सहयोगी लेखकको व्यवस्था गर्न परिषद्को कार्यालयमा अनुरोध गर्न सक्नेछन् । परिषद्ले आवश्यक अध्ययन गरी सम्बन्धित परीक्षाका लागि तोकिएको योग्यताभन्दा एक तह मुनि अध्ययनरत व्यक्तिलाई सहयोगी लेखकका रूपमा अनुमति दिन सक्ने जनाएको छ ।
उत्तर लेख्दा परीक्षार्थीले कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ । कालो मसीबाहेक अन्य रङको मसी वा सिसाकलम प्रयोग गरेको वा उत्तरपुस्तिकामा कुनै संकेत गरेको पाइएमा उत्तरपुस्तिका परीक्षण नगरिने परिषद्ले जनाएको छ ।
बहुवैकल्पिक परीक्षामा प्रश्नपत्रको कुन समूह अर्थात् ‘की’ परेको हो, सो अनिवार्य रूपमा उत्तरपुस्तिकामा उल्लेख गर्नुपर्नेछ । ‘की उल्लेख नगरेमा परीक्षा रद्द हुने परिषद्को सूचनामा उल्लेख छ । बहुवैकल्पिक प्रश्नको उत्तर दिँदा सही उत्तरका लागि तोकिएको कोठामा कालो मसीले धब्बा लगाउनुपर्नेछ ।
बहुवैकल्पिक परीक्षापछि प्रश्नपत्रसमेत उत्तरपुस्तिकासँगै फिर्ता गर्नुपर्नेछ । प्रश्नपत्र नबुझाई परीक्षार्थीले आफूसँगै लगेको पाइएमा त्यस्तो परीक्षार्थीको परीक्षा स्वतः रद्द हुने परिषद्ले जनाएको छ ।
मस्यौदा लेखन परीक्षाका लागि परिषद्ले देवानी, फौजदारी र रिटसम्बन्धी गरी १५ वटा नजिर तोकेको छ । परिषद्का अनुसार मस्यौदा लेखनमा अध्ययन गर्नुपर्ने देवानीतर्फ पाँच, फौजदारीतर्फ पाँच र रिटतर्फ पाँचवटा नजिर रहेका छन् ।
देवानीतर्फ तोकिएका नजीरहरु:
१. पुनरावेदक/प्रतिवादी नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय समेत वि. बिन्दु कुमार थापा, मुद्दाः निर्णय बदर, नेकाप, २०८२, अंक ५, नि.नं. ११४२५ ।
२. पुनरावेदक/वादी अयोध्या यादव वि. सीताराम चमार मुद्दाः निखनाई पाउँ, नेकाप २०८१, अंक ९, नि.नं. ११३४३ ।
३. पुनरावेदक/प्रतिवादी मीरा पुडासैनी वि. लक्ष्मी पुडासैनी समेत, मुद्दाः लिलाम दर्ता दाखिल खारेजसमेत बदर गरी नामसारी दर्ता, नेकाप, २०८२, अंक ४, नि.नं. ११४१८ ।
४. पुनरावेदक/वादी पवनकुमार मल्ल वि. निर्मला श्रेष्ठ, मुद्दाः बकसपत्र लिखत बदर गरी अंश नामसारी, नेकाप, २०८१, अंक ११, नि.नं. ११३६४ ।
५. पुनरावेदक/बादी जुगल साह व्याहुत सुडीसमेत वि. भूमिसुधार तथा व्यवस्था मन्त्रालयसमेत, मुद्दाः हक कायम दर्ता बदर दर्ता, नेकाप, २०८२, अंक १, नि.नं. ११३८६ ।
फौजदारीतर्फ तोकिएका नजीरहरु:
६. पुनरावेदक/प्रतिवादी सुमन तामाङ वि. परिवर्तित नाम बालाजु ४ को जाहेरीले नेपाल सरकार, मुद्दाः मानव बेचबिखन तथा ओसारपसार, नेकाप २०८१, अंक ८, नि.नं. ११३२४ ।
७. दिपेन्द्र कुमार चौधरी समेतको जाहेरीले नेपाल सरकार वि. जगदिश प्रसाद साह समेत, मुद्दाः गोली हानी मारेको कर्तव्य ज्यान, नेकाप २०८२, अंक १२, नि.नं. ११५१९ ।
८. पुनरावेदक/प्रतिवादी मनौवर हसन वि. सविया तनविर हसनको जाहेरीले नेपाल सरकार, मुद्दाः बहुविवाह, नेकाप, २०८१, अंक ८. नि.नं. ११३३५ ।
९. पुनरावेदक/प्रतिवादी गिरीराज वि.क. वि. दाङ ५६ (८)क को जाहेरीले नेपाल सरकार, मुद्दाः जबरजस्ती करणी, नेकाप, २०८२, अंक २, नि.नं. ११४०० ।
१०. पुनरावेदक/प्रतिवादी जियालाल महतो वि. प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार, मुद्दाः लागु औषध (नुफिनसमेत), नेकाप, २०८२, अंक ८, नि.नं. ११४७८ ।
रिटसम्बन्धी तोकिएका नजीरहरु:
११. निवेदक डा. रामदेव यादव समेत वि. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत, मुद्दाः उत्प्रेषण समेत, नेकाप, २०८२, अंक ४, नि.नं. ११४१७ । १२. निवेदक निरन्जनबहादुर अमात्य समेत वि. सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, मुद्दाः उत्प्रेषण समेत, नेकाप, २०८२, अंक ३, नि.नं. ११४१३ ।
१३. निवेदक हिक्मतकुमार कार्की वि. कोशी प्रदेश विराटनगर समेत, मुद्दाः उत्प्रेषण/परमादेश, नेकाप, २०८१, अंक १०, नि.नं. ११३५६ ।
१४. निवेदक बालकृष्ण नेउपाने समेत वि, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुद्दाः उत्प्रेषण समेत, नेकाप, २०८२, (संवैधानिक इजलास खण्ड) भाग ६, अंक १, नि.नं. ०११६ ।
१५. निवेदक राजन माझी समेत वि. नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत, मुद्दाः बन्दीप्रत्यक्षीकरण समेत, नेकाप, २०८२, अंक १०, नि.नं. ११४९१ ।
परिषद्ले मस्यौदा लेखन विषयका लागि तोकिएका नजिरहरूको सूची आफ्नो वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ । लिखित परीक्षाको परीक्षाफल प्रकाशित गर्दा अन्तर्वार्ता र बहस कलाका लागि निर्धारित नजिर तथा अन्तर्वार्ता र बहस कलासम्बन्धी कार्यतालिकासमेत प्रकाशन गरिने परिषद्ले जनाएको छ ।

