‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

जस नेपाल

२० साउन २०८३

‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

काठमाडौँ । भारतका सर्वोच्च अदालतका न्यायाधीश जयमाल्य बाग्चीले सामाजिक सञ्जालले न्याय प्रणालीमाथि बढ्दो प्रभाव पार्दै न्यायलाई ‘लाइक’को बजारमा रूपान्तरण गर्ने जोखिम बढाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने होडले न्यायको मार्गनिर्देशन गर्न नसक्ने र संवैधानिक मूल्य तथा कानुनी शासनलाई कुनै पनि हालतमा कमजोर पार्न नहुने बताएका हुन् ।

डिजिटल युगले न्याय प्रणालीमा पारेको प्रभावबारे बोल्दै न्यायाधीश बाग्चीले सामाजिक सञ्जालका एल्गोरिदमले तथ्यभन्दा सनसनीलाई बढी प्राथमिकता दिने र जटिल कानुनी विषयलाई ट्रेन्डिङ पोस्ट तथा भाइरल कथामा सीमित गरिदिने प्रवृत्ति बढेको बताए । अदालतले कुनै मुद्दामा ‘लाइक’ , ‘सेयर’ वा ‘ह्यासट्याग’को आधारमा होइन, प्रमाण, कानून र संविधानका आधारमा निर्णय गर्ने उनले स्पष्ट पारे ।

उनले पछिल्लो समय बढ्दै गएको ‘ट्रायल बाइ सोसल मिडिया’ प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । अदालतले तथ्यको परीक्षण गर्नुअघि नै सामाजिक सञ्जालमा व्यक्तिलाई दोषी वा निर्दोष ठहर गर्ने प्रवृत्तिले निष्पक्ष न्यायिक प्रक्रियामाथि असर पार्ने र फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त मानिने ‘दोष प्रमाणित नभएसम्म निर्दोष’ रहने मान्यतालाई कमजोर बनाउने उनको भनाइ थियो ।

न्यायाधीश बाग्चीले न्यायाधीशहरू सार्वजनिक दबाबबाट, विशेषगरी सामाजिक सञ्जालमार्फत सिर्जना हुने दबाबबाट, मुक्त रहनुपर्ने बताए । संवैधानिक अदालतहरूको दायित्व कानुनी शासनको रक्षा गर्नु र लोकप्रिय वा अलोकप्रिय जे भए पनि प्रत्येक व्यक्तिको अधिकार संरक्षण गर्नु भएको उल्लेख गर्दै उनले न्यायिक स्वतन्त्रता भनेको कानुनी तर्क र प्रमाणका आधारमा मात्र निर्णय लिनु भएको बताए ।

उनले सामाजिक सञ्जालका व्यावसायिक पक्षबारे पनि टिप्पणी गर्दै बढी प्रयोगकर्ता आकर्षित गर्न डिजिटल प्लेटफर्महरूले उत्तेजक र भावनात्मक सामग्रीलाई प्राथमिकता दिने गरेकाले गम्भीर कानुनी बहस विस्थापित हुँदै गएको बताए ।

सामाजिक सञ्जालले सूचना प्रवाह र कानुनी बहसमा जनसहभागिता बढाएको स्वीकार गर्दै उनले यसले गलत सूचना, एकपक्षीय प्रस्तुति र ध्रुवीकरण पनि बढाएको बताए । यस्ता प्रवृत्ति नियन्त्रण नभए न्यायपालिका लगायत लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास कमजोर हुन सक्ने उनको चेतावनी थियो ।

अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भए पनि त्यससँग जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै उनले न्यायिक प्रक्रियाको निष्पक्षता र संवैधानिक संस्थाप्रतिको सम्मान कायम रहने गरी सार्वजनिक बहस हुनुपर्ने बताए।

सम्बोधनको अन्त्यमा न्यायाधीश बाग्चीले न्यायलाई सामाजिक सञ्जालको लोकप्रियताको प्रतिस्पर्धा बन्न दिन नहुने भन्दै अदालतको वैधता ‘लाइक’ वा ट्रेन्डबाट होइन, संविधान र कानुनी शासनबाट प्राप्त हुने भएकाले त्यसको संरक्षण लोकतन्त्रका लागि अपरिहार्य रहेको बताए ।

बार एण्ड बेञ्चबाट साभार

सम्बन्धित खवर

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह...

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

काठमाडौँ । इरानले अमेरिकासँग शान्ति वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार...

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अनुमान...

निर्मल पुर्जाको विरासत !

निर्मल पुर्जाको विरासत !

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी आरोहण दलका सबै १० सदस्यको मृत्यु भयो, जसमध्ये छ...