बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

जस नेपाल

२० साउन २०८३

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह झल्किने, पीडितलाई दोषी ठहर गर्ने वा नैतिकताको आधारमा मूल्याङ्कन गर्ने शब्दावली प्रयोग नगर्न देशभरका न्यायाधीशलाई निर्देशन दिएको छ ।

पूर्वसर्वोच्च अदालतका न्यायाधीश अनिरुद्ध बोसको नेतृत्वमा गठित विज्ञ समितिले तयार पारेको ‘Judgments and Gender: Sensitivity and Compassion in Writing Judgments’ प्रतिवेदनका आधारमा जारी सिफारिसमा अदालतहरूले यौन हिंसासम्बन्धी मुद्दामा सहमति , मानवीय गरिमा र पीडितको अधिकारलाई केन्द्रमा राखेर फैसला लेख्नुपर्ने उल्लेख गरिएको छ ।

समितिले ‘प्रोसिक्युट्रिक्स’, ‘असहाय महिला’, ‘चरित्र गुमाइन्’, ‘महिलाको लाजमर्दो अवस्था बनाइयो’ जस्ता पितृसत्तात्मक सोच झल्काउने शब्दावली प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्दले पीडितलाई पुनः मानसिक पीडा पुर्‍याउने भन्दै ‘पीडित’, ‘बाँचेकी Survivor’, ‘उजुरीकर्ता’, ‘यौन हिंसा’ तथा ‘शारीरिक स्वायत्तता’ जस्ता तटस्थ र कानुनी रूपमा उपयुक्त शब्द प्रयोग गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनमा ‘इज्जत’, ‘लाज’, ‘पवित्रता’ वा ‘चरित्र’ जस्ता अवधारणाले महिलाको मूल्यलाई यौन शुद्धता वा पारिवारिक प्रतिष्ठासँग जोड्ने पुरानो सोचलाई बल पुग्ने उल्लेख गर्दै न्यायिक तर्क सहमति, गरिमा, शारीरिक स्वायत्तता र संवैधानिक अधिकारमा आधारित हुनुपर्ने बताइएको छ ।

समितिले बलात्कारसम्बन्धी मुद्दामा ढिलो उजुरी परेको, पीडितले शारीरिक प्रतिरोध नगरेको वा शरीरमा चोटपटक नदेखिएको आधारमा सहमति भएको निष्कर्ष निकाल्न नहुने पनि स्पष्ट पारेको छ । यस्ता परिस्थितिलाई सहमतिको प्रमाण मान्न नमिल्ने र आघातप्रति प्रत्येक व्यक्तिको प्रतिक्रिया फरक-फरक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, जबर्जस्ती करणीलाई ‘शारीरिक सम्बन्ध’ वा ‘वासना’बाट प्रेरित कार्यका रूपमा चित्रण गर्न नहुने भन्दै अदालतले ‘बलात्कार’, ‘यौन आक्रमण’ वा ‘यौन हिंसा’ जस्ता स्पष्ट कानुनी शब्दावली प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । ‘वासना’ जस्ता शब्दले पुरुषको यौन आक्रामकतालाई सामान्यीकरण गर्ने र अपराधको गम्भीरतालाई कम आँक्ने प्रतिवेदनको निष्कर्ष छ ।

समितिले सुनुवाइका क्रममा पीडितको यौन इतिहास, पहिरन वा व्यक्तिगत आचरणबारे अपमानजनक प्रश्न सोध्न नदिने दायित्व पनि न्यायाधीशकै भएको उल्लेख गरेको छ । कुनै महिलाको पहिरन वा व्यवहारका आधारमा उनको चरित्र वा नैतिकताको मूल्याङ्कन गर्नु सभ्य समाजमा अस्वीकार्य रहेको प्रतिवेदनमा भनिएको छ ।

यसका साथै, अदालतले पीडितको गोपनीयता, सुरक्षा र सम्मान सुनिश्चित गर्न बन्द इजलास ‘इन-क्यामेरा सुनुवाइ’, साक्षी संरक्षण, कानुनी सहायता, पूर्वसुनुवाइ परामर्श तथा आवश्यक सुरक्षा व्यवस्था स्वतः सुनिश्चित गर्नुपर्ने सिफारिस पनि समितिले गरेको छ ।

भारतको सर्वोच्च अदालतले २०२६ फेब्रुअरी १० मा दिएको एक फैसलापछि यौनजन्य अपराध तथा अन्य संवेदनशील मुद्दामा न्यायिक संवेदनशीलता बढाउने उद्देश्यले उक्त विज्ञ समिति गठन गरिएको थियो ।

सम्बन्धित खवर

‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

काठमाडौँ । भारतका सर्वोच्च अदालतका न्यायाधीश जयमाल्य बाग्चीले सामाजिक सञ्जालले न्याय प्रणालीमाथि बढ्दो प्रभाव...

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

काठमाडौँ । इरानले अमेरिकासँग शान्ति वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार...

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अनुमान...

निर्मल पुर्जाको विरासत !

निर्मल पुर्जाको विरासत !

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी आरोहण दलका सबै १० सदस्यको मृत्यु भयो, जसमध्ये छ...