तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

जस नेपाल

२० साउन २०८३

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायपालिका र न्यायाधीशप्रति प्रश्न उठाउने तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिने आशयको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको विषयमा छलफल गर्दै एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचसँग आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति समीक्षा बास्कोटाले ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माणसम्बन्धी अधिकारमा हस्तक्षेप गरेको समितिको ठहर रहेको बताइन् । उनका अनुसार साउन २४ गते जारी गरिएको संयुक्त विज्ञप्तिबारे आधिकारिक प्रमाणसहित स्पष्टीकरण मागेर त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिइएको छ ।

समितिले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले स्वीकृत उद्देश्य र तोकिएका कार्यअनुसार काम गरे–नगरेको विषयमा सूक्ष्म, प्रभावकारी र नियमित अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलासम्बन्धी कपोलकल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाइन् । उनले नेपालको सार्वभौमिकता कुनै पनि परिस्थितिमा सम्झौता वा बाह्य टिप्पणीको विषय बन्न नसक्ने स्पष्ट पार्दै उक्त संयुक्त विज्ञप्तिमा राजनीतिक गन्ध देखिएको टिप्पणी गरिन् ।

मन्त्री गौतमले सरकारका कुनै पनि प्रतिनिधिले संवैधानिक निकायका पदाधिकारीमाथि राजनीतिक दबाब नदिएको उल्लेख गर्दै नेपालमा कार्यरत सबै अन्तर्राष्ट्रिय संस्थाले नेपालको संविधान, कानुन, समाज र जनभावनाको सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा सांसदहरूले पनि न्यायपालिकामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा राख्दै आवश्यक निर्णय लिन समितिलाई आग्रह गरेका थिए ।

समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचका प्रतिनिधिलाई बोलाएको भए पनि उनीहरू बैठकमा उपस्थित भएका थिएनन् ।

सम्बन्धित खवर

धनुषामा सम्बन्धविच्छेदका घटना बढे : जिल्ला अदालत

धनुषामा सम्बन्धविच्छेदका घटना बढे : जिल्ला अदालत

जनकपुरधाम । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालतको...

अनसनमा बसेकी ज्योति रानाभाटसँग सरकारले गर्यो १९ बुँदे सहमति

अनसनमा बसेकी ज्योति रानाभाटसँग सरकारले गर्यो १९ बुँदे सहमति

काठमाडौँ । विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी...

उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

उच्च अदालत बार पाटनको निर्वाचन : अध्यक्ष र सचिव पदमा तीन-तीन जनाको उम्मेदवारी

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमिति (आर्थिक वर्ष २०८३–०८५) निर्वाचनका लागि उम्मेदवारहरूको...

३५ औँ अधिवक्ता तहको परीक्षा कार्यक्रम सार्वजनिक, १५ नजिर तोकिए

३५ औँ अधिवक्ता तहको परीक्षा कार्यक्रम सार्वजनिक, १५ नजिर तोकिए

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको परीक्षासम्बन्धी परीक्षा कार्यक्रम, परीक्षार्थीले पालना गर्नुपर्ने...