संविधान बुझ्न पढ्नैपर्ने यी पुस्तक

२४ वैशाख २०८३

संविधान बुझ्न पढ्नैपर्ने यी पुस्तक

काठमाडौँ । नेपालको संवैधानिक इतिहास निरन्तर परिवर्तन, सङ्घर्ष र पुनर्व्याख्याको यात्रा हो । छोटो समयमै विभिन्न संविधानहरू अनुभव गरेको नेपालले संविधानलाई केवल लिखित कानूनी दस्तावेजको रूपमा होइनस समय, समाज र जनचेतनासँगै विकसित हुने ‘living document’ का रूपमा बुझ्दै आएको छ । यही कारणले संविधान कहिलेकाहीँ अस्पष्ट, बहुअर्थी र व्याख्यामा निर्भर देखिन्छ ।

पछिल्ला वर्षहरूमा नेपालले गहिरो संवैधानिक रूपान्तरण अनुभव गरेको सन्दर्भमा, संविधान र संवैधानिक कानूनलाई बुझ्ने रुचि केवल कानून विद्यार्थीहरूमा मात्र सीमित छैन । विशेषतः अन्तरिम सरकारको नेतृत्वसम्बन्धी बहसमा जेन–जेड पुस्ताले संविधानको व्याख्यात्मक आवश्यकता उठाउनु, संविधान केवल एक(दुई धारा पढेर बुझिने विषय होइन भन्ने कुराको स्पष्ट उदाहरण हो ।

यस्तो सन्दर्भमा संविधानलाई कसरी पढ्ने, कसरी व्याख्या गर्ने र कसरी प्रयोग गर्ने भन्ने प्रश्न अझै महत्वपूर्ण बनेको छ । सामान्य पाठकका लागि पनि संविधानबारे गहिरो, तर सुलभ ज्ञान दिने नेपाली र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त केही लेखकका कृतिहरू अत्यन्त महत्वपूर्ण छन् ।

तल उल्लेख गरिएका लेखक लिखित पुस्तकहरू नेपालमा संवैधानिक कानून अध्ययनका लागि अत्यन्त उपयोगी मानिन्छन् ।

१. डा. भीमार्जुन आचार्य

नेपालका अग्रणी संवैधानिक कानूनविद् डा. भीमार्जुन आचार्य सन् १९९६ देखि सर्वोच्च अदालतमा संवैधानिक कानूनको अभ्यास गर्दै आएका वरिष्ठ अधिवक्ता हुन् । संवैधानिक कानूनमा एलएलएम (दर्शनाचार्य) र पीएचडी (विद्यावारिधि) हासिल गरेका डा. आचार्यले अध्यापन, अनुसन्धान र कानूनी अभ्यास तीनै क्षेत्रलाई समान रूपमा योगदान दिएका छन् ।

उनका कृतिहरू Constitution and ConstitutionalismThe Concept of Judicial Review ले संविधानवाद र न्यायिक पुनरावलोकनजस्ता जटिल विषयलाई सैद्धान्तिक र व्यवहारिक दृष्टिकोणबाट व्याख्या गर्छन् ।

नेपाली भाषामा लेखिएको कानून र राजनीति पुस्तकले कानून र राजनीतिक शक्तिबीचको सम्बन्धलाई सरल तर गहिरो रूपमा प्रस्तुत गर्छ । संविधानलाई केवल कानूनी पाठ होइन, राजनीतिक र सामाजिक संरचनासँग जोडेर बुझ्न चाहने पाठकका लागि डा. आचार्यका लेखनहरू अत्यन्त उपयोगी छन् ।

२. प्रा.डा. विपिन अधिकारी

तीन दशकभन्दा लामो संवैधानिक कानूनी अनुभव भएका प्रा.डा. विपिन अधिकारी नेपालको संवैधानिक चिन्तन र सार्वजनिक नीतिको क्षेत्रमा प्रभावशाली नाम हुन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल का संस्थापक डीन रहिसकेका अधिकारीले संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूसँग पनि काम गरेका छन् ।

उनले सम्पादन गरेको A Treatise on the Constitution of Nepal 2015 संविधान २०७२ को गहिरो विश्लेषण गर्ने महत्वपूर्ण ग्रन्थ हो । त्यसैगरी Salient Features of the Constitution of Nepal, 2015 ले संविधानका प्रमुख विशेषताहरूलाई सामान्य पाठकले बुझ्ने भाषामा प्रस्तुत गर्छ । नेपालका संवैधानिक निकाय, मानव अधिकार र संविधान निर्माण प्रक्रियामा रुचि राख्ने पाठकका लागि अधिकारीका कृतिहरू विश्वसनीय स्रोत मानिन्छन् ।

३. न्यायाधीश कल्याण श्रेष्ठको काममाथि आधारित अध्ययन

नेपालको संवैधानिक न्यायशास्त्रको विकासमा सम्माननीय पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको योगदान ऐतिहासिक छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशित Towering Judges: A Comparative Study of Constitutional Judges पुस्तकभित्र समावेश अध्यायले न्यायाधीश श्रेष्ठको संवैधानिक निर्णयहरू, प्रशासनिक सुधार र अन्तर्राष्ट्रिय कानूनी मान्यतासँग नेपाली कानूनी संस्कृतिको संयोजनलाई विश्लेषण गर्छ ।

सन्‌ २००५ देखि २०१६ सम्मको राजनीतिक संक्रमणकालमा उनले दिएका फैसलाहरूले नेपालको संवैधानिक पहिचान निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ । संवैधानिक न्यायाधीशको भूमिकालाई तुलनात्मक दृष्टिकोणबाट बुझ्न चाहने पाठकका लागि यो अध्ययन विशेष महत्वको छ ।

४. डा. चन्द्रकान्त ज्ञवाली

नेपाली संवैधानिक कानून क्षेत्रमा पाठ्यपुस्तककै रूपमा स्थापित नाम हुन् डा. चन्द्रकान्त ज्ञवाली । नेपालको संवैधानिक कानून नेपालको संविधानमाथि टिप्पणी (भाग १ र २) उनका सर्वाधिक चर्चित कृतिहरू हुन्, जसले संविधानको संरचना, संघीयता र न्यायिक अभ्यासलाई विस्तृत रूपमा व्याख्या गर्छ ।

उनका लेखहरू विश्वविद्यालय तहमा मात्र होइन, संविधानलाई गम्भीर रूपमा अध्ययन गर्न चाहने सामान्य पाठकका लागि पनि मार्गदर्शक मानिन्छन् । संघीयता, तुलनात्मक संवैधानिक अध्ययन र न्यायिक दृष्टिकोण उनका प्रमुख विषय क्षेत्र हुन् ।

संवैधानिक कानूनको अध्ययन केवल कानून व्यवसायीका लागि सीमित विषय होइन । नागरिक चेतना र लोकतान्त्रिक अभ्यासको लागि पनि संविधानलाई बुझ्नु अपरिहार्य छ ।

माथि उल्लेखित लेखक र उनीहरूका कृतिहरूले संविधानलाई जटिल कानूनी भाषाबाट बाहिर ल्याएर विचार, बहसको विषय बनाएका छन् । संविधानबारे गहिरो तर अर्थपूर्ण पढाइ खोज्ने सामान्य पाठकका लागि यी पुस्तकहरू उत्तम सुरुवात हुन सक्छन् ।

याे पनि :

सुशीलाको न्याय : केपी ओलीप्रति नरम

सम्बन्धित खवर

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्रको गहिराइ बुझ्न अत्यावश्यक सात पुस्तकहरु

विश्लेषणात्मक विधिशास्त्र ‘Analytical School of Jurisprudence’ प्राकृतिक कानूनको प्रत्यक्ष प्रतिक्रियाका रूपमा विकसित भएको थियो...

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून बुझ्न पढ्नैपर्ने नाै पुस्तकहरू

प्राकृतिक कानून ‘Natural School of Law’ विधिशास्त्रको सबैभन्दा पुरानो र प्रभावशाली धारामध्ये एक हो...

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

कानूनका विद्यार्थी र मन्त्रीले पढ्नुपर्ने कटक मल्लको किताब : न्याय–अन्याय

नेपाललाई विश्वमा सानो, गरीब र पिछडिएको देश भनिता पनि केही वौद्धिक व्यक्तिहरुको अन्तरराष्ट्रिय उचाइले...

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव...