काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत सञ्चालन हुने १० सेमेष्टर (५ वर्षे) बी.ए.एलएल.बी. कार्यक्रमको शैक्षिक सत्र २०८३/०८४ का लागि आज शुक्रबारदेखि प्रवेश परीक्षा आवेदन फारम खुला गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालय, बल्खुद्वारा प्रकाशित सूचनाअनुसार पहिलो सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाको आवेदन अनलाइन प्रणालीमार्फत भर्न सकिनेछ ।
यस वर्ष त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ५७० सिट का लागि प्रवेश प्रक्रिया सञ्चालन हुने भएको छ । सिट विवरणअनुसार नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा १६०, पृथ्वीनारायण क्याम्पस पोखरामा ८०, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा ७०, बुटवल बहुमुखी क्याम्पसमा ७०, महेन्द्र बहुमुखी क्याम्पस धरानमा ७०, नेशनल ल कलेजमा १२० सिट तोकिएको छ ।
प्रवेश परीक्षा दिन इच्छुक विद्यार्थीहरूले आवेदन भर्दा आवश्यक शैक्षिक योग्यता पुगेको हुनुपर्नेछ । साथै आवेदनसँगै शैक्षिक योग्यताको पत्र, नागरिकताको प्रमाणपत्र, आवश्यक परे समकक्षता निर्धारण प्रमाणपत्र (Equivalence Certificate), हालसालै खिचिएको दुवै कान स्पष्ट देखिने पासपोर्ट साइजको फोटो तथा हस्ताक्षर स्क्यान गरेर अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आरक्षण कोटाअन्तर्गत आवेदन दिने परीक्षार्थीहरूले सम्बन्धित दाबी पुष्टि गर्ने कागजात वा सिफारिस पत्र समेत पेश गर्नुपर्ने जनाइएको छ ।
हेर्नुहाेस् सूचना :

