बेलायतमा ड्राइभिङ : एमओटी र अन्य कानुनी आवश्यकता

१० असार २०८३

बेलायतमा ड्राइभिङ : एमओटी र अन्य कानुनी आवश्यकता

बेलायतमा गाडी चलाउनु भनेको एउटा ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन, यो त कानुनी, प्राविधिक र सामाजिक जिम्मेवारीको एउटा साझा प्रक्रिया हो ।

यहाँको सडक प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन एमओटी, बिमा, कर र लाइसेन्स जस्ता नियमहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। बेलायती सडक संस्कृतिमा एमओटीको अवधारणा “दुर्घटना हुनुभन्दा पहिले नै जोखिम न्यूनीकरण गर्ने” भन्ने सोचमा आधारित छ। यहाँ गाडीको अवस्थालाई केवल व्यक्तिगत मामिलाका रूपमा मात्र नभई सार्वजनिक सुरक्षाको विषयका रूपमा हेरिन्छ।

बेलायतमा गाडी चलाउनुअघि एमओटी (MOT – Ministry of Transport Test) भनेको के हो भन्ने कुरा बुझ्नु एकदमै जरुरी छ। यो केवल एउटा प्राविधिक जाँच मात्र होइन, बरु सवारी साधन सुरक्षित छ भन्ने सुनिश्चित गर्ने एउटा अनिवार्य कानुनी प्रक्रिया पनि हो। यसको इतिहास हेर्ने हो भने, यो सन् १९६० को सेप्टेम्बर १२ मा सुरु भएको थियो। सुरुका दिनहरूमा यो नियम १० वर्षभन्दा पुराना गाडीहरूमा मात्र लागू हुन्थ्यो र ब्रेक, लाइट वा स्टेयरिङ जस्ता सामान्य कुराहरू मात्र जाँच गरिन्थ्यो।

दोस्रो विश्वयुद्धपछि सडकमा गाडीहरूको संख्या तीव्र रूपमा बढ्दै गएपछि पुराना र जीर्ण गाडीका कारण दुर्घटनाको जोखिम पनि बढ्न थाल्यो, जसलाई नियन्त्रण गर्न सरकारले यो प्रणाली ल्याएको हो।

समयसँगै यसका नियमहरू पनि परिमार्जित हुँदै गए। १९६१ मा गाडीको उमेरको सीमा घटाएर ७ वर्ष बनाइयो भने, १९६७ देखि भने तीन वर्ष पुराना सबै गाडीहरूका लागि वार्षिक एमओटी अनिवार्य गरियो, जुन नियम अहिले पनि कायमै छ।

अहिलेको एमओटी परीक्षण पहिलेको तुलनामा निकै कडा र विस्तृत छ। यसमा टायर, सस्पेन्सन, सिटबेल्ट, इन्धन प्रणाली, उत्सर्जन (emissions), विन्डस्क्रिन, हर्न, लाइट, नम्बर प्लेट र इलेक्ट्रोनिक सुरक्षा प्रणाली जस्ता पक्षहरूलाई सूक्ष्म रूपमा जाँचिन्छ। यसले गाडीको मेकानिकल अवस्था मात्र नभई वातावरणीय मापदण्ड पनि पूरा भएको सुनिश्चित गर्छ। डिजिटल युगसँगै यो प्रणाली अझ भरपर्दो बनेको छ। पहिले कागजी प्रमाणपत्रको चलन थियो भने अहिले सबै विवरण DVSA (Driver and Vehicle Standards Agency) को अनलाइन प्रणालीमा सुरक्षित हुन्छ, जसले गर्दा नक्कली प्रमाणपत्रको जोखिम कम भएको छ र पारदर्शिता बढेको छ।

एमओटीको कानुनी आधार सडक यातायात ऐन १९८८ र सवारी साधन परीक्षण नियमावली १९८१ मा आधारित छ। यी कानुनले तीन वर्षभन्दा पुराना सवारी साधनहरूको वार्षिक परीक्षण अनिवार्य गरेका छन्। यहाँ कानुनले चालकलाई गाडी चलाउनु मात्र होइन, त्यसलाई सधैँ सुरक्षित अवस्थामा राख्ने जिम्मेवारी पनि दिएको छ। यदि ब्रेक, टायर वा स्टेयरिङ जस्ता मुख्य भागहरू असुरक्षित भेटिएमा दुर्घटना नभए पनि कानुनी कारबाही हुन सक्छ। एमओटी नगरी गाडी चलाउँदा करिब १ हजार डलरसम्म जरिवाना हुन सक्छ। यदि गाडी निकै खतरनाक अवस्थामा देखिएमा लाइसेन्समा पेनाल्टी लाग्ने र बिमा पनि नहुने जस्ता गम्भीर समस्याहरू निम्तिन सक्छन्।

पहिलेका दिनमा केही ग्यारेजहरूले नियम मिचेर गाडी पास गरिदिने समस्या थियो, तर अहिले डिजिटल प्रणाली, CCTV र DVSA को कडा निगरानीले गर्दा यस्ता अनियमितताहरू लगभग सकिएका छन्। केही मानिसहरू आर्थिक भार वा लापरवाहीका कारण एमओटी नगरी गाडी चलाउँछन्, तर अहिले सडकमा जडान गरिएका ANPR (Automatic Number Plate Recognition) क्यामेराले गाडीको एमओटी, बिमा र करको अवस्था तुरुन्तै पत्ता लगाउन सक्छन्। त्यसैले नियम तोड्दा सजिलै समातिने डर हुन्छ।

बेलायतमा गाडी चलाउँदा अन्य केही कुरामा पनि ध्यान दिनुपर्छ। तपाईंसँग वैध ड्राइभिङ लाइसेन्स हुनुपर्छ, कम्तीमा थर्ड पार्टी बिमा अनिवार्य छ र Vehicle Excise Duty (Road Tax) पनि तिरिसकेको हुनुपर्छ। एउटा कुरा सधैँ सम्झनुपर्छ: एमओटी पास हुनुको अर्थ गाडी सधैँ सुरक्षित छ भन्ने होइन। त्यसैले चालकले टायर, ब्रेक, इन्जिन आयल र लाइट जस्ता कुराहरूको नियमित रेखदेख आफैँले पनि गर्नुपर्छ। यसका साथै सिटबेल्ट बाँध्ने, बच्चाका लागि उपयुक्त सिटको प्रयोग गर्ने, मोबाइल नचलाउने र मादक पदार्थ सेवन गरेर गाडी नचलाउने जस्ता नियमहरू यहाँ निकै कडाइका साथ पालना गरिन्छ। दुर्घटना पारेर घटनास्थलबाट भाग्नु त ठूलो अपराध मानिन्छ।

बेलायतमा मोटर बिमा अनिवार्य छ, जसले दुर्घटनाको समयमा आउने ठूलो आर्थिक भारबाट जोगाउँछ। थर्ड पार्टी इन्स्योरेन्स बिना गाडी चलाउँदा गाडी जफत हुने र लाइसेन्समा पेनाल्टी थपिने जोखिम हुन्छ। त्यस्तै, Vehicle Excise Duty गाडीको प्रदूषण र इन्धनको प्रकारका आधारमा तय गरिन्छ, जसले वातावरण जोगाउन मद्दत गर्छ। समग्रमा, एमओटी वर्षमा एक पटक मात्र गरिने परीक्षण हो, तर गाडीको सुरक्षाको दैनिक जिम्मेवारी भने चालककै हो।

बेलायतको ड्राइभिङ संस्कृतिमा Roadside Assistance को पनि ठूलो महत्त्व छ। AA र RAC जस्ता संस्थाहरूले गाडी बिग्रिएमा, टायर पन्चर भएमा वा ब्याट्री सकिएमा मद्दत गर्छन्। यो सेवा अनिवार्य त छैन, तर सुरक्षा र सहजताका लागि धेरैले यसलाई प्रयोग गर्छन्।

ड्राइभिङ लाइसेन्सका बारेमा कुरा गर्दा यहाँ दुई प्रकारका लाइसेन्स हुन्छन्: Provisional र Full Licence। १५ वर्ष ९ महिनाको उमेरमा प्रोभिजनल लाइसेन्सका लागि आवेदन दिन सकिन्छ, तर गाडी चलाउन भने सामान्यतया १७ वर्ष पुगेपछि मात्र पाइन्छ। तर, यदि कुनै अपांगताका कारण PIP को enhanced rate प्राप्त गरेको व्यक्ति हो भने १६ वर्षमै कार चलाउन अनुमति मिल्न सक्छ। त्यस्तै, १६ वर्ष पुगेपछि CBT पूरा गरेर मोपेड पनि चलाउन सकिन्छ।

तथ्याङ्क हेर्ने हो भने बेलायतमा हरेक वर्ष लाखौँ दुर्घटना हुन्छन्, जसमा हजारौँ मानिस घाइते हुने र करिब १५००–१८०० जनाको मृत्यु हुने गर्छ। यसको मुख्य कारण तीव्र गति, मोबाइलको प्रयोग र मादक पदार्थको सेवन हो। विशेषगरी युवाहरू यस जोखिममा बढी हुन्छन्। तर, पछिल्ला वर्षहरूमा स्पीड क्यामेरा र ANPR जस्ता प्रविधिको प्रयोगले गर्दा मृत्युदरमा कमी आएको छ।

बेलायतको कार बजार पनि निकै ठूलो छ, जहाँ ३४ मिलियन भन्दा बढी गाडीहरू (झन्डै साँढे तीन करोड )छन्। यहाँ सेकेन्ड ह्यान्ड गाडीको बढी माग छ भने यस्ता गाडीहरू सस्तो पनि हुन्छन्। अचेल इलेक्ट्रिक र हाइब्रिड गाडीहरूको प्रयोग पनि बढ्दै गएको छ। सरकारको वातावरणमैत्री नीतिले गर्दा पेट्रोल र डिजेल गाडीहरूको प्रयोग बिस्तारै घट्दै गएको छ।

अर्कोतर्फ, बेलायतको सडकको बनावटले त्यहाँको ड्राइभिङ शैलीमा पनि ठूलो भूमिका खेल्छ। यहाँका मोटरवे, A-road, B-road र आवासीय क्षेत्रहरूलाई निकै व्यवस्थित ढंगले छुट्याइएको छ, जसले गर्दा ट्राफिक व्यवस्थापन निकै सजिलो भएको छ। सडकको प्रकृति हेरेर गति सीमा पनि फरक-फरक तोकिएको हुन्छ; जस्तै सहरभित्र २०–३० किमी, गाउँतिर ६० किमी र मोटरवेमा ७० किमी प्रतिघन्टा सम्मको सीमा हुन्छ। यी नियमहरू केवल गाडीको गति नियन्त्रण गर्न मात्र नभई दुर्घटना कम गर्न र विशेषगरी सहरका पैदल यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न बनाइएका हुन्।

प्रविधिको बढ्दो प्रयोगले बेलायतको सडक व्यवस्थापनलाई निकै आधुनिक र व्यवस्थित बनाएको छ। GPS, रियल-टाइम ट्राफिक मनिटरिङ, स्पिड क्यामेरा, ANPR र स्मार्ट ट्राफिक लाइट जस्ता प्रविधिहरूले सडक यात्रालाई पहिलेभन्दा धेरै सहज र सुरक्षित बनाइदिएका छन्। यति मात्र होइन, बीमा कम्पनीहरूले पनि अचेल ‘ब्ल्याक बक्स’ (telematics) प्रविधि अपनाउन थालेका छन्। यसले चालकको ड्राइभिङ शैलीको निगरानी गर्छ र सुरक्षित तरिकाले गाडी चलाउनेहरूलाई बीमा शुल्कमा छुट दिने गर्छ, जसले गर्दा विशेषगरी युवा चालकहरूमा जिम्मेवार भएर गाडी चलाउने उत्साह बढेको छ।

बेलायतको यातायात नीतिले वातावरण संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ। Low Emission Zones (LEZ) र Ultra Low Emission Zones (ULEZ) जस्ता नियमहरू लागू गरिएका छन्, जसका कारण पुराना र धेरै प्रदूषण गर्ने गाडीहरूले सहरभित्र छिर्न थप शुल्क तिर्नुपर्ने हुन्छ। यही नियमकै प्रभावले गर्दा अहिले इलेक्ट्रिक र हाइब्रिड गाडीहरूको प्रयोग निकै तीव्र रूपमा बढेको छ। लन्डन, बाथ र ब्रिस्टोल जस्ता ठूला सहरहरूमा वायु प्रदूषण घटाउन यी नीतिहरूले निकै ठूलो भूमिका खेलेका छन्।

बेलायतमा गाडी किनबेच गर्ने प्रक्रिया पूर्ण रूपमा डिजिटल र व्यवस्थित भएकाले यसका लागि कार्यालय धाउनु पर्ने झन्झट हुँदैन। यदि गाडी व्यक्ति–व्यक्तिबीच किनबेच गरिएको हो भने, नयाँ मालिकको नाम दर्ता (change of keeper) गर्ने प्रक्रिया DVLA मार्फत अनलाइन वा पोस्टबाटै गर्न सकिन्छ। यसका लागि गाडीको लग बुक (V5C) मा नयाँ मालिकको विवरण भरेर दर्ता गर्नुपर्ने हुन्छ। धेरैजसो अवस्थामा डिलरबाट गाडी किन्दा डिलरले नै यो सबै काम गरिदिने भएकाले ग्राहकले छुट्टै कार्यालय धाउनु पर्दैन। यद्यपि, गाडी किनबेच गर्दा बीमा, कर (रोड ट्याक्स) र आवश्यक भएमा एमओटी (MOT) पनि अपडेट भएको सुनिश्चित गर्नुपर्छ।

इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्समा गाडी सम्बन्धि सम्पूर्ण काम DVLA सरकारी निकायले हेर्छ भने उत्तरी आयरल्यान्डमा सोही कामको जिम्मेवारी DVA ले लिएको छ। उत्तरी आयरल्यान्डमा DVA ले ड्राइभिङ लाइसेन्स जारी गर्ने र सवारी साधन दर्ता गर्ने काम गर्छ, र त्यहाँबाट जारी भएका लाइसेन्स तथा दर्ता प्रमाणपत्रहरू ग्रेट ब्रिटेन (इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्स) मा पनि पूर्ण रूपमा मान्य हुन्छन्।

(सुरेन्द्र नेपाल श्रेष्ठ हाल युकेमा बसोबास गर्छन् । यस लेखमा व्यक्त गरिएको विचार लेखकको निजी हो । यसले जस नेपालको सम्पादकीय अडानलाई प्रतिविम्वित गर्दैन)

सम्बन्धित खवर

नेपालमा यातायात कानून र कार्यान्वयन बीचको खाडल

नेपालमा यातायात कानून र कार्यान्वयन बीचको खाडल

काठमाडौँ । काठमाडौँका सडकहरूमा बिहानैदेखि बेलुकासम्म अनौठो संसार चलिरहेको देखिन्छ । एकातिर ट्राफिक नियमहरू,...