सर्वोच्चले भन्यो – डीडीसीका पूर्व महाप्रबन्धक साहले भ्रष्टाचार गरेकै हो

जस नेपाल

१७ असार २०८३

सर्वोच्चले भन्यो – डीडीसीका पूर्व महाप्रबन्धक साहले भ्रष्टाचार गरेकै हो

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व प्रबन्ध निर्देशक डा. शत्रुघ्नप्रसाद साहविरुद्धको अकूत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला सदर गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले गरेको दोषी ठहरको निर्णयलाई कायम राख्दै साहको पुनरावेदन निवेदन खारेज गरेको हो ।

यस अघि विशेष अदालतले २०७५ पुसमा फैसला सुनाउँदै साहले आफ्नो वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको थियो । अदालतले ६८ लाख २४ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति देखिएको ठहर गर्दै सोही बराबर जरिवाना र ९ वर्ष कैद सजाय सुनाएको थियो । साथै उनकी पत्नी सुशीलाकुमारी साहको नाममा रहेको अवैध स्रोतबाट जोडिएको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साह डीडीसीमा टेक्निकल अफिसरदेखि प्रबन्ध निर्देशकसम्मका विभिन्न पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति संकलन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा उनको आम्दानी, सम्पत्ति विवरण र लगानीबीच उल्लेख्य असमानता देखिएको आयोगको दाबी थियो ।

अभियोगपत्रअनुसार साहको वैध आय करिब १ करोड ४४ लाख ९७ हजार रुपैयाँ रहेको देखिए पनि खर्च र लगानी भने ३ करोड ८३ लाख ६५ हजार रुपैयाँभन्दा बढी पाइएको थियो । आम्दानी र सम्पत्तिबीचको अन्तर स्पष्ट हुन नसकेपछि आयोगले त्यसलाई अकूत सम्पत्ति आर्जनको आधार मानेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध साहले २०७६ असार २२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर सर्वोच्चले पनि विशेष अदालतको निष्कर्षलाई नै सदर गर्दै भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको हाे ।

सम्बन्धित खवर

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रयोजनमा हाल न्यायिक हिरासतमा रहेका पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)...

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

नसिहत र चेतावनी पाउने बैङ्क सञ्चालक/सीईओ अब अयोग्य, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कबाट नसिहत र चेतावनी पाउने बैङ्क तथा वित्तीय...

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष...

उच्च अदालत पाटन बारको नयाँ कार्यसमिति चयनका लागि साउन ३० गते निर्वाचन हुने

उच्च अदालत पाटन बारको नयाँ कार्यसमिति चयनका लागि साउन ३० गते निर्वाचन हुने

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति चयनका लागि २०८३ साल साउन...