एक करोडको ठेक्कामा ७८ लाख बढी हिनामिना, २ सरकारी कर्मचारीसहित निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

जस नेपाल

२३ असार २०८३

एक करोडको ठेक्कामा ७८ लाख बढी हिनामिना, २ सरकारी कर्मचारीसहित निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिका रौतहटका तत्कालीन प्रशासकीय अधिकृत र लेखा प्रमुखसहित भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. तथा त्यसका सञ्चालकविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उक्त अनियमितताबाट स्थानीय सरकारलाई ७८ लाख १५ हजार रुपैयाँ बराबरको राजस्व घाटा भएको आयोगको दाबी छ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा लक्ष्मीपुर-धर्मपुर घाटको बालुवा, गिट्टी र ग्राभेल उत्खनन्, संकलन, बिक्री तथा निकासीको आन्तरिक आय ठेक्कामा गम्भीर अनियमितता भएको थियो। बोलपत्र प्रक्रियामा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. बत्तीसपुतली, काठमाडौंले एक करोड पाँच लाख रुपैयाँ कबोल गरेको थियो। तर ठेक्का स्वीकृत भएपछि कम्पनीले पूरै रकम दाखिला नगरी धरौटी मिलानसहित मात्र ४० लाख ५० हजार रुपैयाँ जम्मा गरेको थियो ।

बाँकी ६४ लाख ५० हजार रुपैयाँ दाखिला नभइसकेको अवस्थामा नै पूरै रकम दाखिला भएको भनी गलत व्यहोरा उल्लेख गरी १० प्रतिशत छुट दिई ठेक्का स्वीकृत गरिएको, गलत प्रतिवेदन तयार पारिएको र मूल्य अभिवृद्धि करबापतको १३ प्रतिशत (१३ लाख ६५ हजार रुपैयाँ) रकमसमेत नबुझाएको अनुसन्धानबाट खुलेको छ।

ठेकेदारले २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरी बिक्री गरेको र त्यसबाट करिब एक करोड १० लाख ९१ हजार रुपैयाँभन्दा बढी लाभ हासिल गरेको पनि आयोगले जनाएको छ। यसबाट कुल ७८ लाख १५ हजार रुपैयाँ राजस्व चुहावट भएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले  जारी गरेको प्रेश विज्ञप्ति अनुसार  आरोपितहरू गढीमाई नगरपालिका रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर,तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी र  भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. र कम्पनीका मुख्य सञ्चालक राधेश्याम साह रहेका छन् ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारजन्य कसुरमा बिगो कायम गरी कैद सजाय, बिगो रकमको दोब्बर जरिवाना र थप सजाय माग गरेको छ। ठेकेदार कम्पनी तथा सञ्चालकलाई मुख्य कसुरदारको मतियारको रूपमा दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय  माग गरिएको छ।

याे पनि – गढीमाई नगरपालिकाको घाट निर्माणमा घोटाला : नगर प्रमुखसहित ४ जना अख्तियारको फन्दामा

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

वित्तीय यथार्थवाद : सार्वजनिक वित्तीय सुशासनसम्बन्धी न्यायशास्त्र

वित्तीय यथार्थवाद : सार्वजनिक वित्तीय सुशासनसम्बन्धी न्यायशास्त्र

काठमाडौं । गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने क्रममा...

गढीमाई नगरपालिकाको घाट निर्माणमा घोटाला : नगर प्रमुखसहित ४ जना अख्तियारको फन्दामा

गढीमाई नगरपालिकाको घाट निर्माणमा घोटाला : नगर प्रमुखसहित ४ जना अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकामा तीन करोड २५ लाखको बालुवा-गिट्टी...

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा...

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष...