काठमाडौं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले न्याय सेवामा प्रवेश गर्ने सोचेकै थिएनन् । व्यवस्थापनमा बीकम उत्तीर्ण गरेपछि उनले चार्टर्ड एकाउन्टेन्ट बन्ने सोचेका थिए । ख्यालख्यालमै उनले आफ्नो जीवनका ४० बसन्त न्याय सेवामा बिताए । थोरै समय वकालत र अदालती प्रशासनमा बिताए, अनि धेरै समय न्यायाधीशका रुपमा । न्यायाधीश हुँदा उनले करिब २८ हजार मुद्दाको फैसला गरे ।
रायमाझीको अनुभवले भन्छ– न्याय प्रदान गर्ने कार्य ज्यादै जटिल हुन्छ । पक्ष वा विपक्ष दुबैले आफ्नो जितमा मात्र न्याय परेको अनुभव गर्छन् । दुबैले जित्ने ज्यादै कम विवादमा मात्र हुन्छ । त्यसैले न्यायिक काम कारवाहीमा देखिने असन्तुष्टि नयाँ होइन, यो युगौंदेखिको निरन्तरता हो ।
न्याय निरुपणका क्रममा झेल्नुपरेका आलोचना र कठिनाइ सम्झँदै रायमाझी आफ्नो आत्मकथा ‘न्यायपालिकामा चार दशक, मेरा सम्झनाहरु’ मा लेख्छन्,‘प्रधानमन्त्रीले आफ्नो अख्तियारको दुरुपयोग गरेको भन्ने प्रतिवेदन दिने कार्यसमेत गर्नुपर्यो ।… सर्वोच्च अदालतका दुईजना स्थायी न्यायाधीशले मेरो अध्यक्षतामा गठन भएको जाँचबुझ समितिको प्रतिवेदनका आधारमा पदबाट हात धुनुपर्यो ।’
उनी लेख्छन्, ‘नेपालको अन्तरिम संविधानको व्यवस्था विपरीत सपथ लिएको भन्ने विवादमा… सार्वजनिक सञ्चार माध्यमबाटसमेत खुबै गाली सहनुपर्ने भयो ।’
मुद्दाको फैसला गर्दा आफ्नो पुत्ला दहनसमेत भएको रायमाझीको अनुभव छ । उनी लेख्छन्, ‘उपराष्ट्रपतिजस्तो पदाधिकारीबाट देशको संविधानले गरेको व्यवस्थाविपरीतको कार्य निषिद्धि थियो ।….मैले मेरो जीवनमा नसुनेको गाली सुन्नुपर्यो । मेरो पुत्ला पनि जलाइयो ।’
खै मामा ?
एकजना असल न्यायाधीशसँग धेरै साथीहरु नहुने र परिवारजनसमेत टाढिने पूर्वप्रधानन्यायाधीश रायमाझीको बुझाइ छ ।
‘न्यायिक पदको निम्ति ज्यादै जनसम्पर्क राम्रो हुँदैन । यसकुरामा म सुरुदेखि नै सतर्क थिएँ । मलाई उठाउने, तान्ने व्यक्ति मसँगैका साथीको तुलनामा कोही थिएनन्,’ रायमाझी लेख्छन्,‘प्रभावशाली व्यक्तिहरुसँग मेरो सम्पर्क नै थिएन । राजदरबार, प्रधानमन्त्री, मन्त्री, राजनीतिक पार्टीका प्रभावशाली नेताहरुसँग मेरो हिमचिम नै थिएन । यथार्थमा भन्ने हो भने मैले मेरो पेसामा आँच पुर्याउने साथीहरु बनाउन पनि चाहिनँ ।’
उनी थप्छन्, ‘बरु मेरा काम कारवाहीका कारण नजिकका परिवार, छरछिमेकी टाढिए । काम नगरिदिनेसँग को नजिक रहन्छ र । मलाई यी कुराको फिक्री वा विस्मात पनि कत्ति छैन । न्यायलाई विचलन हुन नदिने मेरो प्रयासमा मलाई सन्तोष छ ।’
बाहिरबाट हेर्दा न्यायाधीश पद निक्कै गौरवशाली र शानदार जस्तो लाग्छ । तर, न्यायाधीशका दुःख आ–आफ्नै हुँदा रहेछन् । समाज र राजनीतिक जति भ्रष्ट र अनैतिक हुन्छ, त्यसको असर न्यायाधीश र अदालतमाथि पनि पर्दोरहेछ ।
मीनबहादुरले न्याया सेवाको पहिलो अनुभव दिक्तेलस्थित खोटाङ जिल्ला अदालतबाट गरे । त्यहाँ एउटा शिबकश कटुवाल नाम गरेको बिचौलियासँग उनको भेट भयो । आफ्नो नाम भँजाएर नाता लगाउँदै शिबकसले सेवाग्राहीसँग घुस मागेको घटना पुस्तकमा लेखेका छन् ।
त्यस्तै, उदयपुरमा जग्गा खरीद गरेको आरोपसहति आफूविरुद्ध न्याय परिषदमा उजसरी परेको दुःखद कहानी पनि उनले लेखेका छन् ।
एकजना न्यायाधीशले कसरी माफ्ना नातेदारबाट पनि जोगिएर बस्नुपर्छ भन्ने तथ्य मीनबहादुरले ‘खै मामा ?’ शीर्षकमा समेटेका छन् ।
रायमाझी लेख्छन्, ‘मंसिर महिना थियो । शक्ति पनि राजविराजमै थिइन् । विहान सबेरै ५ बजे ढोकामा ढकढक आवाज आयो । हाम्रै सहयोगी रहेछ, भन्यो– न्यायाधीशको मामा भन्नुहुन्छ । दुईजना आउनुभएको छ ।’
‘मेरा साइँला र कान्छा मामामात्र जीवित हुनुहुन्थ्यो । मनमनै लाग्यो, कुन मामा किन आउनुभएछ ? भनेँ– भित्र राख,’ मीनबहादुर लेख्छन्, ‘हतार साथ उठेँ । मुख धोएर बैठक कोठातिर गएँ । शक्ति पनि उठिन् । कान्छा मामा आउनुभएको रहेछ ।’
मीनबहादुरले पारिवारिक शिष्टाचारपछि मामालाई बिहानै आउनुको कारण सोधे । मामासँग आएको व्यक्ति नातागोताको हाला भन्ठानेको तर होइन रहेछ । अञ्चल अदालतमा एउटा मुद्दा रहेछ, त्यसैको भनसुनका लागि मामाले ती व्यक्तिलाई लिएर आएका रहेछन् ।
न्यायाधीशका नातागोता खोज्ने क्रममा झगडियाले मीनबहादुरका कान्छा मामा फेला पारेको रहेछ । यो कुरा थाहा पाएपछि मीनबहादुरले भने, ‘मकहाँ झगडियाको प्रवेश निषेध छ, तपाई बाहिर जानोस् ।’
ऊ उठेर बाहिर गइसकेपछि मीनबहादुरले मामालाई भने, ‘तपाईले हाम्रो भानिजले मेरो कुरा सुन्दैन भनेर टारेको भए हुन्थ्यो ।’
मामाले भने, ‘अनि, कुरा सुन्नुहुन्न ? काम हुँदैन त ? म जाऊँ ?’
मीनबहादुरले जाफ दिए,‘यत्तिको निमित्त आउनुभएको रहेछ भने गए हुन्छ ।’
मीनबहादुरका मामा जुरुक्क उठेर हिँडे ।
चिया लिएर आएकी शक्तिले मामालाई नदेखेपछि सोधिन् – ‘खै मामा ?’
भोजपुरदेखि रामशाहपथसम्म

पूर्वप्रधानन्यायाधीश रायमाझीको जन्म पूर्वी नेपालको भोजपुरमा भएको हो । भोजपुरको विद्योदय हाईस्कुलबाट एसएलसी गरेपछि उनी उच्च शिक्षा अध्ययन गर्न काठमाडौंतर्फ लागे । तर, उनी वीरगञ्जमै रोकिए । किनकि त्यसबेला उनका ठूलोबुबा वीरगञ्जमा एनजीआर (रेल्वे) को जनरल म्यानेजर थिए ।
त्यसबेला नेपालबाट काठपात भारततर्फ जाने गरेको सम्झँदै रायमाझी लेख्छन्, ‘रक्सौलबाट अमलेखगञ्ज चल्ने एनजीआर र जयनगरबाट जनकपुरसम्म चल्ने एनजेजेआर राणाकालीन अवस्थामा यातायातको प्रयोजनका लागि भन्दा नेपालको काठ भारततिर ओसार्न निर्माण भएको थियो । चुरे क्षेत्र र अहिलेका बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, सिरहामा प्रशस्त बहुमूल्य लकडी (काठ) थिए । देशको आम्दानीको मुख्य स्रोत लकडी नै थियो । भारत लकडीको मुख्य बजार थियो ।’
भोजपुरबाट वीरगञ्ज पुगेका मीनबहादुर त्यहीँ रोकिए । ठुलोबुबासँग बसेर ठाकुरराम क्याम्पसमा वाणिज्यशास्त्रमा भर्ना भए । अनि, रुस सरकारको सहयोगमा बनेको चिनी कारखानामा लेखा शाखाको सहायक पदमा जागीर खान थाले । उनलाई एकाउन्टमा चाख थियो ।
पछि बीकमको परीक्षा दिन उनी काठमाडौं आए । परीक्षा सकेर केही दिन अलमलिइरहेका बेला औद्योगिक विकास कर्पोरेसनमा जागीर खुलेको गोरखापत्रमा विज्ञापन आयो । सिनियर अफिस असिस्टेन्टमा नाम निकाले र जागीर खान थाले । चार्डर्ड एकाउन्ट बन्ने उनको सपना भने अधुरै रह्यो ।
त्यसबेला कर्मचारीहरुमा कानून (बीएल) पढ्ने रहर जागेको थियो । मीनबहादुर पनि बीएलमा भर्ना भए । दिउँसो जागीर खान्थे, साँझ नेपाल ल क्याम्पसमा पढ्न जान्थे ।
त्यसबेला ल क्याम्पसमा कानूनको पढाइ खासै राम्रो नभएको रायमाझीलाई धेरै पछि महसुस भयो । उनले आत्मकथामा लेखेका छन्, ‘विधिशास्त्रको विकास धेरै अगाडि बढिसक्दा पनि प्राध्यापकहरुले आफ्नो पुरानो टिपोट (सम्भवतः आफू पढ्दाको) लाई कहिल्यै अद्यावधिक नगरेका तथ्य सेवामा प्रवेश गरिसकेपछि थाहा भयो ।’
पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न
रायमाझीले बीएलको दोस्रो खण्ड २०२५ सालमा पूरा गरे । त्यसपछि कृष्णप्रसाद भण्डारीको ल फर्ममा काम सिक्न थाले । उक्त ल फर्ममा मीनबहादुरले कृष्णप्रसाद पन्त, कसुम श्रेष्ठ, लवदेव भट्ट लगायतसँग संगत गर्न पाए ।
पूर्वप्रधानन्यायाधीश रायमाझी ती दिनहरु सम्झँदै लेख्छन्, ‘सफल कानून व्यवसायी बन्न प्रतिष्ठित कानून व्यवसायीसँग रहेर केही वर्ष काम सिक्नु अनिवार्य थियो । कुनै नवप्रवेशी आफ्नो अभिलाषा लिएर कहलिएका कानून व्यवसायीकहाँ पुगे भने अग्रजहरु कुनै न कुनै बहानामा पन्छिने गर्थे । सिकेर व्यवसाय चलाउने अवस्थामा पुगे भने आफ्नो ग्राहक नै तानिदेलान्, व्यवसायमा धक्का पुग्ला भन्ने डर हुन्थ्यो । …कृष्णप्रसाद भण्डारी भने यस मामिलामा केही उदार हुनुहुन्थ्यो ।’
वकीलका रुपमा दुई वर्ष पनि राम्रोसँग बिताउन नपाउँदै न्याय सेवामा शाखा अधिकृतका लागि लोकसेवा आयोगले विज्ञापन निकाल्यो । रायमाझीसहित १७ जनाले परीक्षामा उत्तीर्ण भएर नाम निकाले ।
त्यसरी एकैसाथ न्यायसेवामा शाखा अधिकृतका रुपमा प्रवेश गर्नेहरुमा मीनबहादुर रायमाझी, तपबहादुर मगर, शारदाप्रसाद पण्डित, गजेन्द्रमणि प्रधान, गोविन्ददास श्रेष्ठ। शारदा श्रेष्ठ, कृष्णप्रसाद उपाध्याय जीतबहादुर कार्की, रमेश झा, अर्जुनप्रसाद सिंह, देवशरण प्रसाद, चित्रविक्रम हमाल, कपिलबहादुर प्रधान, बद्रीकुमार बस्नेत रामचन्द्र गुप्ता र नन्दकिशोर गुप्ता थिए ।
रायमाझी लेख्छन्, ‘ श्री ५ को सरकारको २०२७ जेठ ९ को निर्णयले पास भएका हामी सबैको नियुक्ति भयो । मलगायत ११ जनाको सर्वोच्च अदालतमा, पहुँचवाला ४ जनाको कानून मन्त्र ालयमा र एकजनाको विशेष प्रहरी विभागमा पदस्थापन भयो ।’

सर्वोच्च अदालतमा रहँदाका रोचक अनुभूतिहरु रायमाझीले आत्मकथामा समेटेका छन् । अदालतमा एसपीको धम्की खानुपरेको कथा पनि कम्ता रोचक छैन ।
नेपालको संविधान २०४७ को मस्यौदा समितिमा तत्कालीन विश्वनाथ उपाध्यायको सहयोगी भएर काम गरेको, शाही आयोगको खारेजी, चर्चित रविन्सन प्रकरणको मुद्दादेखि लिएर न्यायाधीशको आचार संहितासम्म मीनबहादुरको किताबमा पढ्न पाइन्छ ।
रायमाझी आफ्नो अनूभवका आधारमा लेख्छन्, ‘न्यायपालिकाको काम कारवाही धमिल्याउने र अदालतप्रतिको जनविश्वासमा आँच आउने काममा ४० प्रतिशत जिम्मेवार न्यायाधीश आफैं छन् । ३० प्रतिशत कानून व्यवसायी, १० प्रतिशत कर्मचारी, अनि २० प्रतिशत बिचौलिया, फट्टा खेल्ने र अदालतको बदनाम गर्ने कार्यमा संलग्न पत्रपत्रिका पर्छन् ।’
