सिद्धबाबा सुरुङमार्ग आयोजना र ठेकेदारबीचको समस्या तत्काल निरुपण गर्न मन्त्रीको निर्देशन

७ पुष २०८२

सिद्धबाबा सुरुङमार्ग आयोजना र ठेकेदारबीचको समस्या तत्काल निरुपण गर्न मन्त्रीको निर्देशन

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङमार्ग आयोजना र निर्माण व्यवसायी (ठेकेदार) बीचको समस्या तत्काल निरुपण गर्न विभागीय मन्त्रीले निर्देशन दिएका छन्‌ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयमा तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिएका हुन्‌ ।

उनले निर्माणलाई तीव्रता दिइ तोकिएकै समयमा काम सक्न पनि निर्देश गरे । समयमै गर्नुपर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङको भनाइ छ ।

‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ’, घिसिङले भने, ‘यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहुँदैन ।’

इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड २१ लाख (करसहित) मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम ठेकेदार कम्पनीले २०८३ चैतभित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्छ । त्यसपछि १८२५ दिनसम्म सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्ने जिम्मा पनि कम्पनीकै हुनेछ ।

११२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण नेपाल सरकारको आन्तरिक स्रोतबाटै भइरहेको छ । हालसम्म आयोजना निर्माण कार्य ६५ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५६ प्रतिशत छ ।

सुरुङमार्गमा १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीनवटा बाइपास सुरुङ निर्माण पनि सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

यो आयोजना अन्तर्गत २३९८ मिटर सडक पनि स्तरोन्नति गर्नुपर्नेछ । पहिरो तथा ढुङ्गा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारीसाधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने मन्त्रालयले जानकारी दिएको छ ।

सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय हताहती नै हुने गरेको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । यही समस्या समाधान गर्न सिद्धबाबामा सुरुङमार्ग निर्माण गरिएको हो ।

सुरुङमार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने अपेक्षा छ ।

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...