अमेरिकामा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रदर्शन : ब्यालेटको वैधतामा नयाँ प्रश्न

जस नेपाल

१९ चैत २०८२

अमेरिकामा ट्रम्पविरुद्ध ‘नो किङ्स’ प्रदर्शन : ब्यालेटको वैधतामा नयाँ प्रश्न

एजेन्सी । आफूलाई लामो समयसम्म विश्व लोकतन्त्रको रक्षाकवच दाबी गर्ने गरेको अमेरिकामा निर्वाचित कार्यकारी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यतिखेर ‘नो किङ्स’ नामक विरोध प्रदर्शन फैलिएको छ ।

मार्च २८, २०२६ मा अमेरिकाका सबै ५० राज्यका ३,००० भन्दा बढी स्थानहरूमा हजारौं नागरिक सहभागी प्रदर्शन आयोजना गरिएको थियो । अमेरिकाबाहिर रहेका अमेरिकीहरूले पनि समर्थन जनाउन विभिन्न देशहरूमा उस्तै कार्यक्रम सञ्चालन गरेका थिए ।

सन् २०२५ जनवरीमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता ‘नो किङ्स’ आन्दोलनको यो तेस्रो ठूलो लहर हो । प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर र गीत गाएर एक व्यक्तिको अत्यधिक शक्ति केन्द्रित शासनको विरोधमा नाराबाजी गरेका थिए ।

यो प्रदर्शनले सत्ता–वैधता हासिल गर्ने सबैभन्दा लोकतान्त्रिक विधि अर्थात्‌ चुनावबाट जनताले आफ्नो प्रतिनिधि छान्ने पद्दतिमाथि नै नयाँ प्रश्न उठाइदिएको छ । निर्वाचनलाई सत्ता वैधताको सबैभन्दा लोकतान्त्रिक विधि मानिन्छ । यस्तो विधिबाट जनमत लिएर वैधता प्राप्त गरेका ट्रम्प राजाजस्तो हुन खोजेको भन्दै उनका पछिल्ला कदमलाई लिएर प्रदर्शन व्यापक बनेको हो ।

‘नो किङ्स’ प्रदर्शनकारीहरूले अमेरिकामा कुनै पनि नेताले अत्यधिक शक्ति लिएर राजाजस्तै व्यवहार गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेका छन्‌ । प्रदर्शनकारीहरूले आरोप लगाएका छन् कि ट्रम्प राज्यको शक्ति एकपक्षीय बनाउन खोजिरहेका छन् । उनीहरूको उद्देश्य अमेरिकामा शक्ति जनताकै हातमा रहनुपर्ने सन्देश पुनः स्थापित गर्नु हो, न कि कुनै व्यक्ति वा सीमित समूहको हातमा रहोस्‌ ।

यी प्रदर्शनहरू विभिन्न कारणले उत्पन्न भएका छन् । पहिलो, आप्रवासन र भन्सार प्रवर्तन संघीय एजेन्सी ९आइसीई० का अधिकारीहरूले अपनाइरहेका कडा कारबाहीप्रति असन्तुष्टि छ । विभिन्न कारबाहीका क्रममा गोली चलाइएपछि मानिसहरूको मृत्यु हुनु ठूलो विवाद बनेको थियो । विशेषगरी मिनेसोटामा भएको घटना, जहाँ संघीय कारबाहीका क्रममा नागरिकको मृत्यु भएको थियो, त्यसपछि देशभर विरोध चर्किएको थियो । प्रदर्शनकारीहरूले यस्ता आक्रामक कारबाही तुरुन्त रोक्नुपर्ने माग गरिरहेका छन् ।

दोस्रो, सन् २०२६ मा अमेरिका ईरानसँगको युद्धमा संलग्न रहँदा जनजीवनमा प्रत्यक्ष असर परेको छ । युद्धका कारण इन्धन, खाद्यान्न र भाडा जस्ता जीवनयापनका खर्चहरू उल्लेखनीय रूपमा बढेका छन् । धेरै परिवारका लागि दैनिक खर्च धान्न कठिन भएको छ ।

तेस्रो, प्रदर्शनकारीहरूको दावी छ कि ट्रम्प र उनको प्रशासनले लोकतान्त्रिक मूल्यमा आघात पुर्‍याइरहेका छन् । उनीहरूले न्यायपालिका, सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रतामा दबाब बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । केही प्लेकार्डमा ट्रम्पलाई “राजा”को रूपमा चित्रण गरिएको थियो ।

यी प्रदर्शनहरू न्यूयोर्क, लस एन्जलस, शिकागो र वासिङ्टन डीसीजस्ता ठूला सहरहरूमा मात्र होइन, साना सहर र उपनगरीय क्षेत्रमा पनि देखिएका थिए, जहाँ रिपब्लिकन र डेमोक्रेट दुवै प्रभाव भएका क्षेत्रहरू समेटिएका छन् । मिनेसोटाको सेन्ट पलमा भएको ठूलो कार्यक्रममा चर्चित संगीतकार ब्रुस स्प्रिङगस्टीनले प्रस्तुति दिएका थिए भने विभिन्न वक्ताहरूले आफ्ना धारणा राखेका थिए । केही स्थानहरू, विशेषगरी फ्लोरिडामा, ट्रम्प समर्थकहरूसँग सानो झडप भए पनि अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण रूपमा सम्पन्न भएका थिए ।

यस्तै प्रकारका प्रदर्शनहरू युरोप र अन्य देशहरूमा रहेका अमेरिकीहरूले पनि आयोजना गरेका थिए, जसले आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको संकेत गरेको छ । धेरै अमेरिकीहरूले राष्ट्रपति ट्रम्प प्रति गहिरो असन्तुष्टि व्यक्त गरिरहेका छन् । सन् २०२६ मार्चमा गरिएका सर्वेक्षणअनुसार उनको कार्यसम्पादन अनुमोदन दर करिब ३६ प्रतिशतदेखि ४१ प्रतिशत रहेको छ । यसको अर्थ देशका आधाभन्दा बढी नागरिकहरू उनको नेतृत्वशैलीसँग असहमत छन् । धेरै नागरिकका अनुसार ट्रम्पले अमेरिकी शासन प्रणालीलाई जोखिमपूर्ण दिशातर्फ धकेलिरहेका छन् र अत्यधिक शक्ति केन्द्रित गर्दै असहमत आवाजहरूलाई दबाउने प्रयास गरिरहेका छन् ।

जनवरी २०२५ मा ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पले राष्ट्रपतीय अधिकारको दायरालाई फराकिलो बनाएका छन् । उनले कार्यकारी आदेशमार्फत संघीय सरकारका अङ्गहरूलाई प्रभावमा ल्याउन प्रयास गरेका छन् र राज्यका गभर्नरहरूको विरोध बाबजुद अमेरिकी सहरहरूमा राष्ट्रिय प्रहरी परिचालन गरेका छन् । उनका आलोचकहरूले यसलाई असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरनाक कदम मानिरहेका छन् । तर ट्रम्पका अनुसार यी कदम देशको पुनर्निर्माणका लागि आवश्यक छन् ।

ट्रम्पले सन् २०२४ को निर्वाचन निष्पक्ष रूपमा जितेका थिए । करिब ४९.८ प्रतिशत लोकप्रिय मत (सात करोड ७० लाख) पाएका उनले स्पष्ट विजय हासिल गरेका थिए । तर मार्च २०२६ सम्म सडकमा यति ठूलो विरोध किन देखियो रु यसबारे विद्वानहरूले “प्रतिस्पर्धात्मक निरंकुशता”को अवधारणा प्रयोग गरेर व्याख्या गरेका छन् । यस अर्थमा, निर्वाचन जारी भए पनि सत्ता हातमा रहेका व्यक्तिहरू राज्य संयन्त्रको प्रयोग गरेर आलोचकलाई दबाउन, आफ्ना समर्थकलाई लाभ दिन र विपक्षीका लागि प्रतिस्पर्धा कठिन बनाउन सक्छन् ।

भोट, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता मूल्याङ्कन गर्ने भी-डेम संस्थाको सन् २०२६ को प्रतिवेदनअनुसार अमेरिका विश्व वरियतामा २०औँ स्थानबाट ५१औँ स्थानमा झरेको छ । उदार लोकतन्त्रको सूचकांक एक वर्षमै २४ प्रतिशतले घटेको छ । संस्थाका अनुसार राष्ट्रपतिको हातमा शक्ति तीव्र रूपमा केन्द्रित हुँदै गएको र संसद तथा न्यायालयको अधिकार घट्दै गएको छ । सञ्चारमाध्यम र अभिव्यक्ति स्वतन्त्रता सीमित हुने प्रयास भइरहेका छन् । यही कारण अमेरिका पूर्ण उदार लोकतन्त्र नभई चुनावी लोकतन्त्रको रूपमा वर्गीकृत भइरहेको छ ।

विद्वानहरूले भन्छन् – लोकतन्त्र केवल निर्वाचनमा सीमित हुँदैन । स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम, अल्पसंख्यक सुरक्षा र सत्तामा रहेका व्यक्तिहरूले आफ्ना सीमाहरू स्वीकार गर्ने संस्कृतिको आवश्यकता हुन्छ । जब यी कमजोर हुन्छन्, तब निर्वाचन जितेको नेताले प्रणालीलाई आफ्नो पक्षमा ढाल्न सक्छ । अहिलेका प्रदर्शनकारीहरूले यही चिन्ता व्यक्त गर्दै सडकमा उत्रिएका छन् । उनीहरूका लागि मतपेटिका मात्र पर्याप्त नभएको महसुस भएको छ ।

सम्बन्धित खवर

बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सिमाना (साँध) सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमान्चक पक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका रोमान्चक पक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण केवल कूटनीतिक भेटघाटमा सीमित रहेन, यो शक्ति, प्रदर्शन,...

भारतीय अदालतबाट निस्किएको ‘साङ्लो’

भारतीय अदालतबाट निस्किएको ‘साङ्लो’

काठमाडौँ । कुनै समय थियो, संसारमा भएका घटनाको आवाज सीमाना पारी पुग्न महिनौँ लाग्थ्यो।...

जब डाक्टरले नै गणतन्त्र आएको बिर्सिए…

जब डाक्टरले नै गणतन्त्र आएको बिर्सिए…

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही जेठ ७ मा `व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको...