काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यही जेठ ७ मा `व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको विज्ञ सूची` तयार पार्नका लागि योग्य विशेषज्ञ चिकित्सकहरूलाई आवेदन दिन आह्वान गर्दै एक सूचना जारी गर्यो ।
विज्ञ सूची बनाउन निकालेको सूचनामा पढेलेखेका अब्बल चिकित्सकहरूले मुलुकमा गणतन्त्र आएको नै बिर्सिए । किन कि सूचनाको मुख्य वाक्यांशमा लेखिएको छ : `नेपाल अधिराज्य भित्रका योग्य विशेषज्ञहरूलाई….`

सूचना निकाल्दै गर्दा चिकित्सकहरूले नेपाल अहिले अधिराज्य होइन भन्ने बिर्सिएका हुन् । जब कि नेपालमा १८ वर्षअघि २०६५ जेठ १५ मै गणतन्त्र घोषणा भएको हो । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले आफ्नो प्रस्तावनामा नै स्थापित गरिसकेको छ ।
तर काउन्सिलले आधिकारिक सूचनामै अझै पनि `नेपाल अधिराज्य` शब्द प्रयोग गरेको हो । प्रज्ञा नेपाली वृहत शब्दकोषमा अधिराज्यको अर्थ अनेकौँ उपराजा (महाराज) उपर एक अधिराज (महाराजाधिराज) को प्रभुत्व भएको राज्य हो । राजाद्वारा शासित राज्य या राष्ट्र प्रमुखका रूपमा राजा रहेको देशलाई मात्रै अधिराज्य भनिन्छ ।
सूचनामा उल्लेख भएको पुरानो राजतन्त्रकालीन शब्दावलीले धेरैको ध्यानाकर्षण गराएको छ । यो घटनाले नेपालका सरकारी तथा अर्ध-सरकारी निकायहरूले आधिकारिक दस्तावेजमा भाषा र शब्दावली अद्यावधिक गर्न कत्तिको ध्यान दिइरहेका छन् भन्ने प्रश्न पनि उठाएको छ ।
हेर्नुहोस् सूचना –


