अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

जस नेपाल

१८ वैशाख २०८३

अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

काठमाडौँ । सरकारको कदमविरुद्ध नागरिकहरुले आन्दोलन गर्नु स्वाभाविकै हो । चलचित्रकर्मीहरु पनि सरकारविरुद्ध सडकमा उत्रने गरेको घटना नेपालमा नौलो होइन ।

तर, न्यायालयको निर्णयमै विरुद्ध चर्चित कलाकारहरु आन्दोलनमा आउँछन् भने लोकतन्त्रमा योचाहिँ अलि अनौठो विषय हो ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा देशका चर्चित कलाकारहरु अदालतकै निर्णयविरुद्ध कालोपट्टि बाँधेर विरोध प्रदर्शनका उत्रिए । यो प्रदर्शनले देशका गहना मानिने कलाकारहरुमै ‘जुडिसियल लिटरेसी’ को अभाव देखाएको छ ।

उच्च अदालत पाटनले मंगलबार गरेको एउटा अन्तरिम आदेशको विरोधमा बुधबार माइतीघरमा कलाकारहरुले विरोध प्रदर्शन गरेका हुन्।

अदालतको निर्णयमा असहमति जनाउँदै आन्दोलनमा उत्रनेहरुमा चर्चित कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कासँगै अशोक शर्मा, प्रदीप भट्टराई, खगेन्द्र लामिछाने, सुयोग गुरुङ, रौनक विक्रम कँडेल, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन र निर्माता संघका अध्यक्ष उदय सुब्बालगायतकोे सहभागिता थियो ।

‘अभिव्यक्तिको स्वतन्त्रता’का लागि भन्दै आयोजना गरिएको प्रदर्शनका क्रममा कलाकारहरुले ‘सिनेमा साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नायिका स्वस्तिमाले बोकेको प्लेकार्डमा ‘सिनेमाले बोलोस्, साहित्ष्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’ भन्ने नारा लेखिएको थियो । अन्य प्लेकार्डमा ‘कलाकारहरुले संविधानले दिएको सम्मान हाम्रो अडान’ जस्ता नाराहरु लेखिएका थिए ।

नायिका स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’को प्रदर्शनमा मंगलबार उच्च अदालत पाटनले वैशाख २२ गतेसम्मका लागि अन्तरिम आदेशमार्फत रोक लगाएपछि अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै फिल्मकर्मीहरूले माइतीघरमा मौन प्रदर्शन गरेका हुन् । जबकि अन्तरिम आदेशको निरन्तरताबारे अदालतमा २२ गतेपछि छलफल हुने छ ।

बादी समुदायको यौन कथासँग जोडेर बनाइएको चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि हलहरुमा प्रदर्शन गर्ने तयारी थियो । तर, बादी समुदायलाई होच्याउने कथावस्तु रहेको दाबीसहित मुद्दा परेपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अन्तरिम आदेशमार्फत् २२ गतेसम्म प्रदर्शनमा रोक लगाएको छ ।

यसअघि बादी समुदायको कथामा आधारित चलचित्र ‘पण्डित बाजेको लौरी’ र नथिया एवं ऐलानी नाममा दुई उपन्यासविरुद्ध पनि यसअघि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । जसमा सर्वोच्चले फैसला सुनाउँदै प्रतिपादन गरेको नजीरमै टेकेर मंगलबार उच्च अदालत पाटनले ‘लालीबजार’माथि अन्तरिम रोक लगाएको हो ।

‘लालीबजार’को प्रदर्शनमा सरकारले रोक लगाएको होइन । यो अदालतमा विचाराधीन विषय हो । सरकारले रोक लगाएको अवस्थामा भने कलाकारहरुको विरोध प्रदर्शनलाई जायज मान्न सकिनेमा विवादै छैन ।

तर, कलाकार जस्ता राष्ट्रका गहनाहरुले नै न्यायालयमा विचाराधीन विषयमा सडकमा ओर्लेर विरोध प्रदर्शन गर्दा न्यायिक समुदायमा भने यो घटना प्रश्नयोग्य विषय बनेको छ । कलाकारहरुको यस्तो कार्यले अदालतप्रतिको जनविश्वास घटाउने र अदालतलाई सडकबाटै दबाव दिने गलत संस्कारको विकास हुन सक्ने चिन्ता कानूनविदहरुको छ ।

उच्च अदालतले पाटनले बैशाख २२ गतेपछि अन्तरिम आदेशको निरन्तरताबारे छलफल गर्ने नै छ । तर, त्यसअघि नै सडक प्रदर्शनमा उत्रिँदा कलाकारहरुप्रति सामाजिक रुपमा आलोचना बढ्न सक्छन् ।

यसै सन्दर्भमा कलाकाहरु सडकमा आएपछि कतिपयले सामाजिक सञ्जालमा निश्चल बस्नेतको फिल्म बहिस्कार अभियानसमेत थालेका छन् ।

लालीबजार चलचित्रको मुद्दा अभिव्यक्ति स्वतन्त्रतासँग मात्र सम्बन्धित नभएर बादी समुदायको पहिचान र प्रतिष्ठासँग पनि जोडिएको विषय हो, जसबारे यसअघि नै वादी समुदायको मर्यादाबारे सर्वोच्च अदालतले नै स्पष्ट फैसला सुनाइसकेको अवस्था छ ।

उच्च अदालत पाटनले मंगलबार सर्वोच्चको त्यही फैसलामा टेकेर अन्तरिम आदेश दिएको हो ।

बादी समुदायमाथिको आत्मसम्मानबारे प्रश्न उठिरहेका बेला राष्ट्रका गहना मानिने कलाकारहरु नै यसरी अदालतको विरोधमा सडकमा आउँदा स्वतन्त्र न्यायालयमाथि ‘सडक–ट्रायल’ गर्न खोजिएको सन्देश पनि जान सक्छ ।

चलचित्र लालीबजारको विषयमा मंगलबार पाटन उच्च अदालतले के भनेको थियो ? त्यस्तै वादी समुदायबारे फिल्म बनाउँदा ख्याल गर्नुपर्ने विषयबारे सर्वोच्च अदालतले यसअघि के भनेको थियो ?  विस्तृतमा पढ्नका लागि तलको लिंकमा जानुहोस्–

उच्च अदालतले भन्यो– लालीबजार फिल्म नदेखाउनू

‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला

सम्बन्धित खवर

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले...

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

महाअभियोगको भयबाट मुक्त भएर अघि बढौँ, संरचना भत्काउने र विधिको हत्या गर्नेहरुको स्वार्थ भंग हुनेछ

नेपाल प्रधान न्यायालय ऐन २००८, विक्रम सम्बत् २००९ सालमा वैशाख २६ गतेबाट लागु भएको...

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

डा. मनोज शर्माबारे यहाँहरुलाई मैले जानकारी दिनुपर्ने भो ! (भिडियोसहित )

यहाँहरुलाई मैले जानकारी दिनु पर्ने भो । यहाँहरुमध्ये धेरै मित्रहरुलाई जसलाई जानकारी छ वा...