मेरो नाम सुभद्रा न्यौपाने हो । म विगत २५ वर्षदेखि मनोहरा बस्तीमा परिवारसहित बसिरहेकी थिएँ । मेरो बस्तीमा झण्डै १२–१३ सय घरधुरी थियौं ।
बस्तीमा सरकारी स्कुल पनि थियो । गुम्बा पनि थियो । सबै कुरा थियो । यहाँ एउटा ‘डायल’ भन्ने कोरियन संस्थाले १६–१७ वर्षसम्मका केटाकेटीलाई बिहानको टाइममा खाना खुवाउने काम गर्थ्यो ।
सरकारी विद्यालयसमेत भएको हुनाले मैले सोच्थेँ, हाम्रो बस्ती ठूलो छ, स्कुल पनि छ, यी सबै कुरालाई त भत्काउन गाह्रो पर्छ होला । त्यसैले मलाई विश्वास लाग्दैनथ्यो कि मेरो बस्ती सरकारले डोजर लगाएर भत्काउँछ ।
बैशाख १२ गते बेलुका थापाथली, गैरीगाउँ र शान्तिनगर भत्काइसकेर हुरुर्र जानुभयो, पाँच मिनेटमा बिजुली काट्नुभयो । पाँचै मिनेटमा ठ्याक्क डोजरहरू लिएर गइहाल्नुभयो । डायल संस्थाका सामानहरू सबै निकाल्नै नदिइकन भत्काइदिनुभयो । गर्दागर्दै हाम्रो घरको पालो आइहाल्यो ।
आफ्नो घर जोगाउन सक्ने मान्छे नै भएनन् । मेरा बुढा प्रतिकार गर्नलाई जान खोज्नुभयो । अब बुढा जानुभयो भने त हाम्रो जिन्दगी, सम्पत्ति सारा संसार सकिन्छ, मैले छोराछोरी कसरी पाल्ने भनेर बुढालाई रोक्नतिर लागेँ । बुढालाई रोक्नतिर लाग्दा घरका सामानहरू राम्रोसँग निकाल्न सकिनँ ।
मेरो नानु (छोरी) को बैशाख १४ गतेदेखि कक्षा १२ को जाँच थियोे । नानु पनि ठ्याक्क ट्युसनबाट आइपुगी । ‘मम्मी’ भन्दै चिच्याई । म कुन सामान निकालौँ भनेर यता चिच्याउँदैछु । नागरिकताहरु भएको झोला निकालेर कुदेर आएँ । नानीबाबुहरूलाई सम्हालेँ । त्यत्तिकै भयो । त्यो रात त्यत्तिकै भयो ।

भोलिपल्ट त्यस्तै ११ बजेतिर फेरि डोजर ल्याउनुभयो । मैले हेर्न सकिनँ । शान्तिनगरबाट भगवती बहिनी जानुभएको थियो । उहाँसँग मैले बाटोमा भेटेँ र सँगै माथितिर गएँ । मैले मेरो बस्ती भत्काएको हेर्न सकिनँ । घर हेरेर रोएँ ।
प्ररहीले ‘तपाईँ जानुस्, तपाईँ जानुस्, तपाईँ जानुस्, के हेरिरहेको त्यहाँ ? तपाईँ जानुस !’ भन्यो ।
‘नाइँ म जान्नँ । मेरो घर यसरी किन भत्काउनुभएको ? म जान्नँ’ भन्दाखेरि ‘तपाईँ जानुस्, किन टेर्नुहुन्न ? तपाईँ भनेको मान्नुहुन्न ?’ भन्यो । अनि म डरैले भए पनि उता गएँ ।
अनि म झोला बोक्दै, रुँदैरुँदै हिँडेँ । ‘हामीलाई कहाँ लान्छ, अब हामी कहाँ जाने ? हाम्रो घर छैन, कहाँ जाने ?’ भन्दा ‘तपाईँ ऊ त्यो नगरपालिकाको गाडीमा जानुस्’ भन्यो । अनि म त्यहाँ गएँ । त्यहाँ मैले लाइनमा उभिएर नाम लेखाएँ ।

मलाई यहाँबाट भत्काए पनि घर दिन्छ होला भन्ने लागेको थियो । हाम्रो गाउँमा पनि ऐलानीमै घर छ, त्यो देवरहरूले भोगचलन गर्नुहुन्छ । हामी त यहाँ खोलाको ठाउँमा बसेको २५ वर्ष भइसक्यो । अब सरकारले दिन्छ होला, यहाँ नाम लेखाएपछि त केही होला भन्ने ठानेँ ।
अनि त्यहाँबाट नाम लेखाएर घर भत्केको ठाउँमा आएँ । सामान यताउति छरिएका थिए । छोराछोरी कोे कता, को कता । त्यही मेन्टेन गर्दागर्दै म त्यहाँ (होल्डिङ सेन्टरमा) जान सकिनँ । भोलि–पर्सिपल्ट गएँ ।
त्यहाँबाट मलाई ‘टोकियो टाउन’ भन्ने होटेलमा लानुभयो । त्यहाँ एकदिन बसेँ । अनि फेरि घर भत्किएको ठाउँमा आएँ । आफ्ना सामानहरू यताउति गरेर हामी बैशाख २१ गते बोडेको होल्डिङ सेन्टरमा गयौं ।
म रंगशाला गएपछि त्यो दिन हर्क साम्पाङ पनि आउनुभएको थियो । “के छ समस्या ?’ के–के भन्दै हुनुहुन्थ्यो । उहाँसँग भेटेपछि हामीलाई उता बोडे लगियो । बोडे लगेर २१ गतेदेखि राख्नुभयो ।
बोडेमा मेरो अहिलेको अवस्था कस्तो छ भने यहाँ तत्काल कहीँ, केही नपाएर एउटा सटरमा मैले बचेखुचेको सामान राखेकी छु । मेरो बुढाले साइकल पसल गर्नुहुन्थ्यो, त्यही हो सामान । बचेको अलिअलि सामान लगेर त्यो सटरमा थुपारेँ । छोरालाई त्यही सटरमा सुताएँ ।
छोरीलाई त्यहीँ एकजना चिनजान भएकी बहिनीकोमा राखेँ । नानीलाई यत्रो दुःख गरेर पढाएकी हुँ, मेरी छोरीको १२ को जाँच नबिग्रियोस्, तैँले हेर्दे, म यो गुण कहिल्यै पनि बिर्सिन्नँ भनेँ ।
उसले ‘हुन्छ दिदी, टेन्सन नलिनु, म नानीलाई राम्ररी हेर्छु’ भनी । नानी उसैलाई जिम्मा लगाएँ ।
त्यो रात हामी एउटा होटेलमा गएर सुत्यौँ । भोलिपल्टदेखि कता के, कता के ।
उता गाउँमा देवर बित्नुभएको एक महिना भएको थियो । बुढा भोलि–पर्सिपल्ट सानो छोरा लिएर गाउँ जानुभयो । मेरो एउटा छोरोचाहिँ सटरमै सुतिरहेको छ । छोरी त्यही बहिनीकैमा छ ।

मचाहिँ अब सरकारले घर देला, उद्धार गर्ला, भनेर यहाँ बसेकी छु । फारम भरेको छ, घर दिन्छ’ भनेर यहाँ म बसेको खास कारणचाहिँ त्यही हो ।
म बाहिर बसेकी भए मैले यताउति केही गरेर दुईचार पैसा कमाउन सक्थेँ । तर, घर भत्किएका कारण यहाँ (होल्डिङ सेन्टर) मा बाध्यताले बस्नुपर्यो । मेरो घर छैन त्यसैले घर दिन्छ कि भनेर बस्नै पर्यो । भत्काएपछि त दिनै पर्यो नि । मान्छेलाई यसरी बिना विकल्प उठिबास गर्न त पाइएन नि त । दिन्छ भन्ने एउटा आशाले यहाँ बसेँ ।

यहाँ (होल्डिङ सेन्टरमा) पनि कस्तो छ ? कहिले एउटा जनस्वास्थ्यको मान्छे आउनुहुन्छ, ‘तपाईँहरू यो स्थितिमा पुग्नुभयो, यस्तो गर्नुभयो, यस्तो गर्नुभयो’ भनेर आउनुहुन्छ । ठिक्क पार्नुहुन्छ । भोलिपल्ट जनस्वास्थ्यकै त्यही मान्छे नआएर अर्को आएर सोधपुछ गर्नुहुन्छ । कोही ‘मानव सेवा’ भनेर आउनुहुन्छ, कोही के भनेर आउनुहुन्छ ।
अघिल्लो दिन एउटा मान्छेसँग रोएको छ भने भोलिपल्ट अर्को मान्छेसँग हामी कसरी रुने ? एउटै मान्छे भए पो हामीले दिल खोलेर हाम्रो कुरा पनि अगाडि बढाउन सक्छौँ त ! त्यो छैन ।
अस्ति काँग्रेसको मान्छेहरू पनि आउनुभयो । हामीलाई त थाहा थिएन होला, हामी त्यत्रो ठाउँमा बस्यौँ, हाम्रो भोटहरू लिनुभयो त्यही ठाउँबाट यस्तो गर्नुभयो । वडाको मान्छेहरूलाई, बाबुकाजीहरूलाई त थाहा थियो होला नि ! उहाँहरूले हामीलाई किन भन्नुभएन भन्दाखेरि सरक्क छोडेर अर्कोतिर जानुभयो ।
यहाँ एकजना दुई महिनाको नानी भएको सुत्केरी बहिनी थिइन् । सानो जीउडालकी । बल्खुबाट आएकी रे बिचरा । अनि चारदिन भइसक्यो रे, डाइपरहरू ल्याइदिन्छु ल्याइदिन्छु’ भन्दाभन्दै नभएर त्यो नानी पनि बिचरा ‘आफन्तकोमा बस्छु, यस्तो बिजोगमा त मेरो नानी मर्छ, म सक्दिनँ’ भनेर गइन् । मान्छेहरू जाने–आउने, जाने–आउने क्रम बढ्दो छ । अहिले त्यही ३५–३६ जना जतिमात्र हुनुहुन्छ ।
एउटा आउने आश्वासन देखाउने, अर्को आउने आश्वासन देखाउने । अनि हामीलाई गर्नेचाहिँ के ? हामीलाई त्यस्तो अवस्थामा पारेर उठाएर घर न घाटको बनाएर राखेपछि तिमीहरूलाई यस्तो गर्छौँ भनेर एउटा ठोस कुरा पनि छैन । बाध्यताले एक गाँस भातका लागि रुँगेर बस्नुपर्ने बाध्यता छ ।
अब हामी के गरौँ ? कहीँ गएर बसौँ भने कसकोमा गएर बसौँ ? गरौँ के ? हामी त्यो बस्तीमा बस्दा लघुवित्तमा हामीले बचत यताउति गरिरहेका थियौं । बाहिर गएर बस्दा हामीले कसरी जमघट हुने ? हामीलाई त लास्टै गाह्रो भएको छ । यस्तो अवस्थामा पनि बाँच्न परेको छ ।
सरकारलाई म एउटै प्रश्न के गर्छु भने भने पाँच मिनेटको निर्णय ले यत्रो जनताको उठिबास गराउने सरकारले के सोचेको छ दिमागमा ?
हामीलाई झट्टै विकल्प दिएर सास फेर्न सक्ने ठाउँमा राखियोस् । इचंगुतिर राखेको जस्तो ठाउँमा होइन, हामीलाई सास फेर्न सक्ने ठाउँमा, राम्रो वातावरण भएको ठाउँमा राखियोस् । बच्चाहरूले काम गर्न, पढ्न पाउने ठाउँमा राखियोस् ।
यत्रो वर्ष पढाइयो गुनाइयो । अब त बच्चाहरूले पनि १२ पास गरेर केही काम गर्छन् र छ–सात हजार रुपैयाँ कमाउँछन् होला भन्ने टाइममा हाम्रो त्यस्तो उठिबास लगाइदिएको छ । ममात्रै होइन नि, यस्ता आमाहरू हजारौँ हुनुहुन्छ । बिचरा कस्तो भयो होला उहाँहरूलाई ! यो बुझ्न एकदमै जरुरी छ ।
(कुराकानीमा आधारित)
यो पनि –

