हेल्लो ढाँट सरकार ! सुकुमबासीलाई ‘जेल’ मा किन कोचेको ?

जस नेपाल

३१ वैशाख २०८३

हेल्लो ढाँट सरकार ! सुकुमबासीलाई ‘जेल’ मा किन कोचेको ?

काठमाडौँ । कवि कृष्ण सेन इच्छुकले कारागारमा बस्दा जेल शीर्षकको एउटा कविता लेखेका थिए, जहाँ पराधीन जिन्दगी जहाँ बिताउनुपरे पनि त्यो जेलसरह हुने बताइएको थियो –

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक प¥यो र ?
मित्र, अर्काको मुठीभित्र पराधीन जिन्दगी
जहाँ काट्नुपरे पनि त्यो जेल हुन्छ ।

बागमती, विष्णुमति र मनोहरा खोला किनारका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले आफ्नै छाप्रोमा खाई–नखाई जिन्दगी काटिरहेका थिए । खान, लाउन र रोजगारीको अभाव नै भएता पनि उनीहरुले सरकारसँग कुनै गुनासो नगरी जिन्दगी काटिरहेका थिए । उनीहरुमध्ये अधिकांशले फागुन २१ को चुनावमा रास्वपालाई जिताउन घण्टीमा भोटसमेत हालेका थिए ।

तर, बुद्ध जयन्ती एवं अन्तरराष्ट्रिय श्रमिक दिवसरका दिन बालेन सरकारले डोजर लगाएर गरीबका छाप्रा भत्काइदियो । अहिले उनीहरु ‘होल्डिङ सेन्टर’ नामको जेलमा पराधीन जिन्दगी बिताइरहेका छन् । सरकारले उनीहरुलाई ढाँट्नुसम्म ढाँटेको छ, ठग्नुसम्म ठगेको छ ।

यतिसम्म कि होल्डिङ सेन्टरमा राखिएका बेघरबारहरुलाई प्रहरीले हप्कीदप्की गर्ने गरेको छ । आफ्नो गुनासो र पीडा मिडियामा पोखेको थाहा पाउनासाथ बेघरबारहरुलाई हप्काउने गरिएको छ ।

होल्डिङ सेन्टरमा रहेका बेघरबारहरुको मानव अधिकारको अवस्था राणाकालको जस्तै छ । जेलको भन्दा पनि खराब छ । परिवारका सदस्यहरुलाई एकै ठाउँमा कोचिएको छ । ससुरा–बुहारीले समेत एउटै पालभित्र सगोलमा सुत्नुपर्ने अवस्था छ । तर, त्यहाँभित्रको दुःख मिडियामा सुनाउन प्रहरी प्रशासनले रोक लगाउने गरेको छ । जसले बोल्छ, उसलाई धम्की दिने गरिएको छ ।

होल्डिङ सेन्टरमा राखिएका पीडितहरुले कस्तो जीवन बिताइरहेका छन् त ? उनीहरुको मानवअधिकारको अवस्था कस्तो छ ? यसबारे चर्चा गर्नुअघि सरकारले उनीहरुलाई कसरी ढाँट्यो र ठग्यो भन्ने विषयमा चर्चा गरौं ।

बालेन सरकारको ठाडो निर्देशनमा काठमाडौँ जिल्ला प्रशासनले बैशाख १० गते सूचना जारी गरेर ११ गते थापाथली र गैरीगाउँ लगायतका ठाउँमा छाप्राहरु भत्काउन थालेको थियो । प्रशासनले निकालेको सूचनामा १०–१५ दिनमा भूमिहीन सुकुम्बासीलाई बासको उचित प्रवन्ध गर्ने भनिएको थियो । तर, आज २० दिन बितिसक्यो, सरकारले ‘उचित बास’को प्रबन्ध गरेन । यो भनेको बालेन सरकारले सुकुमबासीहरुमाथि गरेको गम्भीर बेइमानी, धोखा र ठगी हो ।

बैशाख १० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो मुक्तिराम रिजालद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचनाको छैठौं नम्बर बुँदामा भनिएको थियो, ‘आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ । यस कार्यका लागि तपाईहरुले सहयोग गर्नुहोला ।’

अब बालेन सरकारलाई सोध्नुपर्ने भएको छ, ‘ जुन आश्वासन दिएर सुकुमबासीहरुको आवास भत्काइयो, यो छैठौं नम्बरको बुँदा खोई कार्यान्वयन गरेको ? के यो सरकारले नागरिकमाथि दिएको धोका होइन ?

हेर्नुहोस् काठमाडौँ जिल्ला प्रशासन कार्यालयको ‘अत्यन्त जरुरी सूचना’–

नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरूमा वर्षौँदेखि अनधिकृत तवरबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जिउज्यान समेत जोखिममा पारी बसोवास गरेका सम्पूर्ण घर टहरामा रहेका व्यक्तिहरू र यसरी बनेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूको जानकारीको लागि यो अत्यन्त जरुरी सूचना जारी गरिएको छ । यस सूचनाबमोजिम निम्न कार्यहरू तत्काल गर्नुहुन सूचित गरिएको छ ।

१. यसरी अवैधरूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ः०० बजेभित्रमा खाली गर्नुहोला । आफैँले सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला। सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रवन्ध मिलाउनेछ ।

२. यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशु पंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला ।

३. घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला । यस कार्यका लागि काठमाडौँ महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला ।

४. मिति २०८३ वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ । यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले तोकेका विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरुमा राखिनेछ ।

५. तपाईहरुलाई सुरक्षितरुपमा बसोवासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ ।

६. आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ । यस कार्यका लागि तपाईहरुले सहयोग गर्नुहोला ।

जिल्ला प्रशासन कार्यालयको सूचनामा नागरिकलाई धम्क्याउँदै भनिएको थियो–

‘यदि कोही कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिका समेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाई स्वयं हुनुहुनेछ ।’
सूचना–

बैशाख १६ मा अर्को फर्मान

धम्की र १५ दिने आश्वासनका साथ बस्तीमा डोजर चलाएको बालेन सरकारले बैशाख १६ गते नागरिकलाई अर्को फर्मान जारी ग¥यो

काठमाडौँ जिल्ला प्रशासनबाट जारी गरिएको ‘नदी किनारका अनधिकृत, जोखिमपूर्ण वस्तीहरु खाली गर्नेसम्बन्धी अत्यन्त जरूरी सूचना’ मा भनिएको थियो–

काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरुका नदी किनाराका वस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तवरबाट बर्षौँदेखि बसोवास भै आएका वस्तीहरु मानवीयरुपमा उद्वार गर्न एवं विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते विहान ७ः०० बजे देखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ । अतः यसै सूचनालाई मनन गरी देहायका कार्य तत्काल गर्नु हुन सूचित गरिएको छ ।

१. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरु तत्काल खाली गर्नुहोला ।

२. तपाईको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालवालिका छन् भने उनीहरुलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

३. विरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईको आवश्यकताअनुसार मद्दत लिनुहोला ।

४. तपाईको व्यक्तिगत मालसामानहरु, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरुको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला।

५. २०८३ वैशाख १७ गते साँझसम्म पूर्णरुपमा घर टहरा खाली गर्नु होला ।

६. वास्तविकरुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

हेर्नुहोस् सूचना–

बालेन सरकारले बैशाख १० नै गते जारी गरेको सूचनामा ‘आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ ।’ भनिएको थियो ।

तर, अहिले पनि पीडितहरु होल्डिङ सेन्टरमै छन् । सरकार भने ढाँट र ठगमा परिणत हुन पुगेको छ ।

अब बेघर बनाइएकोहरुलाई राखिएको होल्डिङ सेन्टरको स्थिति के छ, त्यसबारे चर्चा गरौं ।

जेल हो कि होल्डिङ सेन्टर ?

‘हामीलाई बैशाख १२ गते घर भत्काएपछि राति ११ बजे दशरथ रंगशालामा लगियो । त्यसपछि राति १ बजे नयाँ बसपार्कको होटलमा राखियो । फेरि शुक्रबार साँझ इचंगु पुर्याइयो । त्यहाँ पुग्दा भवनमा भर्खरै रंग लगाइँदै थियो । पुरै रंगको गन्ध आइरहेको थियो ।’

शान्तिनगर सुकुमबासी बस्तीकी रबिना थापाले सुनाएको यो कथा केवल एउटा परिवारको होइन । इचंगुमा सारिएका एक सयभन्दा बढी विस्थापित नागरिकको सामूहिक पीडा हो ।

हाल इचंगुमा करिब १०७ जना विस्थापितहरु बसिरहेको अनुमान छ । एउटै कोठामा दुई परिवारसम्म राखिएको छ । खराब अवस्था सहन नसकेर केही परिवार त्यहाँबाट बाहिरिएका छन् ।

घर भत्काइएपछि राखिएको इचंगुको भवनमा न्यूनतम मानवीय व्यवस्थासमेत नभएको पीडितको गुनासो छ । फोहोर कोठा, चिसो अस्पतालको जस्तो बेड, सुरक्षित पानीको अभाव, बिरामी, वृद्धवृद्धा र बालबालिकाको समस्या त्यहाँको दैनिकी बनेको छ ।

रबिनाका अनुसार उनीहरूलाई राखिएको भवन पूर्ण रूपमा तयार भइसकेको थिएन । कोठा धुलैधुलो थियो। रंगको गन्धले बस्नै गाह्रो हुन्थ्यो । सुत्नका लागि अस्पतालमा प्रयोग हुने फलामे बेड मात्र दिइएको छ । ओछ्याउने वा राम्रो सिरक–डसना छैन ।

उनी भन्छिन्, ‘रेडक्रसले एउटा म्याट दिएको थियो । त्यो ओछ्याउने कि ओढ्ने ? माथिबाट ओढ्यो तल चिसो हुन्छ, तल ओछ्यायो माथि चिसो हुन्छ ।’

विशेष गरी बालबालिका र वृद्धवृद्धालाई रातको चिसोले बढी असर गरेको पीडितहरुको भनाइ छ ।

सरकारले होइन, छिमेकीले पानी दिए

विस्थापितहरूका अनुसार पहिलो रात खाना त दिइयो, तर पिउने पानीको व्यवस्था थिएन । रबिनाले भनिन् ‘पानी छैन भनियो । त्यसपछि हामीले आफैँ मिनरल वाटर किनेर खायौँ । भोलिपल्ट छिमेकीहरूले १० वटा जार मगाइदिएपछि मात्रै केही सहज भयो ।

पाँच दिनसम्म बिहान–बेलुका खाइरहेको खाना दूषित पानीबाट पकाइएको थाहा पाएपछि अहिले अधिकांश बिरामी परेको स्थानीयको भनाइ छ । त्यहाँ बसिरहेका धेरैमा रुघाखोकी, घाँटी दुख्ने, पेट दुख्ने लगायत समस्या देखिएको र दीर्घरोगीहरू थप समस्यामा परेको उनीहरुको गुनासो छ ।

डायलाइसिस गर्नुपर्ने एक महिलालाई उपचारका लागि लगिएको छ । दूषित खानाका कारण बिरामी परेका अर्का एक वृद्धलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको स्थानीय बताउँछन्।

इचंगुमा सारिएकामध्ये धेरैजसो वृद्धवृद्धा र दीर्घरोगी रहेको स्थानीय बताउँछन् । कसैलाई सुगर, कसैलाई प्रेसर त कसैलाई किड्नी र मुटुको समस्या छ । एक महिलाले आफू मानसिक स्वास्थ्यसम्बन्धी औषधि सेवन गरिरहेको र औषधि सकिन लागेको बताएकी छन् । उनले भनिन्, ‘छ÷छ महिनामा स्लाइन पानी चढाउनुपर्छ, अब कसरी गर्ने होला ?’

निन्द्रा लाग्ने औषधि दिइयो

चिसो, तनाव र असुरक्षाका कारण रातभरि निद्रा नलाग्ने समस्या बढेको विस्थापितहरूको भनाइ छ । स्थानीयका अनुसार स्वास्थ्य परीक्षणका क्रममा केहीलाई भिटामिनसँगै निन्द्रा लाग्ने औषधिसमेत दिइएको थियो ।

विस्थापितहरूलाई सरकारले १५ दिनभित्र उचित प्रवन्ध गर्ने भनेता पनि हालसम्म बिहान–बेलुकाको खाना नजिकै रहेको मानव सेवा आश्रमले उपलब्ध गराइरहेको छ । स्थानीयले आश्रमप्रति आभार व्यक्त गरेका छन् ।

महिलाहरूका लागि सेनिटरी प्याडको व्यवस्था छैन । बालबालिकाका लागि आवश्यक सामग्रीको अभाव छ । दैनिक जीवन नै अनिश्चिततामा धकेलिएको पीडितहरूको गुनासो छ ।

इचंगु सारिएपछि धेरैजनाको रोजगारी प्रभावित भएको छ । ‘जहाँ जान पनि दुईवटा गाडी फेर्नुपर्छ, सबैले काम छोडेर बस्नुभएको छ ।’ रबिनाले भनिन् ।

यो त भयो बाबुराम सरकारका पालामा सुकुमबासीलाई स्थायी आवासका लागि तयार पारिएको इचंगुनारायणमा रहेको अपार्टमेन्टको कथा । तर, कीर्तिपुर, बनेपा लगायतका होल्डिङ सेन्टरहरुमा राखिएका बेघरबारको कथा झनै दर्दनाक छ।
घर भत्काइएका केही पीडितहरुको कथा उनीहरुकै मुखबाट सुनौं–

म कक्षा १० मा पढ्ने बालिका हुँ (नाम गोप्य)

म मनोहरा बस्तीबाट विस्थापित भएकी हुँ । मनोहरा बस्तीबाट घर भत्काएपछि यता होटेलमा ल्याएर राख्यो । अनि होटेलमा अंकल आन्टीहरुसँग कुरा गर्दाखेरि हामीलाई अपार्टमेन्टमा लान्छ, अनि हामीलाई होस्टलमा राखेर स्कुल पढाउने भनिएको थियो । त्यही आश गरेर हामी अपार्टमेन्टमा आयौँ ।

यहाँ खानाकै समस्या भयो । पढाउने मान्छेहरु आउँछन् भन्दाभन्दै यत्तिकै बैशाख बितिसक्यो । पहिले पढेको स्कुलमा हिजो गएर बुझ्दा अब सार्न मिल्दैन भनियो । मैले टेक्निकल विषय पढिरहेकी छु । अनि स्कुल सार्ने मिल्ने भएन । म सानोठिमीमा पढ्दै थिएँ । यता इचंगुबाट धेरै टाढा छ । एकजना छोरी मान्छे, परिवारलाई छाडेर उतै डेरामा बसेर पढ्न मिलेन । यस्तै भएर पढाइ छुटिरहेको छ ।

अपार्टमेन्टमा मजस्ता धेरैजना विद्यार्थीहरु छन् । सात कक्षादेखि ११ सम्मका धेरैजना छन् । अहिले पढ्न नपाएर यत्तिकै बसिरहेका छन् ।

हाम्रो पढाइबारे सोध्न सरकारका मान्छेहरु आउनुभएको छैन । एकचोटि हामी मन्त्रालयमा गयौँ, त्यहाँबाट सिडिओ कार्यालय जानु भनियो ।

सिडियो कार्यालयमा गयौँ । त्यहाँ एकजना म्याम हुनुहुँदो रहेछ । म्यामसँग कुरा गर्यौँ । अर्को ठूलो मान्छे हुनुहुन्न रहेछ । म्यामसँगै कुरा राख्दाखेरि तपाईँहरुलाई स्कुल सार्नु प¥यो भने हामीले गर्दिन्छौँ, अरु केही पनि गर्न सक्दैनौँ, स्कुलचाहिँ सार्न सक्छौँ मात्रै भन्नुभयो ।

परिवार छुट्टिएका छौँ, टुक्रा–टुक्रा भएका छौँ

हामी नेपालीहरु जस्तो होस्, खान पाऊँ नपाऊँ, थोत्रो लुगा ढाकेरै बसेका मान्छे हौँ । इज्जतमा बसेकै मान्छे हौँ । म जाने–आउने गर्छु । त्यहाँ मैले राति बसेको छैन । म साथीकोमा सुतेँ । टेन्ट लागेदेखि त्यहाँ छोरा बुहारी बस्छन् । श्रीमान् छोरीहरूकोमा बस्नुभएको छ ।

मेरो साथी एकजना एकल महिला हुनुहुन्थ्यो, उहाँको घरमा सुत्थेँ । मेरा छोरा बुहारी होल्डिङ सेन्टरमा बस्थे । पछि टेन्ट आएपछि, त्यो घर भयो भने । एक परिवार, एउटा टेन्ट दिनुभएको छ । त्यो टेन्टमा कस्तो छ भने मेरो श्रीमान, म, दुई भाइ छोरा, बुहारी बस्नुपरेको छ । सासू–ससुरा, जेठाजु, बुहारी सबै एकै ठाउँमा ।

परिवारको अवस्था त्यस्तै छ । सामान सबै टेन्टभित्र छिर्दैन, बाहिर भद्रगोल छ । हजुरहरुले देख्नुहुन्छ, सबै सामान बाहिर छरपष्टै छ । अलिअलि समेटेको पनि सबै डोजरले किचिमिची गरिहाल्यो । अलिअलि रहेको पनि त्यस्तो भइरहेछ ।

श्रीमान एकातिर, छोरा एउटा एकातिर, छोराबुहारी त्यहाँ, म कता, त्यस्तो स्थिति भएर छरपष्ट भएर बसेका छौँ हामी । यस्तोखालको स्थिति सरकारले बनाइदिएको छ । १५ दिनको टाइम दिनुभएको थियो, २० दिन बितिसक्यो ।

सरकारले कतिजना परिवार भनेर जहिल्यै सोध्छ । म दुईचोटि इमर्जेन्सी परेर जाँदाखेरि दुईचोटि नै मेरो नाम र नम्बर छोड्नुपर्छ । देख्ने प्रहरी जुन हुनुहुन्छ, उहाँहरुले त देखिराख्नुभएको छ, चिनजान भएको छ ।

एकदम इमर्जेन्सी परेर त्यहाँ जानुप¥यो भने घन्टौँ कुर्नुपर्ने अवस्था पनि छ । तुरुन्त जाने, तुरुन्त आउन नसकिने छ ।

म कहिले श्रीमान बस्नुभएको छोरी कहाँ जान्छु, कहिले यता आउँछु । ओहोर दोहोर भइराखेकी छु । सधैँ ओहोर दोहोर गर्न पनि गाडी भाडा चाहियो । घर भत्किसकेपछि त छोराको जागिर पनि फुत्क्यो । अब जागिर पनि अब कसले दिने ?
परिवार छुट्टिएका छौँ । हामी टुक्रा–टुक्रा भइरहेका छौँ । माइलो छोरो साथीकोमा बसेको छ । डल्लुतिर उसको चिनेको साथीकहाँ कोठाभाडामा । श्रीमान् छोरीकोमा बस्नुभएको छ । मचाहिँ कहिले श्रीमान् भएको ठाउँमा पुग्छु, कहिले छोराबुहारी भएको टेन्टमै पुग्छु ।

टेन्टभित्र बसेपछि भुईँमा सुत्यो, अब जाडो महिना आयो । खाट छैन । एउटा दरी दिएको छ । प्लास्टिकको म्याट त हुन्छ नि । आफ्नै पुराना ओढ्ने ओछ्याउनेहरु पनि छन् । त्यही ओछ्याउने, त्यही ओढ्ने हो । खाटहरु सबै कच्याक कुचुक भए । कहाँ पुगे पुगे । एउटा खाटचाहिँ मैले लिएर गएँ, बुहारीलाई त्यहीमाथि राखेको छु ।

म एक हप्ता भयो बिमारी भएको । एन्टिबायोटिक खुवाउनुपर्ने भयो । सिटामोलले पनि काम गरेन, त्यस्तो साह्रो बिमारी भएँ म । पहिले सिटामोल दियो, त्यसपछि त चेकअप गर्न जाँदाखेरि तपाईंलाई त एन्टिबायोटिक दिनुपर्छ भने । अनि पछि सलाइन पानी दिने भने । फेरि सुगर पनि, प्रेसर पनि भएकोलाई हुँदैन भने । पछि सुई लगाएर पठाइदिए । बल्ल एक हप्तामा बल्ल उठेँ । सुगर, प्रेसर, कोलेस्ट्रोल, युरिक एसिड सबै छ मलाई । उपचार चाहिँ आफैँले गर्नुपर्छ ।

पहिले थापाथलीमा बसेको बेलामा त छोराहरूले कमाउँथे, औषधि खाने पैसाले पाइन्थ्यो । अब बस्ती भत्किएपछि न छोराहरूको ड्युटी छ, न कमाइ छ । बुढो त झन् बिमारी, उहाँले कमाउने कुरै भएन । अनि म झन् रोगी, कमाउनु कताबाट ? मेरो आयस्रोत कतै केही पनि छैन ।

अहिले छरपष्ट भएर बसेको छु म । अब भन्नु कसलाई ? कसलाई गुहार्ने ? तपाईं के कामले बाहिर जानुभएको भन्छ । काम त हुन्छ नि मान्छेलाई ।सबै त्यहाँ बेलीविस्तार लाएर त उहाँहरुले बुझ्दिनुहुन्न । बुझ्नेहरुले पनि बुझ्ने चाहना हुन्न जस्तो लाग्छ मलाई त ।

अहिलेको केहीछिनका लागि सरकार र संस्थाले खान दिइरहनुभएको छ । खाएको कुरा खाएकै भन्नुपर्छ । सत्य कुरा बोल्नैपर्छ । मिठै खान दिनुभएको छ । शाकाहारी भए पनि मिठै खान दिनुभएको छ ।

पानी आउँदा समस्या पर्छ, त्यो छुट्टै कुरा छ । खाना उहाँहरुले मिठै खुवाउनुभएको छ । सुत्केरीलाई राम्रै हेर्नुभएको छ, बच्चा त्यहाँको स्कुल पढ्नेलाई । सरकारले हो या कसले हो, त्यो अब यहाँ मान्छेको मुख हेरेर त चिनिँदैन । कसले दिनुहुन्छ, हिजो हर्लिक्स पनि दिनुभएको छ । अनि थर्मस सानो–सानो बच्चा भएको आमालाई, सुत्केरीलाई ।

त्यहाँ मासु पनि दिइन्छ कि ?

अँ, त्यहाँ त मासु…

तपाईंकी बुहारी भेज हुन् ?

मासु खान्छिन् नि । अहिले खान पाइएको छैन ।

त्यहीँ खान मिलेन ?

मिलेन ।

अहिले मैले अण्डाहरू पनि बनाएर लगेर खुवाउन सकेको छैन । किनभने त्यहाँ पकाउनै मिल्दैन । बाहिर लगेर खुवाउन पनि कहिले पैसा हुन्छ, कहिले हुँदैन । ओहोर–दोहोर गर्न पनि आफूसँग गाडीभाडा हुँदैन । हिँड्न पनि म बिमारी छु । औषधि खानुपर्छ मैले । त्यहाँको औषधि मैले खानेखालको अस्ति मैले पाइनँ औषधिका लागि मैले बाहिरै जानुपर्छ।

अब सरकारले हाम्रो व्यवस्था कहिले गर्ने ? अब चार/पाँच महिना त महाबर्षा हुन्छ । अहिले त्यहाँ बसेको ठाउँमा पानी पस्छ ।

बैशाख १२ गते भत्काउनुभएको, आज त ३१ गते भइसक्यो । उहाँले दिएको १५ दिनको टाइम त कटिसक्यो । १५ दिनभित्रमा त उहाँले व्यवस्था गर्छु भन्नुभएको थियो । अहिलेसम्म त व्यवस्था भएको छैन ।

हामी गरिब हौँ, हामी छाप्रोमा बसेकै थियौँ । तर आफ्नै मेहेनत र आफ्नै पसिनाले खान्थ्यौँ । अहिले मेरो घरमा मलाई कति किसिमको मलाई रोग छ । भातै खान हुँदैन मैले । कहिले रोटी खानुपर्छ, कहिले ढिँडो खानुपर्छ । त्यहाँ खानामा त मैले भनेजस्तो त आउँदैन नि । भातै भात खायो भने त सुगर त झन् बढ्छ । उपचार गर्ने तुरुन्त पैसा कहाँबाट हुन्छ ? भोकै बस्न सकिँदैन । त्यस्तो स्थिति छ ।

यो पनि –

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

माइली तामाङको कथा : म ठगिएँ हजुर !

सम्बन्धित खवर

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

‘होल्डिङ सेन्टर’मा भेटिएकी एक आमाको न्यायको चित्कार

मेरो नाम सुभद्रा न्यौपाने हो । म विगत २५ वर्षदेखि मनोहरा बस्तीमा परिवारसहित बसिरहेकी...

न्यायाधीश खन्ना : जसले बरिष्ठता मिचिँदा प्रधानन्यायाधीश पद गुमाए

न्यायाधीश खन्ना : जसले बरिष्ठता मिचिँदा प्रधानन्यायाधीश पद गुमाए

काठमाडौँ । नेपालको न्यायालयमा अहिले जे भइरहेको छ, त्यो भारतले ठ्याक्कै ५० वर्षअघि भोगिसकेको...