माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

जस नेपाल

८ असार २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु : दोषी को ? कुन कानून आकर्षित हुन्छ ?

काठमाडौँ । रुकुम पश्चिममा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएकाे छ ।

मुसिकोट नगरपालिका-१ का सुन्दर भण्डारीको पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीहरूसँग ब्याट्रीमार्फत करेन्ट प्रयोग गरी माछा मारिरहेका बेला भण्डारी एक्कासी करेन्ट लागेर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिए पनि उनको मृत्यु भएको हो । घटनाका क्रममा सुन्दरसँगै माछा मार्न गएका चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक रूपमा घटना करेन्ट लागेर भएको मृत्यु देखिए पनि घटनाको प्रकृतिले जलचर जनावर संरक्षण ऐन, २०१७ अन्तर्गत समेत कानुनी प्रश्न उठाएको छ ।

आउनहोस जानौ: यसरी करेन्ट लगाएर माछा मार्नै क्रममा व्यक्तीकाे मृत्यु भए कानूनका कुन-कुन धारा आकर्षित हुन्छन् त ।

सबै भन्दा पहिले त जलचर जनावर संरक्षण ऐन, २०१७ ऐनको दफा ३ (जलचर समात्ने तथा मार्ने तरिकाहरूमा प्रतिबन्ध) अनुसार कुनै व्यक्तिले कुनै जलमा रहेको जलचरलाई समात्ने वा मार्ने उद्देश्यले जानीजानी त्यस्तो जल वा त्यसको आसपासमा विद्युतीय धार (करेन्ट), विष्फोटक पदार्थ वा विषालु पदार्थ प्रयोग गर्न पाउँदैन । यस व्यवस्थाले नदी, खोला, तालजस्ता सार्वजनिक जलाशयमा करेन्ट लगाएर माछा मार्ने कार्यलाई प्रत्यक्ष रूपमा निषेध गरेको छ ।

ऐनले निजी जलका धनीलाई आफ्नो निजी जलमा अरू क्षति नहुने गरी केही छुट दिएको भए पनि सार्वजनिक जलस्रोत (खाेला, नाला, पाेखरी, दह) मा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यलाई वैधता दिएको छैन ।

उक्त ऐनको उल्लङ्घन गर्ने वा गराउन दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसुरको मात्रा हेरी हानि-नोक्सानी भएको भए बिगो बराबर क्षतिपूर्ति भराई, छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हानि-नोक्सानीको मूल्याङ्कन गर्दा प्राविधिक अधिकारीलाई समेत संलग्न गराउनुपर्ने ऐनमा उल्लेख छ ।

यससँगै अनुसन्धानबाट उपकरण कसले ल्यायो, करेन्ट कसरी प्रयोग भयो, जोखिमबारे जानकारी थियो वा थिएन भन्ने तथ्य खुलेमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लापरवाही वा हेलचेक्र्याइँको प्रश्न पनि उठ्न सक्छ ।

लापरबाही र हेलचेक्र्याइँ कसरी छुट्याउने ?

यस सन्दर्भमा, यदि मृतक आफैंले जोखिमपूर्ण तरिकाले करेन्ट प्रयोग गरेका थिए भने सामान्यतया दुर्घटना मानिन्छ। तर, साथी, उपकरण उपलब्ध गराउने व्यक्ति वा अन्य संलग्न व्यक्तिको लापरवाहीपूर्ण कामका कारण मृत्यु भएको प्रमाणित भए दफा १८१ लागू हुन सक्छ ।  ऐनअनुसार कसैले सामान्य सावधानी अपनाएर गर्नुपर्ने काम नगरी वा गर्न नसकेर अर्काको ज्यान जोखिममा पार्ने वा मृत्यु गराउने कार्यलाई लापरवाही भनिन्छ । जसअनुसार तीनदेखि दश वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

त्यसैगरी, हेलचेक्र्याइँपूर्ण व्यवहारमा दफा १८२ अन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । हेलचेक्र्याइँ भन्नाले कसैले ज्यान जान सक्छ भन्ने स्पष्ट जोखिम थाहा हुँदाहुँदै पनि अत्यधिक लापरवाहीपूर्ण तरिकाले गरेको व्यवहार भन्ने बुझिन्छ ।

सम्बन्धित खवर

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

सावधान ! कानुनी परीक्षण नगरी घर-जग्गा खरिद गर्दै हुनुहुन्छ ? नक्सा झोलामा, जमिन खोलामा हुनसक्छ !

काठमाडौँ । आफ्नाे सपनाकाे घर वा जग्गा किन्ने तयारीमा हुनुहुन्छ ? तर के तपाईंलाई...

राजनीतिक दललाई महाधिवेशन गर्न बाध्य पार्ने त्यो कानून !

राजनीतिक दललाई महाधिवेशन गर्न बाध्य पार्ने त्यो कानून !

दफा १६(१) अनुसार दलको महाधिवेशन वा पदाधिकारीको निर्वाचन कम्तीमा प्रत्येक पाँच वर्षमा एक पटक...

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

मेडिको-लिगल : न्याय र चिकित्साको सम्बन्ध

काठमाडौँ । सडक दुर्घटना, हिंसात्मक घटना र शंकास्पद मृत्युका घटनाहरु समाजमा दैनिकजसो भइरहेका हुन्छन्।...

अस्पतालमा ‘लामा’ को बिगबिगी !

अस्पतालमा ‘लामा’ को बिगबिगी !

काठमाडौँ । निजी अस्पतालहरुमा अहिले स्वास्थ्य वीमाको सुविधा छैन । निजी स्वास्थ्य संस्थामा उपचार...