काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ६ वर्ष पछि पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साेमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दोलखाको जिरी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ५१ वर्षीय निमा लामा शेर्पा पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला अदालतले २०७९ असोज ६ गतेको फैसलाबाट शेर्पालाई बैंकिङ कसुर मुद्दामा १५ लाख १० हजार रुपैयाँ बिगो, पाँच दिन कैद र १५ लाख १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनबाट बच्न उनी फरार रहँदै आएका थिए ।
फरार प्रतिवादीको खोजतलासका क्रममा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई साेमबार नै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


