मिटरब्याज पीडितको पदयात्रा र अमलेख

३० असार २०८३

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

असार २५ देखि सयौँ नागरिकहरू जनकपुरको तिरहुतिया गाछीदेखि हिँडेर काठमाडौँ आउँदैछन् । बसमा आए पनि त हुन्थ्यो ! आएनन् ! किनकि उनीहरूको चित्त साह्रै दुःखेको छ । पीडा भोगेको त १०–१५ वर्षै भयो होला तर दिलै फाट्ने गरी चित्त दुःखेको चाहिँ यो साउन १२ गते ठ्याक्कै तीन वर्ष पुग्छ ।

तिरहुतिया गाछीबाटै किन ? अनि साउन १२ गते तिथिचाहिँ के हो ? पदयात्राको सबै सार यिनै दुई कुरामा छ । तिरहुतिया गाछी त्यो ठाउँ हो, जहाँबाट वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो चुनावी अभियान र विजयको उद्घोष गरेका थिए – अब अधिकार खोज्न काठमाडौँ जानु पर्दैन, काठमाडौँ त पशुपतिनाथ घुम्न जाने हो भनेर ! अब मधेशको छोरो प्रधानमन्त्री हुने यो पहिलो अवसर हो भनेर ! मिटरब्याजको समस्या पनि समाधान गरिने छ भनेर !

पदयात्राको सन्दर्भ

तर, पदयात्री पीडितहरूको जिकिर छ कि प्रधानमन्त्री भएपछि उनले बोलेको कुरा बिर्से । आफ्नै पार्टीको वाचापत्र बिर्से । यसको छनक त पहिले नै आइसकेको थियो जब उनको सय दिने सुहागरातको कार्यसूचीमा मिटरब्याजको समस्या परेन । जबकि धेरै मिटरब्याजपीडित मतदाता र अभियन्ताहरूले समेत समस्या समाधानको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आँखा चिम्लेर भोट हालेका थिए । यस पार्टीले पाएको अप्रत्याशित मत कुनै ठोस राजनीतिक सोच, विचार र विवेकको भोट नभएर अन्य पार्टीहरूप्रति गुम्सिएको तीन दशकदेखिको असन्तोष र आक्रोशको जवाफ थियो – मतदानको माध्यमले ।

हो, राजनीतिको पुस्तान्तरण चाहने नयाँ पुस्ता तथा भोको पेटको ज्वाला शान्त गर्न विदेशिनु पर्ने बाध्यताको अन्त्य भएको देख्न चाहने हात र पाखुराले पनि भोट हालेकै हुन् । कृत्रिम जनमत निर्माण गर्न संसारभरि प्रयोग हुँदै आएको पश्चिमा जगतको ब्रह्मास्त्ररूपी सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकता र अल्गोरिदमले पनि अवश्य साथ दियो नै । यस विषयमा धेरै रहस्यहरू भविष्यको गर्भमा छन् ।

जे होस्, धेरै पर र धेरै गहिराईमा नगइकन कुरा गर्दा, रास्वपाको जितलाई नेपाली युवा पुस्ता, युवा मानसिकता र युवा चाहनाकै जित मानौँ । यसमा समस्या भएन । आखिर कोही न कोही जितेर आउने नै हो । मुख्य कुरा रह्यो, उनीहरू पहिलेकाले भन्दा फरक गर्छन् के ? चुनावमा गरेका वाचा र सार्वजनिक मञ्चमा बोलेका कुरा बिर्सन्छन् कि लागू गरेर देखाउँछन् ? अनि लोकतन्त्रिक गणतन्त्रात्मक शासनप्रणाली नै आइसकेपछि अझै पनि सानातिना कुरामा न्याय पाउनका लागि विगतमा विदूषी योगमायाले जस्तो जे पनि जहाँ पनि र जहिले पनि पैदल यात्रा, मशाल जुलुस, विरोध, प्रतिरोध र धर्ना दिनुपर्ने दिनहरूको अन्त्य हुन्छ कि हुँदैन भन्ने हो ।

नत्रभने त कहाँ बदलियो नेपाल ? कहाँ भयो पीडितलाई राहत, न्याय र परिवर्तन ? अहिले हेर्दा लाग्छ, अधिकांश हामी नेपालीहरू कुनै न कुनै किसिमको गम्भीर समस्याबाट पीडित छौँ – मिटरब्याजपीडित, सुकुम्बासी, किसान, मजदूर, बेरोजगार, बैदेशिक कामदार, महिला, दलित, मधेशी, जनजाति, आदिवासी, उत्पीडित, सीमान्तकृत सबै । जीउज्यान नै धान्न नसक्ने गरी ।

संविधान तथा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताअन्तर्गत सुनिश्चित खासगरी आर्थिक, सामाजिक तथा साँस्कृतिक हक र अधिकारहरूको शुन्य वा नगण्य कार्यान्वयन नै हाम्रो मूल समस्या हो । अनि जो भएको थिति, नीति र कानूनप्रति नै आश मरेपछि विरोध र विद्रोह त रहर नभएर बाध्यता हुने नै भयो ! नत्र थपक्क न बस चढेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार आउनुको सट्टा यो चर्को घाम र अविरल वर्षाबीच, के खाने र कहाँ सुत्ने कुनै ठेगान छैन, किन यस्तो कठिन पदयात्रा ? दिनरात साहुमहाजन र अदालतका अन्यायपूर्ण फैसलाहरूको असह्य यातना र पीडाका कारण चिन्तैचिन्ताले चिता पुग्न लागेका जीर्ण र पार्थिव शरिरहरूले न्यायको लागि पदयात्रा गर्नुको विकल्प नै के छ र !

अझ एक हातमा लठ्ठी र अर्को हातमा पक्राउ पूर्जी पनि छन् उसो त पदयात्रा संघर्षको कुनै सजिलो बाटो नभएर शान्तिपूर्ण विद्रोहको अन्तिम हतियार हो नत्र त फेरि गत भदौ २३ र २४ को बाटोमा गइहाल्छ नि ! इतिहासतिर फर्केर हेर्दा, पदयात्राले हासिल नगरेको उपलब्धि पनि के छ र – माओ त्सेतुङको लङ मार्च, गान्धीका पदयात्रा, विश्वशान्तिका लागि बौद्धमार्गीहरूको टेक्सस वासिङ्टन, डीसी पदयात्रा आदि ।

मिटरब्याजको पीडा

मिटरब्याज के हो सबैलाई थाहा छ । सिधा अर्थमा यो कानूनविपरीत हो जो साहुमहाजनहरूले असुल्छन् र यसको कुनै सीमा छैन । चक्रबर्ति ब्याजभन्दा पनि चर्को ! असीमित ! एकै वर्षमा दोब्बर त के दश गुणासम्म पनि ! यस्ता मुद्दाहरूको चाङै छ अहिले अदालतमा, देशैभरि ! तर पीडितले हार्ने पक्का छ । पीडकले जित्ने पक्का छ । विगतमा मुलुकी ऐनहरूले समेत १० प्रतिशतमा सीमित गरेको ब्याज दर बैँक तथा वित्तीय संस्थाहरूका हकमा १५–२० प्रतिशतसम्म पनि छुट हुनु पनि कानून र न्यायको दृष्टिमा मिटरब्याज नै हो – मात्रा मात्र फरक ।

अहिले बर्दिवास हुँदै लालबन्दी कटेका पदयात्रीहरूका लागि यो पदयात्रा पहिलो होइन । २०७९ सालको ठूलो राजधानी धर्नापछि २०८० सालमै गरेका थिए दुईवटा पदयात्रा – बर्दिवास र मेची–महाकालीदेखि राजधानीसम्म । आन्दोलनकै दबाबमा तीन–तीनवटा आयोगहरू पनि बने तर प्रतिवेदनहरू अझै गोप्य छन् ।

सरकार र आन्दोलनकारीबीच चार–चारवटा वार्ता र सम्झौता पनि भएकै हुन् । तथापि बालकृष्ण खाँड, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने गृहमन्त्री भएका बेला यस समस्याको दीर्घकालिन समाधानका निमित्त केही उल्लेखनीय प्रयत्नहरू भने भएकै हुन् । सबैभन्दा ठूलो उपलब्धि थियो – २०८० साल साउन १२ गते मुलुकी अपराध संहिता, २०७४ मा संशोधन थप गरी लागू भएको अनुचित लेनदेन, मिटरब्याजको कानूनी नाम, सम्बन्धी दफा २४९ क ।

यस महत्वपूर्ण संशोधनले पहिलोपटक कुनै लेनदन व्यवहारलाई सर्वप्रथम गम्भीर प्रकृतिका फौजदारी कसूरको रूपमा वर्गीकरण गर्दै सात वर्षदेखि ७९ हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । अनुचित लेनदेन ठहरी अचल सम्पत्ति हस्तान्तरण भएको भए बदर हुनेसमेत व्यवस्था छ । तर कार्यान्वयन भने शुन्यप्रायः ।

अहिलेको मूल समस्या नयाँ आयोग, नयाँ सम्झौता र नयाँ कानूनभन्दा पनि भएकै कानूनको कडा पालना र कार्यान्वयन हो । यद्यपि यस दफामा थोरै थपथाप अनिवार्य छ – विगतमा भएका फैसलाहरूको हैसियत, कानूनको भूतकालदर्शी प्रभाव र उजुरीको हदम्यादका बारेमा ।

हाम्रो राज्यप्रणालीको मूल समस्या भनेको नै भएका उपलब्धि र लेखिएका संविधान र कानूनको कमजोर कार्यान्वयन हो । लोकतन्त्र न लोकतन्त्रजस्तो भयो न त गणतन्त्र गणतन्त्रजस्तो । न त समातियो समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणको बाटो । हामी त अझै पनि नीति र प्रणाली स्थापित गर्नुको सट्टा नेता र नायक अझ महानायकमात्र नभएर कुनै चमत्कारिक सम्राट बा कै खोजीमा छौँ । शायदः निर्वाचित नायकलाई पनि अधिनायकवादी जङ्गबहादुर बनाउँदैछौँ कि भन्नेतिर पनि बेलैमा विचार गरौँ । पछि कतै ‘…को रीसले पोइको नाक काटेको’ भनाइ चरितार्थ नहोस् ।

वार्ता र समाधान

अन्ततः जति लडे पनि हुने त वार्ता र सम्झौता नै हो विश्वयुद्धदेखि अमेरिका र इरानसम्म, ढिलोछिटो रुस र युक्रेन र रुसदेखि काश्मिर र अरुचालसम्म । उसोभए आफैँ सिद्धिने र निर्दोष संसारलाई समेत गरी सिध्याउने गरी लडाइँ किन ? यो आफैँमा कसैको लहड र कुनै राष्ट्रको उन्मादबाहेक केही होइन ।

बुद्धले त्यत्तिकै हुँदाखाँदाको दरबार छोडेर शान्तिका शुत्रहरूको उत्खनन गरेका होइनन् । तर संसार जति नै पुँजिको निर्माण र विज्ञानप्रविधिका क्षेत्रमा जतिसुकै सम्पन्न र विकसित भए पनि अहिले सबै स्टेफन हकिङ्सकै भविष्यवाणी पूरा गर्न प्रतिस्पर्धामा उत्रेजस्तो लाग्छ ! यी विश्वप्रशिद्ध वैज्ञानिकले पृथ्वीको आयु बढिमा एक हजार वर्ष तोक्दै परमाणु युद्ध र जलवायु परिवर्तनको कारण भष्म हुने निचोड निकालेका थिए ।

हामीकहाँ पनि वार्ताबाट समाधान भएका समस्याहरू धेरै छन् ( २००७ को अधुरो क्रान्तिदेखि २०४६–४७ र २०६३ र गत भदौका जेनजेडसम्मका सम्झौता र समझदारीसम्म । अनि यही मिटरब्याज, सुकुम्बासी, भूमिहिनता, लघुवित्त, वित्तीय शोषणका क्षेत्रमा भने यति धेरै अघेल्याईँ किन ?

यदि वर्तमान प्रधानमन्त्री तथा मिटरब्याजको समस्यालाई राम्ररी बुझेका र केही गर्न खोजेका पार्टी सभापति रवि लामिछानेमा मुलुक बदल्ने संकल्प, प्रतिबद्धता, बचनबद्धता, इमान्दारिता र दूरदर्शिता साँच्चिकै छ भने एउटा काम आजै गरुन्, भोलि नै गरुन् । यसमा कुनै साइत वा जोखाना हेर्न जरुरी छैन ।

मिटरब्याज पीडित र अभियन्ताहरूको पैदल यात्रा ऐतिहासिक अमलेखगञ्ज पुग्दैछ । अमलेख अर्थात् मुक्तिको अर्थ दिने यस ठाउँमा प्रधानमन्त्री र सभापति हातेमालो गर्दै हेलिकप्टरबाट ओर्लेर अनि यी पदयात्रीहरूसँग १० मिनेट नै भए पनि पदमा पद मिलाउँदै चुरेको पत्थरमा बसेर अर्को एउटा ऐतिहासिक सम्झौता र घोषणा गरुन् कि आजबाट यस मुलुकमा मिटरब्याज प्रथा सँधैका लागि अन्त्य भयो ।
ज–जसका लिखतहरू सद्दे र लगानीका सम्पत्ति शुद्ध छन् तिनले अवश्य पनि नियमित प्रक्रियाबाट न्याय पाउने छन् तर अब उप्रान्त मिटरब्याज अर्थात् १० प्रतिशतभन्दा बढिको ब्याज यस मुलुकमा मान्य हुने छैन ।

अमलेखगञ्ज, जहाँ राणा प्रधानमन्त्री चन्द्र शमशेरले सम्पूर्ण दासहरूलाई सय वर्ष पहिले अमलेख गरेर चुरेको फेदीमा बस्ती बसाएका थिए र यो ठाउँ अमलेखगञ्जको नामले चिनिएको थियो ।
दासप्रथा उन्मूलन भएको शतवार्षिकी पनि भयो । मिटरब्याज पीडितहरूको अमलेख पनि यसै ठाउँबाट होस् र आजभोलि नै होस् ! तब मुलुकमा एउटा नयाँ थितिको शुरुवात हुनेछ ।

साहुको ऋण नै नखाएका र खाए पनि थोरै खाएका दशौँ हजार ऋणी र साना व्यवसायीहरू आ–आफ्ना उत्पादनका क्षेत्रमा लाग्ने छन् । जहाँ समस्या बाँकी रहलान् त्यसको समाधान अपराध संहिताको दफा २४९ क को कार्यान्वयनबाट हुने नै छ । यसका लागि एउटा विशेष अदालत वा न्यायाधीकरण गठन गरिदिए समस्याको समाधान एकमुष्ट हुनेछ । यतिका लागि पीडितहरू हप्तौँ हिँडेर सिंहदरबारलाई भेट्न र प्रधानमन्त्रीलाई तिरहुतिया गाछीको बाचा सम्झाउन काठमाडौँ नै पुग्नु पर्छ भन्ने केही छैन ।

यस्तो पवित्र कामका लागि अमलेखगञ्ज नै काठमाडौँभन्दा पनि सुगम र सरल छ !

(लेखक कानूनविद एवं मानवअधिकारकर्मी हुन् )

यो पनि-

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सम्बन्धित खवर

नेपालमा बसेर काम गर्नुहुन्छ भने….

नेपालमा बसेर काम गर्नुहुन्छ भने….

तीनवटा अन्तरराष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा एकदम कपोकल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको...

विधिशास्त्रमा ‘हार्ट–फुलर डिबेट’

विधिशास्त्रमा ‘हार्ट–फुलर डिबेट’

विधिशास्त्रमा हार्ट–फुलर डिबेट (Hart-Fuller Debate) लाई कानून र नैतिकता (Law and Morality) बीचको सम्बन्धबारे...

अभियुक्तको जीवनावस्थाप्रति न्यायिक संवेदना भन्ने हुँदैन र ?

अभियुक्तको जीवनावस्थाप्रति न्यायिक संवेदना भन्ने हुँदैन र ?

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महत यतिबेला गम्भीर मानसिक स्वास्थ्य समस्या...

युवालाई खोजिरहेको गाउँ

युवालाई खोजिरहेको गाउँ

नेपाल भौगोलिकरूपमा हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ। नेपालको अनुपम भौगोलिक...