समता कर फिर्ता : संसदले बनाएको कानून बालेनको फेसबुकबाट हट्छ ?

जस नेपाल

५ साउन २०८३

समता कर फिर्ता : संसदले बनाएको कानून बालेनको फेसबुकबाट हट्छ ?

काठमाडौँ  । ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।’

यो   भनाइ प्रधानमन्त्री बालेन्द्र शाहको ‘फेसबुक’ स्टाटसबाट लिइएको हो ।

म‌ंगलबार प्रधानमन्त्री शाहले यस्तो फेसबुक स्टाटस लेखेका छन्-

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।

३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

यो पनि-

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

सरकारको निर्णय बजेटमार्फत घोषणा भएको नीतिलाई सामाजिक सञ्जालको माध्यमबाटै परिवर्तन गर्ने प्रयास हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा निजी विद्यालय, कलेज र अस्पतालबाट सेवा लिँदा ३% ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ लागू गर्ने प्रावधान थियो । आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि नै बिलिङ प्रणालीमा यसलाई समावेश गर्न निर्देशन दिएको थियो । उद्देश्य दुर्गम क्षेत्र, दलित, सीमान्तकृत र विपन्नलाई गुणस्तरीय सेवा पुर्‍याउन कोष निर्माण गर्ने भनिएको थियो ।

यस्तो निर्णयपछि निजी शिक्षाका छाता संगठनहरू ; प्याब्सन, एन -प्याब्स लगायतका संस्थाहरुले संयुक्त रूपमा विरोध जनाएका थिए । उनीहरूले करले अभिभावकको खर्च बढाउने, गुणस्तरमा असर पार्ने र निजी क्षेत्रलाई निरुत्साहित गर्ने बताएका थिए । प्रेस सम्मेलन गरी तत्काल फिर्ता लिन माग गरेका थिए । स्वास्थ्य क्षेत्रबाट पनि महँगो उपचारको भार बढ्ने चिन्ता व्यक्त भएको थियो । आम नागरिक र अभिभावकहरूबाट सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

सरकारले करको दायरा विस्तार गरी अर्थतन्त्र व्यवस्थित बनाउने र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । तर, कार्यान्वयनको तयारीमा नै नागरिक तहबाट व्यापक असन्तुष्टि देखिएपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग परामर्श गरी स्थगित गर्ने निर्णय सार्वजनिक गरे । सरकारले १० प्रतिशत बेड/सिट विपन्नका लागि छुट्याउने नीतिलाई भने निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

फेसबुक स्टाटसबाट कर नीति उल्ट्याउन मिल्छ ?

नेपालको संविधान २०७२ को धारा ११९ ले स्पष्ट रूपमा उल्लेख गरेको छ कि कुनै पनि कर लगाउनु वा उठाउनु पर्ने भए कानुनबमोजिम मात्र गर्नुपर्नेछ । बजेटमार्फत घोषणा भएको ३ प्रतिशत समता करलाई कार्यान्वयनमा ल्याउनका लागि वार्षिक वित्त विधेयक मार्फत संसद्बाट पारित कानुनी प्रक्रिया पूरा भएको थियो । अब उक्त प्रावधानलाई संशोधन वा निलम्बन गर्न फेरि संसद्मा विधेयक पेश गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा छलफल, राष्ट्रिय सभाबाट सिफारिस र राष्ट्रपतिको स्वीकृति पश्चात् मात्र यो लागू हुने संवैधानिक व्यवस्था छ ।

कार्यकारी निर्णयले केही प्रशासनिक छुट वा अस्थायी स्थगन गर्न सक्ने अधिकार राखे पनि मूल नीतिगत कर प्रावधानलाई सामाजिक सञ्जालको एउटा स्टाटसबाट ‘हालका लागि’ निलम्बन गर्न कानुनी आधार निकै कमजोर देखिन्छ । 

त्यस्तै संविधानको धारा १ ले संविधानलाई सर्वोच्च बनाएको छ भने कर सम्बन्धी विषयहरूलाई मुख्य रूपमा विधायिकाको क्षेत्राधिकारमा राखिएको छ । पूर्ववर्ती बजेटमा घोषित करलाई फेसबुकबाट रोक्नुले शासनको पारदर्शिता र विधिको शासन माथि  प्रश्न उठाएको छ ।

सरकारले जनताको आवाज सुनेर तत्काल निर्णय फिर्ता लिने सकारात्तम निर्णय गरेको छ । तर, कर जस्तो संवेदनशील र अर्थतन्त्रसँग जोडिएको विषयमा औपचारिक कानुनी प्रक्रिया बिना सामाजिक सञ्जाललाई माध्यम बनाउँदा भविष्यमा नीतिगत अस्थिरता र अराजकता निम्त्याउन सक्ने सम्भावना रहन्छ ।बजेट भाषण वा वार्षिक वित्त विधेयकमार्फत घोषणा भएको करलाई कार्यान्वयनका लागि आन्तरिक राजस्व विभाग वा सम्बन्धित निकायले राजपत्रमा सूचना प्रकाशित गरी निर्देशन जारी गर्छ ।

यो पनि

सम्बन्धित खवर

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

कानुनी विवाहको उमेर २० वर्ष कायम राख्न राष्ट्रिय संवादमा एकमत

काठमाडौँ ।  विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड...

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

लघुवित्त पीडित अझै सडकमा ,सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न नेपाल बारको माग

काठमाडौँ । विभिन्न जिल्लाबाट पैदल काठमाडौँ आएर माइतीघर मण्डला र पुलचोकमा धर्ना गरिरहेका लघुवित्त...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्थाका पत्रकार कशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।...

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

कानून व्यवसायी : एउटा भ्रष्ट र असभ्य शब्द

शीर्षकमा दिइएको विषयमा प्रवेश गर्नुभन्दा अगाडि केही पूर्वजानकारीमा जाऔं, जसले लेखको विषयवस्तु बुझाउन सजिलो...