काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का सहजीकरणको नाममा एक करोड ७१ लाख रुपैयाँ घुस लिएर श्रीमतीको नाममा जग्गा किनेको र सो रकमको स्रोत लुकाउन मनी लाउन्डरिङ गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीसहित गायत्री निर्माण सेवा र उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको जनाएको हो ।
आयोगका अनुसार, प्राधिकरणबाट सञ्चालित विभिन्न ठेक्काहरूमा पदको दुरुपयोग गरी ठेक्का स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरेबापत अधिकारीले गायत्री निर्माण सेवाबाट घुस/रिसवत बापत रू. १ करोड ७१ लाख रुपैयाँ लिएको पुष्टि भएको छ । उक्त रकमबाट ललितपुर नगरपालिका वडा नं. ५७ स्थित कित्ता नं. २२४ (क्षेत्रफल ०-१ ३-०-०, तेह्र आना) जग्गा श्रीमतीको नाममा खरिद गरिएको थियो ।
ललितपुरको उक्त जग्गा खरिद गर्दा राजिनामा लिखतमा थैली रकम मात्र ९१ लाख रुपैयाँ देखाएका थिए । तर वास्तविक कारोबार लुकाउने बदनियतले सरकारी लिखतलाई वैधानिक देखाउन आफू र श्रीमतीको बैंक खाताबाट ९१ लाखको कारोबार देखाए । यसबाहेक ठेक्का सहजीकरणबाट प्राप्त घुस/रिसवत बापतको थप १ करोड ७१ लाख रुपैयाँ बैंक खातामा दाखिला गरी घुसबाट आएको कसुरजन्य सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण र हस्तान्तरण गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
आरोपपत्रमा आयोगले प्रदीप अधिकारी र प्रेम प्रकाश ढकाल दुवैको हकमा बिगो रू. १ करोड ७१ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ बमोजिम कैद र जरिवाना माग दाबी गरेको छ । यसका साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार पनि सजाय हुनुपर्ने माग गरिएको छ ।
खासगरी, भ्रष्टाचारबाट प्राप्त रकमको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण र हस्तान्तरण गर्ने उद्देश्यले जग्गा खरिद गरी बैंक खाताहरूबाट कारोबार देखाएको आरोप छ । आयोगले उक्त जग्गा जफत/असुल उपर गर्नसमेत माग गरेको छ ।
प्रदीप अधिकारी राष्ट्रसेवक कर्मचारी भएकोले सम्बन्धित ऐनअन्तर्गत थप सजाय हुनुपर्ने र भ्रष्टाचारजन्य कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई पनि कारबाही हुनुपर्ने आयोगको दाबी छ ।
हेर्नुहोस् विज्ञप्ति –

