काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता रकम हिनामिना गरेको आरोपमा तीन पूर्वकर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र जिल्ला विकास समितिका तत्कालीन सहायक लेखापाल सुरुज साहले मिलेमतोमा नक्कली भरपाई बनाएर रु. ३ लाख ७ हजार २०० हिनामिना गरेको अख्तियारको अनुसन्धानले पुष्टि गरेको हो ।
आयोगका अनुसार, आर्थिक वर्ष २०६८/६९ मा जिल्ला विकास समितिबाट चालु संरक्षण भत्ताका लागि निकासा भएको उक्त रकम बालबालिकालाई वितरण नगरी नक्कली भरपाई तयार पारिएको थियो । प्रतिवादीहरूले आफैंले सहीछाप गरेको र अन्य व्यक्तिलाई औंठाछाप लगाएर नक्कली कागजात खडा गरी पेश्की फछ्र्यौट गरेर सरकारी रकम हिनामिना गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत प्रमाणित भएको छ ।
अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ९ अनुसार मुद्दा दायर गरेको छ । विगो रकम रु. ३ लाख ७ हजार २०० कायम गरी कैद, जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरिएको छ ।
यो घटना स्थानीय तहमा बालबालिकालाई लक्षित गरी वितरण गरिने भत्तामा हुने दुरुपयोगको पुरानो तर चिन्ताजनक उदाहरण हो । १५ वर्षपछि पनि अख्तियारले मुद्दा दायर गर्नुले भ्रष्टाचारका पुराना घटनाहरूमा पनि अनुसन्धान सम्भव रहेको देखाउँछ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त रकम हिनामिनामा प्रत्यक्ष संलग्नता र मिलेमतो देखिएको उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति –

