२४ घण्टा २४ मिनेटसम्म आकाशमै उडिरह्यो एउटा विमान

जस नेपाल

१६ साउन २०८३

२४ घण्टा २४ मिनेटसम्म आकाशमै उडिरह्यो एउटा विमान

काठमाडौँ । एयरबसको A350-1000ULR विमानले अष्ट्रेलियाको मेलबर्नदेखि फ्रान्सको टुलुजसम्म ननस्टप उडान भर्दै व्यावसायिक उड्डयन इतिहासकै लामो उडानको नयाँ रेकर्ड कायम गरेको छ ।

परीक्षणका क्रममा उक्त विमान अष्ट्रेलियाको मेलबर्नबाट फ्रान्सको टुलुजसम्म २४ घण्टा २४ मिनेट लगातार उडेको हो । यस क्रममा विमानले १२ हजार ४६० नटिकल माइल दूरी पार गरेको बताइएको छ। योसँगै विमानले सन् २००५ देखि बोइङ ७७७-२००LR को नाममा रहेको सबैभन्दा लामो दूरीको उडान रेकर्ड तोडेको हो ।

यो उडान क्वान्टास एयरवेजको ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत गरिएको हो । परियोजनाको उद्देश्य अष्ट्रेलियाको पूर्वी तटबाट लन्डन र न्यूयोर्कसम्म प्रत्यक्ष ननस्टप उडान सञ्चालन गर्नु हो। क्वान्टासका अनुसार यस्तो उडान सञ्चालन भएमा यो विश्वकै लामो नियमित व्यावसायिक हवाई यात्रामध्ये एक हुनेछ ।

विमानले सोमबार साँझ ५:३० बजे मेलबर्नबाट उडान भरेको थियो । त्यसपछि लस एन्जलस र लास भेगासमाथिबाट उड्दै अन्तर्राष्ट्रिय मिति रेखा पार गरेको विमान क्यानाडा र उत्तरी अट्लान्टिक क्षेत्र हुँदै मंगलबार बिहान करिब ६ बजे फ्रान्सको टुलुज पुगेको थियो ।

उक्त यात्राका क्रममा विमानले तीन महादेश र दुई महासागर पार गरेको थियो भने दुईपटक सूर्योदय र सूर्यास्त देखेको थियो ।

एयरबसका परीक्षण पाइलट जेभियर पेपिनका अनुसार यति लामो उडानमा विमान चालकको थकानको विषयलाई विशेष प्राथमिकता दिइएको थियो । प्रत्येक पाइलटले चार घण्टाको सिफ्टमा काम गरेका थिए । तर कक्पिटमा पाइलट परिवर्तन गर्दा दुई घण्टाको ओभरल्याप राखिएको थियो, जसले नयाँ पाइलटलाई जिम्मेवारी सम्हाल्नुअघि आवश्यक जानकारी लिन सहज बनाएको थियो ।

करिब २४२ फिट लामो A350-1000ULR मा २३८ यात्रु अट्ने व्यवस्था छ । विमानमा यात्रुलाई लामो यात्राका क्रममा आराम गर्न ‘वेलबिइङ जोन’ समेत राखिएको छ । यसबाहेक मेमोरी फोम बेड र पछाडि ढल्काउन मिल्ने आर्मचेयरसहितका आरामदायी केबिनको व्यवस्था गरिएको छ ।

एयरबसका अनुसार विमानमा थप इन्धन ट्यांक जडान गरिएको छ, जसले यसको उडान क्षमता थप १ हजार नटिकल माइल बढाउँछ । सिड्नीबाट न्यूयोर्क वा लन्डनसम्मको ननस्टप उडान करिब १० हजार नटिकल माइलको हुने बताइएको छ ।

क्वान्टासका अनुसार ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत सञ्चालन हुने विमानमा ६ फर्स्ट क्लास केबिन, ५२ बिजनेस सुइट, ४० प्रिमियम इकोनोमी सुइट र १४० इकोनोमी सिट हुनेछन् ।

क्वान्टासले सिड्नी-लन्डन दैनिक ननस्टप उडान अक्टोबर २०२७ देखि सुरु गर्ने योजना बनाएको छ । यसका लागि टिकट बिक्री भने फेब्रुअरी २०२७ देखि सुरु हुने बताइएको छ ।

सम्बन्धित खवर

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...

योनीमा भाइब्रेटिङ उपकरण राख्नु बलात्कारसरह : केरला उच्च अदालत

योनीमा भाइब्रेटिङ उपकरण राख्नु बलात्कारसरह : केरला उच्च अदालत

काठमाडौँ । नाबालिकको योनीमा भाइब्रेटिङ उपकरण राखेको घटनामा भारतको केरला उच्च अदालतले महत्वपूर्ण फैसला...

व्यभिचारी पत्नीलाई भरणपोषण गर्नुपर्दैन : भारतीय सर्वोच्च अदालत

व्यभिचारी पत्नीलाई भरणपोषण गर्नुपर्दैन : भारतीय सर्वोच्च अदालत

नयाँ दिल्ली । यदि पतिले प्रारम्भिक चरणमा पत्नीको विवाहेत्तर सम्बन्ध (व्यभिचार) छ भनेर प्रमाणित...

कानून भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

कानून भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

काठमाडौँ  । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरे...