काठमाडौँ । छोरीले छिमेकीको काँक्रो चोरेर खाएको आरोपबाट सुरु भएको एउटा विवाद अन्ततः बाटो प्रयोग गर्न पाउने अधिकारको मुद्दा बन्दै २००९ सालमा तत्कालीन प्रधान न्यायालयसम्म पुगेको थियो ।
अभिलेख दर्ता नं. १ मा रहेको यो मुद्दामा बलबहादुर खत्री क्षेत्रीको घर-गोठतर्फ जाने बाटो रोकिएको भन्दै बाटो खुलाइदिन माग गरिएको थियो । विवादको एउटा कारण भने ७ वर्षकी बालिकाले काँक्रो चोरेर खाएको आरोप लगाउँदै बाटो रोकिएको घटना थियो ।
वादी पक्षले आफूले लामो समयदेखि प्रयोग गर्दै आएको बाटो प्रतिवादीले रोकिदिएको दाबी गरेको थियो । प्रतिवादीले भने आफ्नो आँगन हुँदै बाटो बनाउन खोजिएको र वादीका लागि अर्कै निकाससमेत रहेको जिकिर गरेका थिए ।
मुद्दा तल्लो तह हुँदै प्रधान न्यायालयसम्म पुगेपछि अदालतले वादीले पहिलेदेखि प्रयोग गर्दै आएको बाटो रोकिएको देखिएको ठहर गर्यो । तर प्रतिवादीको आँगनबाट बाटो बनाउन उचित नहुने भन्दै घरको उत्तरपट्टिको पेटीको किनारबाट हिँड्ने बाटो कायम हुने फैसला भयो ।
२००९ साल साउन २७ गते भएको यो फैसलाले आजभन्दा सात दशकभन्दा बढीअघि पनि छिमेकीबीचको बाटो विवाद अदालतसम्म पुग्ने गरेको एउटा रोचक न्यायिक इतिहास देखाउँछ।

